कोभिड भारत: खोप अभियान चलिरहँदा हालसम्म कोभिड-१९ बाट चार लाख भन्दा बढीको मृत्यु

तस्बिर स्रोत, Getty Images
खोप कार्यक्रमलाई तीव्र रूपमा अघि बढाउन प्रयास गरिरहेको भारतमा कोभिड सम्बन्धी कारणहरूबाट मृत्यु हुनेहरूको सङ्ख्या ४००,००० नाघेको बताइएको छ।
कतिपय मृत्युको विवरण आधिकारिक सरकारी तथ्याङ्कमा समावेश नभएको हुँदा ज्यान गुमाएकाहरूको खास सङ्ख्या निकै बढी हुन सक्ने विज्ञहरूले बताएका छन्।
कोभिडका कारण धेरैको मृत्यु हुने देशहरूमा भारत अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ।
भारतमा हालसम्म तीन करोड भन्दा बढी मानिसहरू कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन् जुन अमेरिकापछिको सर्वाधिक सङ्ख्या हो।
भारतमा गत मे महिनामा सङ्क्रमणको लहर उच्च विन्दुमा रहेका बेला प्रत्येक दिन औसतमा ४००,००० जना सङ्क्रमित हुन्थे। त्यो सङ्ख्या अहिले घटेर ४०,००० भन्दा केही बढी छ।
विभिन्न राज्यहरूमा कडा लकडाउन गरिएका कारण उक्त सङ्ख्या घटेको बताइएको छ।

तस्बिर स्रोत, Getty Images
तर विज्ञहरूले भारतमा तेस्रो लहरको चेतावनी दिएका छन्।
भारतमा जनसङ्ख्याको पाँच प्रतिशत भन्दा कम मात्र सर्वसाधारणले कोभिड विरुद्धको खोपको दुवै मात्रा लगाएका छन्। त्यहाँ गत ज्यानुअरी महिनामा खोप कार्यक्रम सुरु गरिएको थियो।
सङ्घीय सरकारले सबै भारतीयलाई यो वर्षको अन्त्यसम्ममा खोप दिइसक्ने लक्ष राखेको छ तर सुस्त गति, खोप अभाव अनि खोप लगाउने विषयमा हिचकिचाहट जस्ता व्यवधानका कारण उक्त अभियान प्रभावित भएको बताइएको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर

भारतमा हाल कोभिशिल्ड र भारतमै विकास भएको कोभ्याक्सिन खोप प्रयोग गरिराखिएको छ।रुसको स्पुतनिक-भीले पनि आपतकालीन प्रयोगको अनुमति पाएको छ र यसको केही मात्रा पनि प्रयोग गरिएको छ।केही दिन अघि भारतको स्वास्थ्य मन्त्रालयले भारतीय कम्पनी सीप्लालाई मोडेर्ना खोप आपूर्ति गर्न अनुमति दिएको थियो।
उक्त खोप कोरोनाभाइरस विरुद्ध झण्डै ९५ प्रतिशत प्रभावकारी रहेको देखिएको छ।






















