कोभिड नेपाल: थप २,६७६ जनामा कोरोना भाइरस सङ्क्रमण, ३३ जनाको मृत्यु

नेपालमा थप २,६७६ जनामा कोरोनाभाइरस सङ्क्रमण र ३३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
बिहीवार अपराह्ण प्रकाशित तथ्याङ्कअनुसार १२,७६८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको सरकारी तथ्याङ्क छ।
तीमध्ये ८९४ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।
कुल परीक्षणको झन्डै २१ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख नौ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,४६३ पुगेको छ।
चौबीस घण्टाको अवधिमा १,७५७ जना सङ्क्रमणमुक्त भएका छन्।
नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।

तस्बिर स्रोत, EPA
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल २६,६०० जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ। तीमध्ये २४,००० जना घरमा तथा २,६१४ जना संस्थागत आइसोलेशनमा छन्।
सङ्क्रमितमध्ये अहिले ६०२ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७१ जना भेन्टिलेटरमा छन्।
बिहीवार पुष्टि गरिएका सङ्क्रमितमध्ये ३३९ जना काठमाण्डू, १५५ जना चितवन, १५५ जना कास्की, १३४ जना ललितपुर, १०५ जना मोरङ र ८० जना भक्तपुरमा फेला परेका हुन्।
सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको देखिन्छ।
अहिले काठमाण्डूमा ५,४५८ जना, भक्तपुरमा १,०६२ जना र ललितपुरमा १,१७३ जना पुष्टि भएका सक्रिय सङ्क्रमित छन्।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर


कतिले लगाए खोप?
स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या बिहीवारसम्म ११ लाख ८,८०० नाघेको छ। त्यसैगरी २६ लाख २१,००० जनाभन्दा बढीले एक मात्रा खोप पाएका छन्।
अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र वितरणमा आएका छन्।

तस्बिर स्रोत, REUTERS
जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।
कोभिशील्डको पहिलो मात्रा लगाएका झण्डै १३ लाख ६७ हजारले दोस्रो मात्रा लगाउन पाएका छैनन्।
भारतको अवस्था के छ?
भारतमा विगत २४ घण्टामा ४१,८०६ नयाँ सङ्क्रमित थपिएका छन् भने ५८१ जनाले कोभिडसँग सम्बन्धित कारणले ज्यान गुमाएका छन्।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै त्यहाँ अहिलेसम्म तीन करोड नौ लाखभन्दा धेरै सङ्क्रमित पुष्टि भएका छन्।
अहिलेसम्म चार लाख ११,९८९ जनाले कोभिडका कारण ज्यान गुमाएका छन्।
यतिखेर भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख ३२ हजारभन्दा धेरै छ।
भारतमा हालसम्म ३९ करोड १३ लाखभन्दा धेरैले कोभिड खोप लगाएका छन्।
बिहीवार बिहानसम्म २४ घण्टाको अवधिमा त्यहाँ झन्डै ३५ लाखले कोभिड खोप लगाएका थिए।
कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -
- ११३३
- ९८५१२५५८३९
- ९८५१२५५८३७
एम्बुलेन्स सेवाको लागि -
- १०२
यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।























