तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल निर्वाचन: प्रमुख दैनिक पत्रिकाले चुनावका बारेमा के लेखे?
स्थानीय तहको निर्वाचनबारे विभिन्न सञ्चारमाध्यमले फरकफरक शीर्षकसहित अग्रपृष्ठमा महत्त्वका साथ सामग्री प्रकाशन गरेका छन्।
उनीहरूले पहिलोपृष्ठमा मतदातादेखि उम्मेदवारका सङ्ख्यालगायत महिला र पुरुषको सहभागिताबारे विवरणात्मक सामग्री प्रकाशन गरेका छन्।
सबैजसो पत्रिकाले आफ्नो सम्पादकीय पृष्ठमा निर्वाचनबारे नै सम्पादकीय पनि लेखेका छन्।
कुन पत्रिकाले के छापे?
सरकारी स्वामित्वको गोरखापत्रले 'सकियो प्रतिक्षा, आज मतदान' शीर्षकमा मुख्य समाचार छापेको छ भने 'भविष्य निर्माणको अवसर' शीर्षकमा सम्पादकीय लेखेको छ।
गोरखापत्र संस्थानकै अङ्ग्रेजी दैनिक दी राइजिङ नेपालले पनि प्रथम पृष्ठमा 'स्थानीय तह निर्वाचन आज' शीर्षक दिएर समाचार छापेको छ। त्यस्तै 'महत्त्वपूर्ण मतदान दिवस' शीर्षकमा उसले सम्पादकीय छापेको छ।
कान्तिपुर दैनिकले 'लोकतन्त्रको अर्को उत्सव' शीर्षकमा तथ्याङ्कहरूसहित महत्त्वका साथ समाचार प्रकाशित गरेको छ।
तर उसले बेलाबेला विशेष घटना हुने समयमा राख्ने जसरी ब्यानर शीर्षक भने राखेको छैन।
कान्तिपुरले पहिलो पृष्ठबाहेक पनि मतदानसम्बन्धी थुप्रै समाचारहरू भित्री पृष्ठहरूमा पनि छापेको छ।
पहिलो पृष्ठमै प्राथमिकतासहित "मतदाताको झन् ठूलो जिम्मेवारी" लेखेको कान्तिपुरले सम्पादकीय पृष्ठमा भने "निष्पक्ष निर्वाचनको प्रत्याभूति" शीर्षकमा सम्पादकीय लेखेको छ।
अङ्ग्रेजी दैनिक द काठमाण्डू पोस्टले चाहिँ पहिलो पृष्ठमा "लोकतन्त्रलाई सबैभन्दा तल्लो तहसम्म पुर्याउने चुनाव" भनेर ब्यानर शीर्षकसहित समाचार छापेको छ। त्यस्तै "आफ्नो कथा आफैँले भन्नूस्" शीर्षक दिएर सम्पादकीय लेखेको छ।
नयाँ पत्रिका दैनिकले पनि ब्यानर शीर्षक दिएर 'आज मतदान' भनेर समाचार लेखेको छ।
त्यसैमा "६५ देखि ७३ प्रतिशतसम्म मतदान हुन्छ भन्ने अनुमान छ" भन्ने उपशीर्षकमा अर्को समाचार पनि राखिएको छ।
त्यसबाहेक नयाँ पत्रिकाले सुरक्षा व्यवस्था र मौसमबारे पहिलो पृष्ठमा र "मतदान केन्द्रहरू हाँक्दै महिला" शीर्षकमा भित्री पृष्ठमा समाचार राखेको छ।
धेरैजसो पत्रिकाले निर्वाचनबारेका विभिन्न तथ्याङ्कहरू समेटेर पत्रिकामा पाठकलाई पढ्न र बुझ्न सजिलो हुने गरी ग्राफिक्सको प्रयोग पनि गरेका छन्।
राजधानी दैनिकले 'दोस्रो स्थानीय तह निर्वाचन आज' भनेर प्रथम पृष्ठमा ब्यानर शीर्षकमा समाचार लेखेको छ।
नयाँ पत्रिकाले जस्तै राजधानीले पनि पहिलो पृष्ठमा सुरक्षाबारे समाचार गरेको छ।
त्यसबाहेक निर्वाचन आयोग र प्रधानमन्त्रीको सन्देश समेटेर समाचार लेखेको राजधानीले 'शीर्ष नेताहरू को कहाँबाट भोट हाल्दै छन्' भन्ने समाचार पनि पहिलो पृष्ठमै लेखेको छ।
चुनावी विषयमा अधिकांश लेखरचना राखेको राजधानीले 'आज जनप्रतिनिधि चुन्ने ऐतिहासिक दिन' शीर्षकमा सम्पादकीय लेखेको छ।
देश सङ्घीयतामा गएपछि दोस्रोपटक भएको यो स्थानीय तहको चुनावलाई पत्रपत्रिकाबाहेक अनलाइन, टेलिभिजन र रेडियोले पनि महत्त्वका साथ स्थान दिएका छन्।
धेरैजसो अनलाइनहरूले देशका विभिन्न भागमा भइरहेका मतदानबारे पछिल्ला घटनाबारे ताजा अवस्थाबारे सामग्री राखिरहेको देखिन्छ।