कोभिड नेपाल: कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या दुई हजार, ३० जनाको मृत्यु

Published

नेपालमा थप २,०१६ जनामा कोरोनाभाइरस सङ्क्रमण र ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

पछिल्लो २४ घण्टामा ९,८१० जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ४,८०६ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।

कुल परीक्षणको २०.५ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

सो अवधिमा ४,९१४ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित झन्डै ९२ प्रतिशत पुगेका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ६४ हजार पुगेको छ भने मृतकको सङ्ख्या ८,९७५ पुगेको छ।

अहिले कुल ३९,१९९ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,८२५ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

कुल सक्रिय सङ्क्रमितमध्ये ८,४४४ जना काठमाण्डू उपत्यकामा रहेका छन्।

अहिले देशभरिका ५०० भन्दा बढी सक्रिय सङ्क्रमित हुने जिल्लाको सङ्ख्या घटेर २७ वटा रहेका छन।

थप २७ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

अहिले सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

सङ्क्रमण उच्च रहेका जिल्लाहरू

शनिवार पुष्टि भएकामध्ये सबैभन्दा धेरै १८१ जना काठमाण्डूका रहेका छन्।

मन्त्रालयका अनुसार भक्तपुरमा २५ र ललितपुरमा ४३ जना सङ्क्रमित थपिएका छन्।

शनिवार एक सयभन्दा बढी सङ्क्रमित थपिएका जिल्लाहरू कास्की (१२७) र नुवाकोट (११०) रहेका छन्।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ७३४ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २२२ जना भेन्टिलेटरमा छन्।

लिङ्गका आधारमा हेर्दा कोभिडबाट सङ्क्रमित हुनेहरूमा ३९.२ प्रतिशत महिला छन् भने ६०.८ प्रतिशत पुरुष छन्।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।