कोभिड नेपाल: थप ३३ जनाको मृत्यु, २,७६० जना कोरोनाभाइरस सङ्क्रमित

Published

नेपालमा थप २,७६० जनामा कोरोनाभाइरस सङ्क्रमण र ३३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार बताएको छ। 

पछिल्लो २४ घण्टामा १०,९८५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ३,८५५ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।

कुल परीक्षणको २५ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

सो अवधिमा ४,०१७ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित ९३.७ प्रतिशत पुगेका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ७६ हजार पुगेको छ भने मृतकको सङ्ख्या ९,१४५ पुगेको छ।

अहिले कुल २८,३७४ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,९९४ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

बिहीवार पुष्टि भएका कुल सङ्क्रमितमध्ये ४१९ जना काठमाण्डू उपत्यकामा रहेका छन्।

अहिले देशभरिका १७ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २७ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

बिहीवार पुष्टि भएकामध्ये काठमाण्डूमा ३१६ जना छन् भने ललितपुर र भक्तपुरका क्रमशः ७४ र २९ जना रहेका छन्।

एक सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा झापा २४८ जना, मोरङ १७६, सुनसरी १२९ र कास्की १८९ जना रहेका छन्।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ६२९ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १८१ जना भेन्टिलेटरमा छन्।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।