नेपाल कोभिड: २४ घण्टामा ३ हजार ७५ जना सङ्क्रमित थपिए, सक्रिय सङ्क्रमित सङ्ख्या ११ हजार नाघ्यो

खोप

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, दमौलीमा खोप लगाउन जम्मा भएका मानिसको भिड
Published

नेपालमा गत २४ घण्टामा ३ हजार ७५ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको पुष्टि भएको छ।कुल १३ हजार ३६ जनाको पीसीआर र एन्टिजन विधिबाट परीक्षण गरिएकोको थियो।परीक्षण गरिएका नमुनामध्ये २३ प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको हो।

कोभिडका कारण थप २ जनाको मृत्यु पुष्टि भएको  बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयकी प्रवक्ता स‌ंगिता मिश्राले हालैका दिनमा सङ्क्रमण दर वृद्धि भइरहेको भन्दै सावधानी अपनाउन अनुरोध गरिन्।

थपिएका सङ्क्रमितमध्ये १,५०० भन्दा बढी काठमाण्डू उपत्यकामा देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाण्डूमा १, ०२८ जना, ललितपुरमा २३६ जना र भक्तपुरमा १३४ जना कोभिड-१९ सङ्क्रमित थपिएका छन्।

सक्रिय सङ्क्रमितमध्ये हाल १० हजार ८ सय १० जना घरमै आइसोलेसनमा बसिरहेको र ८ सय ८० जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ।

सङ्क्रमितमध्ये आईसीयूमा ८७ जना र भेन्टिलेटरमा २२ जना रहेका छन्।

सोही अवधिमा २७८ जना कोभिड सङ्क्रमणमुक्त भएका छन्।

कतिले खोप लगाएका छन्?

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २ लाख १४ हजारभन्दा बढीले कोभिड खोप लगाएको तथ्याङ्क छ।

हालसम्म लक्षित जनसङ्ख्या एक करोड ९९ लाखको झन्डै ५८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।

एक मात्रा मात्रै खोप लगाउनेको सङ्ख्या ७८ प्रतिशत रहेको देखिन्छ।

कुल जनसङ्ख्या तीन करोड तीन लाखको ३८ प्रतिशतले पूर्ण मात्रा र ५७ ले कम्तीमा एक मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता मिश्राले माघको पहिलो साताबाट अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई बूस्टर डोज दिन लागेको जानकारी दिइन्।

उनले पहिले जुन खोप लगाएको हो त्यही प्रकृतिको खोपलाई बूस्टर डोजका रूपमा लगाउनुपर्ने उल्लेख गरिन्।

त्यसको अर्थ पहिले भेरोसेल लगाएकाहरूले भेरोसेल र कोभिशिल्ड लगाएकाहरूले कोभिशील्ड नै बूस्टर डोजका रूपमा लगाउनुपर्ने उनको भनाइ छ।