जोर्ज फ्लोइड मृत्यु प्रकरण: पूर्वप्रहरी डेरेक शोभिनलाई २२ वर्ष छ महिनाको जेल सजाय

Published

अफ्रिकी-अमेरिकी मूलका जोर्ज फ्लोइडलाई सन् २०२० को मेमा मिनिआपुलिस सहरमा हत्या गरेको आरोप लागेका अमेरिकी पूर्व प्रहरीलाई २२ वर्ष छ महिनाको जेल सजाय सुनाइएको छ।

न्यायाधीशका अनुसार डेरेक शोभिनले त्यस्तो सजाय पाउनुको कारण फ्लोइडमाथि 'उनले पदमाथिको विश्वास र अख्तियारीको दुरुपयोग गरेको र खासगरी क्रूरता देखाउनु' रहेको छ।

४८ वर्षीय फ्लोइडको मृत्यु शोभिनले नौ मिनेटभन्दा बढी समय घुँडाले घाँटी थिचेपछि भएको थियो।

विश्वभर असर

उनको हत्याले रङ्गभेद र प्रहरी बर्बरताविरुद्ध विश्वव्यापी प्रदर्शनहरू सिर्जना गरेको थियो।

४५ वर्षीय शोभिन गत महिना सेकेन्ड डिग्री हत्या र अन्य अभियोगमा दोषी ठहरिएका हुन्।

सुनुवाइका बेला उनका वकिलले उक्त हत्यालाई 'राम्रो मनसाय राख्दा भएको गल्ती' बताएका थिए।

उनले अब आजीवन हतियार राख्न समेत पाउने छैनन्।

उनी र तीन अन्य पूर्व प्रहरीहरूमाथि भिन्दाभिन्दै रूपमा फ्लोइडको नागरिक अधिकारहरूको हनन गरेको अभियोग लगाइएका थिए।

प्रतिक्रिया

फ्लोइडको परिवार र समर्थकहरूले यस फैसलाको स्वागत गरेका छन्।

फ्लोइडकी बहिनी ब्रिडगेट फ्लोइडले उक्त सजायले 'अन्ततः प्रहरी बर्बरताका विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको देखाएको' बताउँदै अझै 'अगाडिको बाटो लामो रहेको' बताएकी छन्।

राष्ट्रपति जो बाइडनले सजाय 'उपयुक्तजस्तो देखिएको' तर आफूलाई सबै कुरा थाहा नभएको स्वीकारेका छन्।

सुनुवाइका क्रममा फ्लोइडका भाइ टेरेन्स फ्लोइडले ४० वर्षको सजाय हुनुपर्ने माग गरेका थिए।

फ्लोइडकी सात वर्षीया छोरी जीआनाले एउटा भिडिओमार्फत आफ्ना बाबुको अभाव महसुस गरिरहेको बताएकी छन्।

"मैले वहाँबारे जतिखेर पनि सोधिरहन्छु," उनले भनिन्। "मेरो बुवाले सधैँ मलाई दाँत माझ्न सघाउनुहुन्थ्यो।"

न्यायाधीशले उक्त मुद्दा फ्लोइडको समुदाय र देशकै लागि र सबैभन्दा बढ्ता फ्लोइडको परिवारका लागि पीडादायी रहेको बताएका छन्।

डेरेक शोभिनले के भने?

अदालतमा शोभिनले फ्लोइड परिवारप्रति समवेदना प्रकट गरे।

उनले 'भविष्यमा केही अन्य जानकारी हुने' भन्दै 'त्यसले परिवारको आत्मालाई केही शान्ति दिने' आशा गरेको बताए।

यद्यपि उनले माफी भने मागेनन्।

अदालतमा शोभिनकी आमाले आफ्नो छोरा एक 'असल मानिस' रहेको बताइन्।