एक्वडोर झडपः जेलमा भएको हिंसात्मक दङ्गामा एक सयजनाभन्दा बढीको मृत्यु

Published

एक ल्याटिन अमेरिकी देश एक्वडोरको कारागारमा भएको हालसम्मकै अप्रिय घटनामा एक सयभन्दा धेरै कैदीबन्दीको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

राष्ट्रपति गीएर्मो लास्सोले मङ्गलबार भएको उक्त हिंसात्मक घटनामा कम्तीमा एकसय सोह्र जना बन्दीको मृत्यु भएको थाहा भएको पुष्टी गरेका छन्।

बन्दरगाह शहर ग्वाइआकीलस्थित उक्त जेलमा त्यहाँ रहेका बन्दीहरूको दुई समूहबीच झडप भएको थियो।

कम्तीमा पाँच जना बन्दीको टाउको काटिएको जनाइएको छ।

अन्यको गोली प्रहार गरेर हत्या गरिएको थियो।

भिडन्तमा बन्दुक, राइफल र ह्याण्ड ग्रेनेड जस्ता हतियारको प्रयोग भएको बताइएको छ।

स्थिति नियन्त्रणमा लिन ४०० प्रहरी अधिकारी परिचालन गर्नुपरेको थियो।

उक्त जेलमा विश्वव्यापी सञ्जाल रहेको एउटा लागु औषध गिरोहका सदस्यहरूलाई राखिएको थियो।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार कारागारभित्र त्यस्तो गराउनका लागि शक्तिशाली मेक्सिकन लागुऔषध तस्करहरूको गिरोहले निर्देशन दिएको थियो।

उक्त गिरोह हाल एक्वडोरमा सकृय रहेको बताइएको छ।

गिरोह

एक्वडोरको बन्दी गृहहरू हेर्ने एक जना निर्देशकले स्थानीय रेडियोसँगको कुराकानीमा त्यहाँको अवस्थालाई ''डरलाग्दो'' बताए।

उनले भने, ''हिजो प्रहरीले २ बजे (स्थानीय समय) स्थिति आफ्नो नियन्त्रणमा लियो। तर हिजो राति त्यहाँ गोली प्रहार, अन्य कुराहरू र विस्फोटन भए। र आज बिहान हामीले पूर्ण नियन्त्रण लियौँ। हामीले झडप भएका स्थानहरूमा छिर्दै जाँदा थप शवहरू फेला पारिरहेका छौँ।''

त्यहाँ गत फेब्रुअरीमा भएको झडपमा ७९ बन्दीहरू मारिएका थिए।

प्रहरी अधिकारीका अनुसार एउटा भवनमा रहेका बन्दीहरू अर्को भवनसम्म पुग्न घिस्रिएर सानो सुरुङ हुँदै अघि बढेका थिए।

त्यसपछि उनीहरूले विपक्षी समूहका सदस्यमाथि आक्रमण गरे।

घटनमा ५० भन्दा बढी कैदीहरू घाइते भएका छन्।

राष्ट्रपति गीएर्मो लास्सोले देशभरका कारागारहरूमा आपतकालिन अवस्थाको घोषणा गरेका छन्।

एक्वडोरमा बन्दीगृहलाई आफ्नो नियन्त्रणमा लिने प्रयासमा भैरहने परस्पर विरोधी गिरोहहरू संलग्न विभिन्न हिंसात्मक घटनाको श्रृङ्खलामा यो पछिल्लो घटना हो।

गत फेब्रुअरीमा भएको घटनामा ७९ जनाको ज्यान गएको थियो।