अस्ट्रिया: अनिवार्य खोपको व्यवस्था संसद्बाट पारित, खोप नलगाउनेलाई के हुन्छ?

तस्बिर स्रोत, Getty Images
अस्ट्रियामा त्यहाँको सरकारले ल्याएको अनिवार्य खोप लगाउनुपर्ने प्रस्तावलाई त्यहाँको तल्लो सदनले पारित गरेपछि उक्त युरोपेली देश ईयुकै त्यस्तो व्यवस्था गर्ने पहिलो राष्ट्र हुने क्रममा छ।
अहिलेसम्म ७२ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको अस्ट्रियामा नयाँ नियम फ्रेबुअरी १ देखि कार्यान्वयनमा आउनेछ।
त्यस्तो विधयेक कानुन बन्न माथिल्लो सदनबाट पारित भएपछि राष्ट्रपतिबाट अनुमोदन हुनै पर्छ।
तर ती कदम अब औपचारिकता मात्र हुने ठानिएको छ।
नयाँ कानुनले के फरक पार्छ?
नयाँ कानुनका अनुसार मध्य मार्चबाट कोभिडविरूद्ध खोप नलगाउनेहरूले ३ हजार ६ सय युरोसम्म जरिबाना तिर्नुपर्ने हुन्छ।
खोपसम्बन्धी त्यस्तो आदेश सन् २०२४ को ज्यानुअरीसम्म लागु हुनेछ।
सरकारले खोप नलगाएका मानिसहरू त्यसका लागि अगाडि आऊन् भनेर प्रोत्साहन गर्नका लागि १.४ अर्ब युरो लगानी गर्दैछ।
उक्त प्रस्तावलाई तल्लो सदनमा १३७ जनाले पारित गरेका थिए। विपक्षमा ३३ सांसद उभिएका थिए।
विरोधी मत
उग्र दक्षिणपन्थी फ्रिडम पार्टी अस्ट्रियामा खोपविरोधी अल्पसङ्ख्यक खेमामा नेतृत्व गरिरहेको छ जो यस व्यवस्थाको विरूद्धमा उभिएको छ।
अधिकारीहरूले अनिवार्य खोपको उपाय ल्याउने बताएदेखि नै भियनामा त्यसविरूद्ध प्रदर्शन हुन थालेका थिए।

तस्बिर स्रोत, Getty Images
तीमध्ये एउटामा ४० हजारसम्मको सङ्ख्यामा मानिसहरू जुटेका थिए।
आलोचकहरूले यो व्यवस्था कार्यान्वयनमा आएपछि दशौँ लाख अस्ट्रियाका मानिसहरू दोस्रो दर्जाका नागरिक बन्ने बताएका छन्।
युरोपमा अन्यत्र के गरिँदैछ?
यस्तो व्यवस्था अन्य कयौँ देशमा समेत ल्याइएको छ जसमध्ये ग्रीस पनि छ जहाँ ६० वर्ष र माथिका मानिसहरूलाई खोप अनिवार्य पारिएको छ।
छिमेकी जर्मनीमा बनेको नयाँ सरकारले मार्च महिनामा संसद्मा त्यस्तै एउटा प्रस्ताव ल्याउने जनाएको छ।
केही युरोपेली देशले ओमिक्रोन भेटिअन्ट फैलिरहेका बेला विस्तारै प्रतिबन्धहरू खुकुलो पारिरहंदा अस्ट्रियाको यस कदम देखा परेको हो।
यूकेमा प्रधानमन्त्री बोरिस जोनसनले सार्वजनिक ठाउँमा अनिवार्य अनुहार ढाक्नुपर्ने काम र कोभिड पासपोर्टको व्यवस्था २६ ज्यानुअरीबाट अन्त्य गर्ने घोषणा गरेका छन्।
अमेरिकामा चिन्ता
अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख स्वास्थ्य सल्लाहकार डाक्टर एन्थोनी फाउचीले अझै कोभिड खोप नलगाएका एक चौथाई अमेरिकी जनसङ्ख्याबारे चासो व्यक्त गरेका छन्।
उनले तिनलाई खोपविरोधी हठी समूह बताउँदै कोभिड लागेमा ज्यान गुमाउने जोखिम उनीहरूमा २० गुणा बढी हुने बताए।
उनले अमेरिकामा औसत २ हजार कोभिड मृत्यु भइरहेको बताए।





















