एमसीसी नेपाल: सडकमा तनाव कायम, संसद् बैठक स्थगित - प्रधानमन्त्री शेरबहादुर देउवा एमालेको सहयोग खोज्दै

संसद् बैठक स्थगित गरेर प्रतिनिधिसभामा विचाराधीन अमेरिकी अनुदान परियोजना एमसीसी अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीवार राति अबेरसम्म भेटघाट र छलफल गरेका छन्।
तर सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरूबीच अबेर सकिएको बैठकमा संसद् अवरोध खोल्ने र एमसीसी अघि बढाउनेबारे सहमति जुट्न नसकेको सरकारका प्रवक्ताले जानकारी दिए।
संसद्मा एमसीसीबारे बिहीवारबाट छलफल हुने तयारी भएसँगै सम्झौताको विपक्षमा उभिएका राजनीतिक दल र समूहहरूको प्रदर्शनका कारण संसद् भवननजिकैको क्षेत्र दिनभरिजसो तनावग्रस्त बनेको थियो।
एमसीसी अघि बढाउने आफ्नो प्रयासमा सहमति जुट्न नकसेपछि प्रधानमन्त्री देउवाले संसद् बैठक शुक्रवारका लागि सार्न सभामुखलाई आग्रह गरेका थिए।
शीर्ष नेताहरूले के गरे?
त्यसलगत्तै प्रधानमन्त्रीले प्रतिपक्षी एमालेसँग दुई चरणमा छलफल गरे। प्रधानमन्त्री निवास बालुवाटारमा अबेर सकिएको छलफल पछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीले झन्डै छ महिनादेखि अवरुद्ध संसद् खुलाउन र एमसीसी अनुमोदनका लागि सहयोग गर्न एमाले नेतृत्वसँग आग्रह गरेको जानकारी दिए।
"जबाफमा एमाले अध्यक्ष (केपी) ओलीजीले जुन कारणले संसद्मा प्रवेश गर्न सकेका छैनौँ त्यो कारणको निराकरण नभएसम्म संसद्मा आएर कुरा राख्न कठिनाइ छ भन्नुभयो," कार्कीले भने।

तस्बिर स्रोत, RSS
"संसद् अवरोध हटाउने प्रतिबद्धता अझै उहाँहरूले गर्नुभएको छैन।"
उनले प्रधानमन्त्रीले सबै दलहरूसँग छलफल जारी राख्ने र शुक्रवारको बैठकमा एमसीसीबारे छलफल सुरु गरिने बताए।
"भोलि (शुक्रवार) हुने प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफल प्रारम्भ हुन्छ," कार्कीले भने।
तर एमसीसीमाथिको निर्णायक मत विभाजन शुक्रवार नै हुने वा नहुने अझै तय भइनसकेको कार्कीको भनाइ छ।
के भन्छन् कांग्रेस नेता?
दिउँसो भएको छलफलमा प्रधानमन्त्रीले एमसीसी पारित गर्न एमालेको समर्थनको अपेक्षा गरेको बैठकपछि कांग्रेस नेताहरूले जानकारी दिएका थिए।
"तपाईँले गर्नुभएको निर्णयलाई मैले निर्णयार्थ प्रस्तुत गर्दै गर्दा तपाईँको मद्दतको अपेक्षा गर्ने कुरा स्वाभाविक हो। त्यसका लागि तपाईँलाई संसद्भित्र आएर आफ्नो मत जाहेर गर्ने कुरालाई सजिलो बनाउनका लागि हामीले गर्न सक्ने सबै विकल्पमा छलफल गरौँ, एकै ठाउँ उभिएर यो विषयलाई अघि बढाऊँ," प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै कांग्रेस महामन्त्री गगन थापाले पत्रकारहरूसँग भने।

