कोभिड नेपाल: सङ्क्रमण दर र गम्भीर बिरामीको सङ्ख्या 'केही सातादेखि स्थिर' रहनुको कारण के होला?

आईसीयू

तस्बिर स्रोत, APF via RSS

Published

स्वास्थ्य अधिकारी र विज्ञहरूले केही सातादेखि नेपालमा कोरोनाभाइरसको सङ्क्रमण दर र गम्भीर बिरामीको सङ्ख्या "स्थिर अवस्थामा रहेको" बताएका छन्।

उनीहरूका भनाइमा यो अवस्थाले "नेपालमा कोरोनाभाइरसको जोखिम कम नभएको र कुनै पनि बेला फेरि सङ्क्रमणको दर उकालो लाग्नसक्ने" जोखिम रहेको देखाएको छ।

यद्यपि त्यसका लागि भाइरसको भेरिअन्ट र स्वास्थ्य मापदण्ड पूरा गरिएको वा नगरिएको कुराले महत्त्वपूर्ण भूमिका खेल्ने उनीहरू बताउँछन्।

कोभिड नियन्त्रणका लागि सरकारका तर्फबाट लगाइएका अधिकांश प्रतिबन्धहरू हटाइएकाले सबैलाई विशेष सतर्कता अपनाउन पनि अधिकारीहरूले आग्रह गरेका छन्।

गम्भीर बिरामीको अवस्था

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार गएका केही सातादेखि नेपालमा कोभिडका गम्भीर बिरामीको सङ्ख्यामा खासै कमी आएको देखिँदैन।

मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने विवरणमा अस्पतालका सघन उपचार कक्ष,आईसीयू, र कृत्रिम स्वास्प्रश्वास यन्त्र, भेन्टिलेटर, मा रहेका बिरामीको सङ्ख्यामा खासै कमी नआएको देखिएको हो।

यद्यपि कैयौँले मन्त्रालयले सङ्कलन र सार्वजनिक गर्ने विवरणमा "कैयौँको तथ्याङ्क नसमेटिएको" र "त्यो नै यथार्थ अवस्था झल्काउने विवरण नहुन पनि सक्ने" भन्दै प्रश्न उठाएका विवरणहरू पनि पछिल्ला दिनमा सार्वजनिक भएका छन्।

विगत एक साताको तथ्याङ्क हेर्दा आईसीयूमा रहेका बिरामीको सङ्ख्या दैनिक पाँच सय ६० देखि ६ सयको बीचमा देखिएको छ।

विगत ७ दिनमा आईसीयू र भेन्टिलेटरमा कोभिडका बिरामी. नेपालमा कोरोनाभाइरस सङ्क्रमण.  .

त्यो सङ्ख्या भनेको गत वैशाख-जेठमा नेपालमा कोरोनाभाइरस सङ्क्रमण उच्च विन्दुमा पुगेको अवस्थाको एक तिहाई हो।

तर केही सातादेखि गम्भीर बिरामीको सङ्ख्या स्थिर देखिनुलाई "कोरोनाभाइरसको जोखिम कम नभएको रूपमा लिनुपर्ने" स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए।

'सरकारीमा चाप'

कोभिडका गम्भीर बिरामीको चाप अहिले सरकारी अस्पतालमा परिरहेको अधिकारीहरूको भनाइ छ।

अस्पतालमा कार्यरत कतिपय चिकित्सकहरूले सामाजिक सञ्जालमा आफ्ना अस्पतालमा गम्भीर बिरामीको सङ्ख्या बढेको भन्ने जानकारीहरू बेला बेला लेख्ने गरेका छन्।

प्रवक्ता पौडेल भन्छन्, "हामीले अहिले निजी अस्पतालले कोभिड बिरामीलाई गरेको उपचारको शोधभर्ना नगर्ने नीति लियौँ। त्यो पनि सरकारी अस्पतालमा भर्ना हुने कोभिडका गम्भीर बिरामीको सङ्ख्या बढ्नुको एउटा कारण हुनसक्छ।"

सरकारले गत असार ८ गते निजी अस्पतालहरूलाई उपचारको सोधभर्ना नगर्ने निर्णय गरेको थियो।

