कोभिड नेपाल: थप १,८७५ जनामा कोरोना भाइरस सङ्क्रमण, २९ जनाको मृत्यु

Published

नेपालमा थप १,८७५ जनामा कोरोनाभाइरस सङ्क्रमण र २९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार जनाएको छ। 

पछिल्लो २४ घण्टामा १०,५०४ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ५,१३० परीक्षण एन्टिजन विधिबाट गरिएको हो।

कुल परीक्षणको १७.८ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रालयको विवरण छ।

सो अवधिमा १,२८६ जना सङ्क्रमणमुक्त भएपछि निको भएका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ९३ हजार पुगेको छ भने मृतकको सङ्ख्या ९,३२० पुगेको छ।

अहिलेसम्म भएका मृत्युमा सबैभन्दा धेरै ६० वर्ष माथिका ४९९५ जना र सबैभन्दा कम ९ वर्षमुनिका ४१ जना छन्।

अहिले कुल २६,४४७ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,७५५ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

बिहीवार पुष्टि भएका कुल सङ्क्रमितमध्ये ४२७ जना काठमाण्डू उपत्यकामा रहेका छन्।

अहिले देशभरिका ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २५ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ५७२ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १५७ जना भेन्टिलेटरमा छन्।

भारतको अवस्था के छ?

भारतमा विगत चौबिस घण्टामा ४५ हजार ८९२ नयाँ सङ्क्रमित थपिएका छन् भने ८१७ जनाले कोभिड जोडिएका घटनामा ज्यान गुमाएका छन्।

सोही अवधिमा ४४ हजार २९१ जना सङ्क्रमणमुक्त भएको सरकारी विवरण छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै त्यहाँ अहिलेसम्म ३ करोड ७ लाख ९ हजारभन्दा धेरै सङ्क्रमित पुष्टि भएका छन्। अहिलेसम्म ४ लाख ५ हजार २८ जनाले कोभिडका कारण ज्यान गुमाएका छन्।

यतिखेर भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या झण्डै ४ लाख ६० हजार छ।

गत चौबिस घण्टामा ३३ लाख ८१ हजारले कोभिड खोप लगाएका छन्।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।