तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल : थप ४१ सय जनामा कोरोना भाइरस, सङ्क्रमण बढ्दै जाँदा उपत्यकामा निषेधाज्ञा लम्बियो
विगत २४ घण्टामा नेपालमा थप ४,१०७ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा १६,२१८ वटा नमुना परीक्षण गरिएको थियो।
यससँगै देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या ३३,००० नाघेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार थप ३५ जनाको कोभिडका कारण मृत्यु भएको छ। अहिलेसम्म ९,९५७ जनाको कोरोनाभाइरससँग सम्बन्धित कारणले मृत्यु भएको सरकारको तथ्याङ्क छ।
गत २४ घण्टामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १,५३५ रहेको मन्त्रालयले बताएको छ।
परीक्षण गरिएका कुल नमुनामध्ये कर्णाली प्रदेशमा सङ्क्रमणदर ५७.३ प्रतिशत, गण्डकी प्रदेशमा ४४ प्रतिशत र प्रदेश नम्बर १ मा ३२ प्रतिशत पाइएको छ।
गत २४ घण्टामा पीसीआर परीक्षण गराएकामध्ये २६.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।
उनले नेपाल पहिलो र दोस्रो लहर व्यवस्थित गरेर तेस्रो लहरको सँघारमा रहेको भन्दै जनस्वास्थ्यसम्बन्धी सावधानी अपनाइनुपर्ने बताए।
जनजीविका खुकुलो हुँदै जाँदा सङ्क्रमणदर बढिरहेको भन्दै श्रावण २३ गतेदेखि २९ गतेसम्म नेपाल मास्क अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
के छ काठमाण्डू उपत्यकाको स्थिति?
उपत्यकाका तीन जिल्लामा अहिले कुल १,२७९ जनामा सङ्क्रमण पुष्टि भयो। यो अहिले पुष्टि भएका कुल सङ्क्रमितको ३१ प्रतिशत हो।
उपत्यकामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या झन्डै ९ हजार ७ सय रहेको छ।
काठमाण्डू जिल्लामा मात्र अहिले ६,८०० जनाभन्दा बढीमा सक्रिय सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको तथ्याङ्कले केही सातायता उपत्यकामा कोभिड भएका मानिसको सङ्ख्या बढ्दै गएको देखाउँछ।
सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम देखिएपछि उपत्यकामा तीनवटै जिल्लामा बुधवार मध्यरातिबाट लागु हुनेगरी केही कडाइसहित एक साताका निषेधाज्ञा थप गरिएको छ।
काठमाण्डू, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले सङ्क्रमितको बढ्दो सङ्ख्या र सार्वजनिक भेला तथा प्रदर्शनलाई ध्यानमा राख्दै यसअघि २५ जनासम्म उपस्थित भएर सभा-सम्मेलन गर्न दिइएको छुटमा रोक लगाउने निर्णय गरेका छन्।
साउन २७ गतेसम्म थपिएको निषेधाज्ञामा गोष्ठी, तालिम, बैठक, सेमिनार, प्रशिक्षण र समीक्षा लगायतका क्रियाकलापहरू भर्चूअल माध्यमबाट मात्र गर्न भनिएको छ।
यसअघिको निषेधाज्ञामा पनि यस्ता कार्यक्रमलाई भर्चूअल माध्यमबाट गर्न भनिए पनि भौतिक रूपमै उपस्थित भएर गर्नैपर्ने भएमा बढीमा २५ जना उपस्थित हुनेगरी तथा जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने छुट दिइएको थियो।
कसलाई निःशुल्क परीक्षणको व्यवस्था?
काठमाण्डू उपत्यकामा अन्यत्रको भन्दा बढी सङ्क्रित भेटिने क्रम अहिले पनि जारी छ।
तीनवटै जिल्ला प्रशासन कार्यालयले सङ्क्रमितको निकट सम्पर्कमा पुगेका व्यक्तिलाई सरकारले नि:शुल्क व्यवस्था गरेको एन्टिजन वा पीसीआर विधिबाट कोभिड परीक्षण गर्न स्थानीय तह वा जिल्ला अस्पतालसँग सम्पर्क गर्न आग्रह गरेका छन्।
निषेधाज्ञा पालना भए नभएको नियमित र आकस्मिक अनुगमन बढाउने जानकारी गराउँदै उल्लङ्घन भएको पाइए कोभिड सङ्कट व्यवस्थापन अध्यादेशअनुसार कारबाही हुने चेतावनी अधिकारीहरूले दिएका छन्।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर
के खुला, के बन्द?
काठमाण्डू उपत्यकामा सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, नाचघर, क्लब, स्विमिङ पुल लगायतका व्यवसाय सञ्चालनमा प्रतिबन्ध कायमै छ।
यसअघिको जस्तै नित्य पूजाबाहेकका धार्मिक सांस्कृतिक गतिविधिमा र सभा, जुलुस, जात्रा, महोत्सव तथा भोजभतेरमा रोक छ।
शैक्षिक संस्थाहरूमा हुने भौतिक उपस्थितिसहितका कक्षाहरू सञ्चालन गर्न नपाइने भए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर २५ जनासम्म परीक्षार्थी एउटा हलमा व्यवस्थापन गर्नेगरी परीक्षा सञ्चालन गर्न पाइन्छ।
यसअघिको जस्तै पसल, रेस्टुराँ, टेक-अवे सेवा तथा अनलाइन डेलिभरीका व्यवसायलाई साँझ ७ बजेसम्म खोल्न दिइएको अनुमतिलाई निरन्तरता दिइएको छ।