तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल: थपिए २,६२२ सङ्क्रमित, २३ को मृत्यु, सङ्क्रमणमा दक्षिण एशियामा नेपाल कहाँ छ
नेपालमा गत २४ घण्टामा २६सय २२ जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन्। विभिन्न मितिमा सेनाले शव व्यवस्थापन गरेको सहित २३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
नेपालमा कुल कोभिड सङ्क्रमितको सङ्ख्या ६ लाख नाघेको छ भने मृत्यु हुनेको सङ्ख्या ९२ सय भन्दा बढी छ।
केही दिन यता सङ्क्रमितहरूको सङ्ख्या घटेको छ। तर परीक्षण पनि घटाइएको छ।
पछिल्लो २४ घण्टामा लगभग ७५०० को पीसीआर विधिबाट र ४ हजार भन्दा केही बढीको एन्टिजन विधिबाट परीक्षण गरिएको जनाइएको छ।
दक्षिण एशियामा नेपाल कति प्रभावित छ?
दक्षिण एशियामा कुल सङ्क्रमित र कुल मृत्यु हुने सङ्ख्याका हिसाबले नेपाल चौथो प्रभावित मुलुक बनेको छ।
सङ्ख्यात्मक हिसाबले प्रभावित हुनेमा एक नम्बरमा भारत, दोस्रोमा पाकिस्तान, तेस्रोमा बाङ्लादेश र चौथोमा नेपाल परेको छ।
औपचारिक रूपमा पुष्टि भएर जोन्स हप्किन्स विश्वविद्यालयले राखेको तथ्याङ्कका आधारमा भारतमा कुल जनसङ्ख्याकाो २.२ प्रतिशत सङ्क्रमित भएका छन् भने त्यसकै हाराहारीमा नेपालमा कुल जनसङ्ख्याको २.१ प्रतिशत मानिस सङ्क्रमित भएका छन्।
जोन्स हप्किन्स विश्वविद्यालयका पछिल्लो तथ्याङ्क अनुसार सङ्ख्यात्मक हिसाबले भारत कोभिडबाट सबभन्दा बढी प्रभावित मुलुक हो, त्यहाँ ३,०५,८५,२२९ जना कुल सङ्क्रमित छन् भने ४०२७२८ जनाको कोभिडका कारण ज्यान गएको छ।
जोन्स हप्किन्सकै तथ्याङ्क अनुसार नेपालमा ६,४४,६२२ जना सङ्क्रमित भएका छन् भने हालसम्म ९,२०० जनाको मृत्यु भइसकेको छ।
पाकिस्तानमा जम्मा ९,६३,६६० जना सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या २२,४२७ छ। बाङ्लादेशमा ९,४४,९१७ जना सङ्क्रमित छन् भने १५, ०६५ को ज्यान गएको छ।
सानो मुलुक मालदिभ्स सबभन्दा बढी प्रभावित देखिन्छ। त्यहाँ हालसम्म ७४,३५१ जना सङ्क्रमित भएका छन् भने २१३ जनाको मृत्यु भएको छ।
भुटानमा सबभन्दा कम २१५९ जना सङ्क्रमित छन् भने जम्मा १ जनाको मृत्यु भएको छ।
अरू तथ्याङ्क के छ?
नेपालमा सङ्क्रमितमध्ये करिब ४० प्रतिशत महिला छन् भने ६० प्रतिशत पुरुष रहेका छन्।
पछिल्लो समय सबभन्दा बढी सङ्क्रमित हुने उमेर समूह २० देखि ४० को रहेको छ।
हाल २२,९९८ जना घरमै आइसोलेशनमा रहेका र २,६९२ जना संस्थागत आइसोलेशनमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यसैगरी सघन उपचार कक्षमा ५७१ जना र भेन्टिलेटरमा १८० जना रहेको तथ्याङ्क छ।
कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -
- ११३३
- ९८५१२५५८३९
- ९८५१२५५८३७
एम्बुलेन्स सेवाको लागि -
- १०२
यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।