तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
केपी ओलीः एमाले अध्यक्षको किन भइरहेको छ आलोचना, उनको सचिवालय र सीडीओ कार्यालय के भन्छन्
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोभिड सङ्क्रमण भएर आइसोलेशनमा रहेकै समयमा एउटा सार्वजनिक कार्यक्रममा उपस्थित भएपछि उनीमाथि कारबाही गर्नुपर्ने माग उठेको छ।
सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले ओलीलाई कानुन उल्लङ्घनको छुट नहुने भन्दै कारबाहीको माग गरेका छन्।
तर उनको सचिवालयले चाहिँ ओलीले आइसोलेशनको अवधिपछि मात्रै घरबाहिर कार्यक्रममा निस्किएको दाबी गरेको छ।
नेकपा एमालेले माघ ९ गते पार्टी अध्यक्ष ओलीमा सङ्क्रमण पुष्टि भएको जानकारी सार्वजनिक गरेको थियो।
तर उनको सचिवालयले ओलीलाई माघ ८ गते नै सङ्क्रमण पुष्टि भए पनि एक दिनपछि मात्रै सार्वजनिक गरिएको बताएको छ।
आइसोलेशनको अवधि पूरा नहुँदै बुधवार भक्तपुरस्थित ओली निवासनजिकै पार्टीको भातृ सङ्गठन युवा सङ्घले आयोजना गरेको कार्यक्रममा ओली उपस्थित भएका दृश्य तथा तस्बिरहरू सार्वजनिक भएपछि उनी विवादमा आएका हुन्।
ओली कोभिडको विषयमा यसअघि पनि पटकपटक विवादमा आइरहने नेता हुन्।
यसअघि आफू प्रधानमन्त्री हुँदा राष्ट्रिय सभामा ओलीले “कोरोना लागिहाल्यो भने हाच्छ्युँ साच्छ्युँ गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ” भन्ने अभिव्यक्ति दिएपछि उनको आलोचना भएको थियो।
उनले बेसार-पानी खाएर पनि कोभिड ठिक पार्न सकिने भन्दै संसद्मा पटकपटक दोहोर्याएका थिए।
प्रधानमन्त्री हुँदै उनले त्यसपछि पनि कोभिडबारे आफ्नो अडान दोहोर्याउँदै ‘अम्बाको पातले कुल्ला गरेर’ कोभिडबाट जोगिन सकिने बताएपछि उनी पटकपटक विवादमा तानिएका थिए।
तर बुधवारको कार्यक्रमपछि सङ्क्रमित भएकै समयमा घरबाहिर निस्किएर कार्यक्रममा सहभागी भएर ओलीले देशको कानुनकै उल्लङ्घन भएको भन्दै कारबाही हुनुपर्ने तर्क कतिपयले अघि सारेका छन्।
यसअघि ओमिक्रोन सङ्क्रमणको लहर सुरु हुँदै गर्दा सत्ताधारी नेकपा माओवादी केन्द्रले १,७०० सहभागीबीच काठमाण्डूमा पार्टी महाधिवेशनको आयोजना गरेको थियो।
पुस १८ गते सकिएको महाधिवेशनपछि माओवादीका अध्यक्षसहित शीर्ष नेताहरू धेरैलाई कोभिड सङ्क्रमण फैलिएको थियो।
कानुनमा के छ?