अस्पताल

तस्बिर स्रोत, RSS

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल अहिले पनि कोरोनाभाइरसको सङ्क्रमण नघटेको बताउँछन्।

पौडेल भन्छन्, "परीक्षण गरिएकामध्ये २० देखि २५ प्रतिशतमा सङ्क्रमण देखिने गरेको छ। त्यो भनेको चार/पाँच जनामा परीक्षण गर्दा एकजनामा देखिनु हो।"

"समग्रमा अवस्था स्थिर नै छ। जोखिम पनि उत्तिकै छ।"

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational grey line

सङ्क्रमण र गम्भीर बिरामीको सङ्ख्या स्थिर हुनुको कारण

स्वास्थ्य अधिकारीहरूका अनुसार अहिले कोरोनाभाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धहरू खुकुलो पारिएपछि स्वास्थ्य मापदण्ड पालन नहुँदा सङ्क्रमण घट्न नसकेको हो।

तर उनीहरूले सङ्क्रमण स्थिर देखिएर ह्वात्त नबढ्नु र गम्भीर प्रकृतिका बिरामीको सङ्ख्या पनि स्थिर हुनुलाई "सकारात्मक कुरा" भनेका छन्।

कोरोनाभाइरसको दोस्रो लहरमा देखिएका डेल्टा र डेल्टाप्लस भाइरसका भेरिअन्टहरू बढी नै जोखिमपूर्ण भएकाले पनि गम्भीर बिरामीको सङ्ख्या कम हुन नसकेको पौडेलले बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन चाहिँ "दैनिक सङ्क्रमण दर दुई हजारको हाराहारीमा रहँदै प्रतिबन्धहरू खुकुलो पारिँदा" सङ्क्रमितको सङ्ख्या र गम्भीर बिरामीको सङ्ख्या नघटिकन स्थिर बन्न पुगेको ठान्छन्।

उनी भन्छन्, "निषेधाज्ञाहरू खुकुलो भएपछि मानिसहरूको व्यवहार फेरि जस्ताको जस्तै भयो। अवस्था लगभग ठिक भएको जस्तो ठानियो। सभाजुलुस पनि भइरहेका छन्। यातायातमा चाप उस्तै छ।"

"सुरक्षात्मक उपाय लागु गरेको भने पनि व्यवहारमा लागु भएको छैन।"

कोरोनाभाइरस सङ्क्रमितको उपचार गराइराखेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा सघन उपचार कक्ष

तस्बिर स्रोत, RSS

त्यसले गर्दा निषेधाज्ञाका बेलामा सुरक्षित भएकाहरूमा पनि अहिले सङ्क्रमण भइरहेको उनको तर्क छ।

डा. पुन कोरोनाभाइरसको सङ्क्रमण समुदायमा फैलने गतिले अहिले पनि निरन्तरता पाएको ठान्छन्।

"पहिले पिकमा पुगेर ह्वात्तै घट्ने गरेकोमा अहिले स्थिर देखिएको छ," उनी भन्छन्।

पुनका भनाइमा प्रतिबन्धहरू खुकुलो भएपछि खोप लगाएका वा एकपटक सङ्क्रमण भइसकेकाहरू सङ्क्रमित हुँदा लक्षण नदेखिने र त्यसबाट जोखिमपूर्ण व्यक्तिहरूमा सर्ने क्रम बढेको हुनसक्छ।

अहिलेको अवस्था हेर्दा गम्भीर बिरामीको सङ्ख्या र सङ्क्रमण दर अझै केही समय स्थिर रहने देखिएको उनले बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस नेपाल: 'आइसीयू नभएर सङ्क्रमित घरमै अक्सिजन लिन बाध्य'

डा. पुनले भने, "विस्तारै भिड बढ्दै जाँदा नघटेर स्थिर देखिएको मेरो अनुमान छ। तर आशा गरौँ नयाँ भेरिअन्ट नआएसम्म ठाडै ग्राफ चाहिँ माथि जाने सम्भावना नहोला। डेल्टा भेरिअन्ट जस्तै कुनै नौलो आयो भने चाहिँ त्यसले फेरि अर्को 'पिकअप' लिने सम्भावना देखिन्छ।"