तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
म्यानमारमा बहुमुल्य पत्थर जेड उत्खनन् गर्ने एउटा खानीमा १०० जनासम्म बेपत्ता भएको आशङ्का
म्यानमारमा बहुमूल्य रत्न 'जेड' को एउटा खानीमा गएको पहिरोमा एक सय जनासम्म मानिसहरू हराइरहेको हुनसक्ने आशङ्का गरिएको छ।
उद्धार टोलीहरूले खानी नजिकैको तालमा खोजी गरिरहेका छन् र अधिकांश पीडितहरू गैरकानुनी रूपमा खानी उत्खनन् कार्यमा संलग्न व्यक्तिहरू भएको ठानिएको छ। हालसम्म एक जनाको मृत्यु भएको पुष्टि भएको छ।
उत्तरी कचिन प्रान्तको पाकान्ट क्षेत्रमा बुधवार बिहान उक्त पहिरो गएको थियो।
म्यानमार पनि भनिने बर्मा जेडका लागि विश्वकै एक प्रमुख श्रोत हो र यसका खानीहरूमा कैयौँ दुर्घटना भएका छन्।
लरीहरूबाट खुला खाल्डाहरूमा फालिएका ढुङ्गामाटोको ठूलो परिमाणमा बग्न जाँदा पहिरो गएको ठानिएको छ।
ती ढुङ्गामाटोको कारण त्यहाँको जमिन धेरै भिरालो हुन पुगेको र रूख विरुवा केही नभएको त्यस्तो क्षेत्र खतरनाक हुनसक्ने बताइन्छ।
त्यस्तो असुरक्षित ठाउँमा बहुमूल्य पत्थरको खोजी गर्नु जोखिमपूर्ण हुने बताइन्छ।
झन्डै दुई सय मानिस सहितको उद्धार टोली घटनास्थलमा पुगेको बताइएको छ। नजिकैको तालमा हराइरहेका व्यक्तिहरूको डुँगाबाट खोजी भइरहेको छ।
"हामीले २५ जना व्यक्तिहरूलाई अस्पताल पठाएका छौँ र एक जनालाई मृत फेला पारेका छौँ," उद्धार टोलीका सदस्य को नीले भने।
उनले एक सय जना जति मानिसहरू हराइरहेको हुनसक्ने अनुमान गरेका छन्।
गैरकानुनी उत्खनन्
पाकान्टमा जेडको उत्खनन् गर्न प्रतिबन्ध लगाइएको छ तर स्थानीय बासिन्दाहरूले बारम्बार नियमको उल्लङ्घन गर्ने गरेका छन्।
रोजगारीको अभाव र कोभिड महामारीले निम्त्याएको अप्ठेरो अवस्थाले उनीहरूलाई खानीमा जान बाध्य पारेको बताइएको छ।
गएको फेब्रुअरीमा म्यानमारको सेनाले सत्ता हातमा लिएपछि उत्खनन व्यवसाय फस्टाएको छ।
केही समय अघि कम्तीमा १० जना अदक्ष कामदार पाकन्टकै अर्को जेड खानीमा बेपत्ता भएका थिए।
सन् २०२० मा खानीबाट निस्किएको फोहोरका कारण त्यहाँ रहेको ताल फुट्दा १ सय ६० भन्दा बढीको मृत्यु भएको थियो। मारिनेमध्ये अधिकांश आप्रवासी थिए।
सन् २०१८ मा म्यानमारले बहुमूल्य रत्न खानीमा उत्खनन् सम्बन्धी नयाँ कानुन पारित गरेको थियो।
तर आलोचकहरूले गैरकानुनी गतिविधि रोक्न एकदमै सीमित अनुगमनकर्ताहरू सरकारसँग रहेको बताउने गरेका छन्।
अभियानकर्ताहरूले सेना, लागु औषध कारोबारी, विद्रोही समूह र चिनियाँ व्यापारिक स्वार्थले जेडको कारोबारमा चासो राख्ने गरेको र उनीहरूका कारण सुरक्षित र दीगो प्रकारले उत्खनन् हुननसकेको बताउने गरेका छन्।
म्यानमारले वर्षेनी ३० अर्ब डलर बराबरको जेड कारोबार गर्ने बताइन्छ। पाकान्टमा विश्वकै सबैभन्दा ठूलो जेड खानी रहेको छ।