कोभिड नेपाल: थप २९ सयमा कोरोनाभाइरस सङ्क्रमण, १८ जनाको मृत्यु

Published

नेपालमा थप २,९०५ जनामा कोरोनाभाइरस सङ्क्रमण र १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बुधवार अपराह्ण सार्वजनिक तथ्याङ्क अनुसार विगत २४ घण्टामा१३,०२४ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

तीमध्ये ८,१०८ जनाको परीक्षण पीसीआर र ४,९१६ जनाको एन्टिजन विधिबाट गरिएको हो।

कुल पीसीआर परीक्षणको २४.८ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

त्यस अवधिमा १,६०६ जना निको भएका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ७ लाखभन्दा बढी पुगेको छ भने मृतकको सङ्ख्या ९,४३० जना पुगेको छ।

अहिले कुल २६,६४७ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,५४८ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

बुधवार पुष्टि भएका कुल सङ्क्रमितमध्ये ४२५ जना काठमाण्डू उपत्यकामा रहेका छन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ५९९ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १७२ जना भेन्टिलेटरमा छन्।

कतिले खोप लगाए?

मन्त्रालयका अनुसार नेपालमा हालसम्म कुल ३७ लाख ३० हजारभन्दा बढीले खोप लगाइसकेका छन्।

त्यसमध्ये २६ लाख २१ हजारभन्दा बढीले पहिलो मात्रा लगाएका छन्।

११ लाख ८ हजारभन्दा बढीले चाहिँ दोस्रो मात्रा पनि लगाइसकेका छन्।

अहिले परीक्षण गरिएकामध्ये गण्डकी प्रदेशमा सबैभन्दा धेरै ४४.७ प्रतिशत सङ्क्रमण देखिएको छ।

त्यस्तै कर्णालीमा ४०.२ प्रतिशत र प्रदेश-१ मा ३७ प्रतिशतमा सङ्क्रमण देखिएको छ।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।