तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
क्यान्सरको उपचारमा प्रयोग हुने औषधि अभाव बढ्दो, समाधानबारे सरकार 'छलफल गर्दै'
- Author, विनिता दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ४ मिनेट
क्यान्सर रोगको उपचारमा प्रयोग हुने केही औषधिहरूको अभावको समस्या समाधान गर्न तत्काल र दीर्घकालमा अपनाउन सकिने उपायबारे निरन्तर छलफल गरिरहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।
अस्पतालमा जाने बिरामीहरूदेखि उपचारमा खटिने चिकित्सक र क्यान्सरको क्षेत्रमा काम गर्ने संस्थाहरूले समेत अहिले बजारमा औषधि नपाइने समस्या झन्झन् गहिरिँदै गएको बताइरहेका छन्।
सरकारले ११ वर्षअघि निर्धारण गरेको मूल्य कायमै रहेको र पछिल्लो समय औषधिको मूल्य बढेका कारण आपूर्ति गर्न नसकिएको व्यवसायीहरूले बताउँदै आएका छन्।
सरकारले २०७२ साल जेठ २१ गतेको निर्णयअनुसार अहिले अभाव भएका औषधिहरूको मूल्य निर्धारण गरेको थियो।
अहिले अभाव भएको कार्बोप्लाटिन ४५० एमजीको त्यति बेला ४,१३०.७७ रुपैयाँ, सिस्प्लाटिन ५० एमजीको ५३२.२१ रुपैयाँ र अक्सालिप्लाटिन ५० एमजीको ४,०३५.८६ रुपैयाँ मूल्य निर्धारण गरिएको थियो।
त्यसयता औषधिका लागि प्रयोग हुने प्लाटिनमलगायतका कच्चा पदार्थको मूल्य निकै बढेको तर मूल्य समायोजन नहुँदा आफूहरूले ल्याउन नसक्ने अवस्था आएको गुनासो आपूर्तिकर्ताहरूले गर्ने गरेका छन्।
बढ्दो समस्या
वीर अस्पतालमा कार्यरत वरिष्ठ क्यान्सर विशेषज्ञ प्राध्यापक डाक्टर सन्ध्या चापागाईँले बिरामीहरूले क्यान्सरको उपचारमा प्रयोग हुने औषधिको अभाव झेल्न थालेको करिब डेढ महिनाभन्दा बढी हुन थालिसकेको बताइन्।
उनका अनुसार मुख्य समस्या अहिले कार्बोप्लाटिन, सिस्प्लाटिन र अक्सालिप्लाटिनजस्ता औषधिको अभावका कारण भएको हो, जुन निको हुने क्यान्सरमा प्रयोग हुन्छ।
"पाठेघरको मुखको क्यान्सर, टाउको र घाँटीका सबैखाले क्यान्सर, फोक्सोको क्यान्सर अनि जर्म सेल क्यान्सरको उपचारमा प्रयोग हुने यी एकदमै महत्त्वपूर्ण र जरुरी औषधिहरू हुन्," डाक्टर चापागाईँले भनिन्।
"निको हुन सक्ने क्यान्सरको उपचार औषधि अभावका कारण गर्न नपाउँदा बिरामीलाई कस्तो हुँदो हो, हामीलाई कस्तो हुँदो हो? मान्छेलाई एकदमै भोक लागेको छ खानेकुरा खानुपर्छ भन्ने थाहा छ, तर 'तिमी पानी खाऊ' भनेजस्तो भएको छ।"
उपचारमा आवश्यक औषधि खोज्न बिरामीका आफन्त विभिन्न औषधि पसलहरू धाउने गरेको र विभिन्न पसलमा धाइरहँदा पनि पछिल्ला दिनमा पाउने अवस्था खुम्चिँदै गएको उनी बताउँछिन्।
क्यान्सर बिरामीहरूको हितमा काम गर्ने संस्था नेपाल अर्बुद रोग निवारण संस्थाले पनि पछिल्ला दिनमा आफ्नो कार्यालयमा सहायताको याचना गर्दै आउने क्यान्सर बिरामीका आफन्तको सङ्ख्या ह्वात्तै बढेको जनाएको छ।
खास गरी बिरामीहरूले नेपालमा औषधि अभाव भएर उपचारमा समस्या भएको भन्दै भारत उपचारका लागि लैजाने बताउने गरेको उक्त संस्थाका महासचिव दीपेन्द्र बान्तवाले बताए।
"क्यान्सरका बिरामीका आफन्तले हामीलाई हारगुहार गरिरहनुभएको छ। तर हामी आफैँ निरीह भएर बस्नु परिरहेको छ," उनले भने।
"सरकारले यसमा कुनै पहल पनि गरेको देखिँदैन। बिरामीहरू हाम्रोमा आउनुहुन्छ अनि भारत जानुपर्यो, टिकट छुटमा मिलाइदिनुपर्यो भन्नुहुन्छ।"
समाधानको खोजी
औषधि बनाउन आवश्यक पर्ने कच्चा पदार्थको मूल्य बढ्दा औषधिको मूल्य बढेका कारण सरकारले समयसापेक्ष मूल्य समायोजन गरिदिनु नै उत्तम विकल्प हुने डाक्टर चापागाईँ ठान्छिन्।
त्यस विषयमा मन्त्रालयमा पनि गुनासाहरू आएका कारण विभिन्न सरोकारवाला पक्षसँग दैनिकजसो आफूहरू समस्या समाधानका लागि छलफलमा खटेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।
"कच्चा पदार्थको मूल्य बढेको, नेपालमा तोकिएको न्यूनतम जुन मूल्य छ, त्यसमा बजारमा औषधि ल्याउन नसकिएको भन्ने व्यवसायीको कुरा छ, अनि नेपाल र विदेशी मुद्राको सटही दरमा आएको परिवर्तन भन्ने छन्," मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले भने।
"यी सबै पक्षलाई हेरेर हामीले तोकेको मूल्यको कारणले मात्रै हो वा अन्य कारण पनि छन् र सर्वसाधारणलाई कसरी सहज रूपमा सेवा दिन सकिन्छ भनेर हामीले औषधि व्यवस्था विभाग र विभिन्न निकायसँग विभिन्न विकल्पबारे छलफल गरिरहेका छौँ।"
यसअघि पनि औषधि अभावको विषय उठेपछि मन्त्रालयले व्यवसायीहरूसँग अनुरोध गरेर कम नाफा राखेर उपलब्ध गराइदिन अनुरोध गरेको बताएको थियो। तर त्यसरी लामो समय आफूहरूले गर्न नसक्ने भन्दै आपूर्तिकर्ताले भनेपछि अहिले पुनः औषधि अभाव भएको बताइन्छ।
त्यसै कारणले बिरामीलाई सहजै औषधि उपलब्ध हुने वातावरण बनाउन मन्त्रालयले क्यान्सरका क्षेत्रमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग आउन सक्ने सहयोगबारे छलफल गरिरहेको सहप्रवक्ता अधिकारीले बताए।
"मित्रराष्ट्रहरूसँग पनि औषधिहरूको मूल्यको कुरालाई लिएर नेपाली बजारलाई सहजीकरण गर्ने कुरा पनि भएका छन्," उनले भने।
"तर एउटा मात्रै निर्णय वा एउटा मात्रै विकल्पको निष्कर्षका रूपमा अगाडि बढ्दा दीर्घकालीन हुँदैन कि भन्नेमा अलि सजग भएर काम गर्दै छ।"
नेपालमा क्यान्सरका औषधि खास गरी भारत र त्यसपछि बाङ्ग्लादेशबाट आयात हुने गरेको अधिकारीहरू बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।