कोभिड नेपाल: थप ३४ सय जनामा कोरोना भाइरस सङ्क्रमण, २५ जनाको मृत्यु

Published

नेपालमा थप ३,४२१ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २५ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

सोमवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १७,२७२ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ५,०३२ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।

मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ३८ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,७३८ पुगेको छ।

अहिले कुल परीक्षणको झन्डै २० प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,६८६ जना सङ्क्रमणमुक्त भएका छन्।

नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल २७,९०० जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ।

तीमध्ये २५,०९३ जना घरमा तथा २,८१५ जना संस्थागत आइसोलेशनमा छन्।

सङ्क्रमितमध्ये अहिले ६६९ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १६६ जना भेन्टिलेटरमा छन्।

अहिले पुष्टि भएका सङ्क्रमितमध्ये ६७७ जना काठमाण्डूमा, ३१४ जना झापामा, १९७ जना ललितपुर फेला परेका हुन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै हुने क्रम अहिले पनि जारी छ।

कतिले लगाए खोप?

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या सोमवारसम्म १४ लाख २३ हजार नाघेको थियो।

अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र नेपाल आएका छन्।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।

कोभिशील्डको पहिलो मात्रा लगाएका झन्डै १३,६७,००० जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन्।

भारतको अवस्था के छ?

भारतमा २४ घण्टाको अवधिमा झन्डै ३९,३६१ नयाँ सङ्क्रमित थपिएका छन् भने ४१६ जनाले कोभिडसँग सम्बन्धित कारणले ज्यान गुमाएको बिहान प्रकाशित तथ्याङ्कमा उल्लिखित छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै त्यहाँ अहिलेसम्म तीन करोड १३ लाख जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ।

अहिलेसम्म चार लाख २० हजारभन्दा धेरैले कोभिडका कारण ज्यान गुमाएका छन्।

यतिखेर भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख एघार हजारभन्दा धेरै छ।

भारतमा हालसम्म ४३ करोड ५१ लाख जनाभन्दा धेरैले कोभिड खोप लगाएका छन्।

सोमवार बिहानसम्म २४ घण्टाको अवधिमा त्यहाँ १८ लाखभन्दा धेरैले कोभिड खोप लगाएका थिए।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।