तस्बिर स्रोत, RSS
उनले कांग्रेसलाई लागि सरकार गठबन्धनको अङ्कगणितसँग सरोकार नभएको भन्दै गठबन्धन धरापमा परेको बताए।
"यो विषयको सन्दर्भमा त गठबन्धन पार लाग्दैन भन्ने त निष्कर्ष नै निस्किइसक्यो नि," गठबन्धनको निरन्तरताबारे पत्रकारहरूको जिज्ञासामा थापाले भने।
"यसमा गठबन्धनमा रहेका दलहरू एक ठाउँमा उभिन नसक्ने भनेपछि बाँकी विषयमा उभिन्छौँ, यो विषयमा अहिले अनदेखा गरेर जाऊँ भन्ने अवस्था त रहँदै रहँदैन अब।"
"यो गठबन्धन अघि जाने कुरामा समस्या आइ नै सक्यो, धरापमा परिसक्यो।"
उनले पार्टीभित्र आन्तरिक छलफल गरेर प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच साँझ पुनः छलफल हुने जानकारी दिएका थिए।
छलफलमा सहभागी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले उनले फागुन १६ गतेको समयसीमाभित्रै एमसीसीबारे संसद् निष्कर्षमा पुग्ने दाबी गरे।
"समयसीमाबारे हामी सबै जानकार छौँ। समयसीमा भित्रै एउटा निष्कर्षमा पुग्छ," उनले भने।
बैठक स्थगित भएपछि के भयो?
यसअघि संसद्को बैठक स्थगित भएपछि प्रमुख तीन दलका नेताहरू छलफलमा व्यस्त रहे। प्रधानमन्त्री देउवा तथा कांग्रेस नेताहरूले संसद् भवन परिसरमै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसहितका नेताहरूसँग छलफल गरेका थिए।
कांग्रेससँग छलफल गरेपछि एमाले नेताहरूले सत्ता गठबन्धनको नेकपा माओवादी केन्द्रका नेताहरूसँग संसद् भवनमै भेटेका थिए।
भेटपछि पत्रकारहरूको जिज्ञासामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदन खुलाउने र एमसीसीबारे छलफल भएको सङ्क्षिप्त प्रतिक्रिया दिए।
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले माओवादी नेताहरूसँगको छलफल सकारात्मक भए पनि कुनै निष्कर्षमा नपुगेको बताए।
माओवादीसँगको छलफलपछि एमाले नेताहरू प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटारतर्फ लागेका थिए।

नयाँबानेश्वर क्षेत्र तनावग्रस्त
अमेरिकी सहायता परियोजनाको विरोधमा भएको प्रदर्शनका कारण संसद् भवन आसपासको क्षेत्र दिनभरिजसो तनावग्रस्त बनेको थियो।
प्रदर्शनकारीहरू संसद् भवन वरपरको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि नयाँबानेश्वर क्षेत्र अस्तव्यस्त भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार त्यहाँ झन्डै १,८०० प्रदर्शनकारी भेला भएका थिए। उनीहरूले प्रहरीलाई ढुङ्गा, इँटा र लाठीले प्रहार गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि झडप भएको प्रहरीको दाबी छ।
प्रवक्ता केसीका अनुसार नेपाल प्रहरीका मात्रै २,४०० बढी जनशक्ति नयाँबानेश्वर क्षेत्रमा खटाइएको थिए।
दिउँसो टेलिभिजनमा प्रत्यक्ष प्रसारित दृश्यहरूमा नयाँबानेश्वरका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको देखिएको थियो।
"निषेधित क्षेत्रमा प्रदर्शनकारीहरू प्रवेश गर्ने प्रयास गरेपछि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरिएको छ। संसद् बैठकमा विशिष्ट व्यक्तिहरूको आवागमनका कारण पनि त्यो क्षेत्र अलि अस्तव्यस्त बनेको छ," महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौरले बीबीसी न्यूज नेपालीसँग भनेका थिए।
बिहीवारको संसद् बैठकमा एमसीसी परियोजना सम्झौताबारे छलफल हुने सम्भावित कार्यसूची प्रकाशित भएपछि बिहानैबाट संसद् भवन क्षेत्रमा प्रदर्शनकारीहरू भेला भएका थिए।
एमसीसी अघि बढाउने सरकारको तयारीको विरोधमा सरकारमै सहभागी केही दल समर्थित कार्यकर्ता र भातृ सङ्गठनले समेत प्रदर्शन गरेका थिए।
सम्भावित अप्रिय घटनालाई ध्यानमा राखी संसद् भवनवरपर सुरक्षा व्यवस्था कडा पारिएको थियो।
प्रवक्ता राठौरले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको जानकारी दिए।
एमसीसीको विपक्षमा विभिन्न समूहले गरेको प्रदर्शनका कारण बानेश्वर क्षेत्रको यातायात बिहीवार दिनभरिजसो अवरुद्ध भएको प्रहरीले जनाएको छ।

बाहिर चर्को प्रदर्शन भइरहँदा बिहीवारका लागि तय गरिएको संसद् बैठक अन्तिम समयमा सूचना प्रकाशित गरेर स्थगित गरिएको थियो।
संसद् सचिवालयका महासचिव भरतराज गौतमले सूचना प्रकाशित गर्दै बैठक शुक्रवार १ बजे बस्ने गरी स्थगित गरेका हुन्।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार बिहीवारको बैठकमा एमसीसीको विषयमा सैद्धान्तिक छलफलसँगै महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत कार्यक्रम थियो।
एमसीसीसम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने कार्यसूची थियो।
प्रधानमन्त्री देउवाको आग्रहमा सभामुखले बिहीवारको बैठक सारेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले जानकारी दिए।


