नेपालमा सङ्क्रमण नियन्त्रणका लागि फरक-फरक कानुनी व्यवस्था प्रचलनमा छन्।
कोरोनाभाइरस महामारी नियन्त्रणमा अधिकारीहरूले सङ्क्रामक रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्ने गरेका छन्।
उक्त ऐनको दफा ३ र ४ मा सङ्क्रामक रोग नियन्त्रणका लागि जारी गरिएको आदेश उल्लङ्घन गर्नेलाई प्रमुख जिल्ला अधिकारीले एक महिनासम्म कैद वा रु १०० जरिवाना गर्न सक्ने उल्लेख छ।
तर २०७४ साल भदौमा संसद्बाट पारित भएर त्यसको एक वर्षपछि कार्यान्वयनमा आएको अपराध संहिताको दफा १०६ मा सरकारी निकायले सरुवा रोगको सम्बन्धमा जारी गरेको आदेश वा नियम उल्लङ्घन गरेमा छ महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ।
यस्तो आदेश उल्लङ्घन गरेका कारण कसैको ज्यान गएमा ऐनको दफा १०४ बमोजिम सजाय हुने उल्लेख छ।
उक्त दफामा नियतपूर्वक यस्तो कसुर गर्नेलाई अधिकतम दश वर्षसम्म कैद तथा एक लाख रुपैयाँ जरिवाना र हेलचेक्र्याइँपूर्वक गरेको भए तीन वर्ष कैद तथा ३० हजार जरिवाना गर्न सकिने उल्लेख छ।
ओली किन सहभागी भए?
एमाले अध्यक्ष ओलीको सचिवालयले भने उनले कोभिड आइसोलेशनको मापदण्ड उल्लङ्घन नगरेको दाबी गर्दै पाँच दिन आइसोलेशनमा बसेर मात्रै घरबाहिर निस्किएको दाबी गरेको छ।
“जुन दिन घरअगाडि युवा सङ्घका साथीहरू आउनुभएको थियो त्यस दिन छ दिन पूरा भइसकेको थियो,” पूर्वप्रधानमन्त्री ओलीका सञ्चार संयोजक रामशरण बजगाईँले भने।
"अघिल्लो शनिवार उहाँको पोजिटिभ रिपोर्ट आयो। यो बिहीवारसम्म आइसोलेशनमा बस्ने उहाँको समय छ दिन पुगिसकेको थियो, अहिलेको प्रोटोकलअनुसार त्यसो गर्न पाइन्छ भन्ने कुरा भयो।"
अहिले ओली बिहीवार मात्र सार्वजनिक कार्यक्रममा सहभागी भएको भनिए पनि कार्यक्रमको ब्यानरमा माघ १२ गते बुधवार लेखेको देखिन्छ। र युवा सङ्घका कार्यकर्ताले बुधवार नै ओली सहभागी भएको कार्यक्रमको फोटो सामाजिक सञ्जालमा राखेको पाइन्छ।
अमेरिका र बेलायतसहित कतिपय देशले आइसोलेशनको अवधि पाँच दिनमा सीमित गरे पनि नेपालमा कम्तीमा एक साता आइसोलेशन अनिवार्य गरिएको छ।
‘कोरोनाभाइरसको लक्षण भएको वा सङ्क्रमण पुष्टि भएको सात दिन अनिवार्य आइसोलेशन बस्नुपर्ने’ स्वास्थ्य मन्त्रालयको मापदण्ड छ।
ओलीको सचिवालयले उनलाई शनिवार नै सङ्क्रमण पुष्टि भएको बताए पनि यसअघि आइतवार मात्रै उनलाई सङ्क्रमण भएको जानकारी सार्वजनिक गरिएको थियो।
बजगाईँले ओली सहभागी भएको कार्यक्रम बाहिरको नभई उनलाई स्वास्थ्य लाभ गर्न घरअगाडि नै आएको समूह भएको र ओलीले मास्क लगाएर कार्यक्रममा सहभागी भएको बताए।
जनस्वास्थ्यविद् डा. विन्ज्वला श्रेष्ठ जनताले नेताहरूको व्यवहारलाई मूल्याङ्कन गर्ने र त्यसलाई मानकको रूपमा मान्ने गरेका कारण राजनीतिज्ञहरू जनस्वास्थ्यका मापदण्ड पालनामा थप सचेत हुनुपर्ने बताउँछिन्।
“यदि उहाँहरूले मापदण्ड नअपनाएको जस्तो देखियो भने जनताले पनि ए नेताहरूले त यसो गर्नुहुने रहेछ, हामीले पनि गर्दा हुने रहेछ भनेर लिन्छन्,” उनले भनिन्।
यसअघि कोभिड सङ्क्रमित भएका माओवादीका अध्यक्ष प्रचण्डको सम्पर्कमा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक भेटवार्ता जारी राखेको विषयमा आलोचना भएपछि उनले परीक्षण गराएपछि मात्रै सार्वजनिक भेटवार्ता गरेका थिए।
ओलीबारे के भन्छ सीडीओकार्यालय?
जिल्ला प्रशासनले जारी गरेको आदेश उल्लङ्घन गरेको भन्दै यो कार्यालयले त्यसयता १,२०० बढी सर्वसाधारणलाई जरिवाना गरिसकेको छ।
“हामीले पछिल्लो आदेश जारी भएयता १,२८१ जनालाई जनही १०० का दरले जरिवाना गरेका छौँ भने ४,७१० वटा गाडी जाँच भइरहेको छ,” भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रूद्रा देवी शर्माले भनिन्।
तर एमाले अध्यक्ष ओली आइसोलेशनको नियम उल्लङ्घन गरेर कार्यक्रममा सहभागी भएकोबारे कार्यालयमा उजुरी नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
“यसमा मलाई सोधिरहनुभएको छ, मैले महानगरीय (प्रहरी) लाई के रहेछ बुझ्नुस् भनेकी छु” सीडीओ शर्माले एमाले अध्यक्ष ओलीलाई पोजिटिभ भए वा नभएको र उनी सहभागी कार्यक्रम के थियो भन्नेबारे आफूले बुझ्न लगाएको जानकारी दिइन्।
ओलीलाई कारबाही हुन्छ त भन्ने जिज्ञासामा उनले भनिन्ः “सङ्क्रमण भइसकेपछि आइसोलेशनमा बस्ने हामी सबैको कर्तव्य र दायित्व हुन्छ। मासमा भइरहेको छ त्यसलाई चाहिँ अहिले व्यक्ति आफैँले बुझ्नुपर्ने कुरा हुन्छ।”
कार्यक्रम भइरहेको स्थलमा तत्कालै जानकारी नभएका कारण त्यसबारे तथ्य प्रमाणसहित कारबाही गर्न ‘गाह्रो’ हुने जिल्ला प्रशासन कार्यालयको भनाइ छ।
“कतिपय कुरा प्रत्यक्ष सोही समयमा देख्न सकेनौँ भने हामीलाई गाह्रो हुन्छ। अहिले पनि सङ्क्रमित व्यक्ति पसलमा. होटल, रेष्टुराँरूमा भइरहेका छन् भन्ने कुरा आउँछ। तर भइरहेको भन्ने कुरा तथ्य प्रमाण जुटिहाल्नुपर्ने हुन्छ,” सीडीओ शर्माले भनिन्।
शुक्रवार कति सङ्क्रमित थपिए?
नेपालमा केही दिनयता स्थिर जस्तो देखिएको कोरोनाभाइरस सङ्क्रमणको दर पछिल्लो २४ घण्टामा करिब एक तिहाइमा ओर्लिएको छ।
दुई दिन अगाडिसम्म परीक्षण गराउनेहरूमध्ये लगातार ४० देखि ५० प्रतिशतमा सङ्क्रमण भेटिने गरेकोमा शुक्रवार प्रकाशित विवरणमा त्यो ३४ प्रतिशतमा झरेको देखिएको छ।
यस अवधिमा झन्डै ६,८२७ हजार मानिसहरूमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।
कुल १९,८६९ वटा नमुना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
निरन्तर उकालो लागिरहेको सक्रिय सङ्क्रमितको सङ्ख्या पनि पछिल्लो विवरणमा थोरै कम भएको देखिएको छ।
अहिले सघन उपचार कक्ष आईसीयूमा २५६ जना र भेन्टिलेटरमा ४५ जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
थप १० जनाको यसै अवधिमा ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
विगत २४ घण्टामा निको हुने सङ्क्रमितको सङ्ख्या पाँच हजारभन्दा धेरै रहेको छ।