अमेरिका: सिनेटमा मतदान सुधारसम्बन्धी विधेयक विफल

Published

अमेरिकी रिपब्लिकनहरूले राष्ट्रपति जो बाइडनको प्राथमिकतामा परेको चुनावसम्बन्धी नयाँ नियमको लागु गर्ने प्रयासलाई विफल बनाइदिएका छन्।

हुलाकबाट गरिने मतदानलाई सहज बनाउने उक्त विधेयक दलीय आधारमा मत विभाजन हुँदा पक्ष र विपक्षमा समान ५०-५० मत खसेपछि अवरुद्ध भएको हो।

बाइडनले त्यो उनको 'राष्ट्रपतीय कार्यकालको लडाइ' भएको बताएका छन् र डेमोक्र्याट्सहरूले पर्याप्त मेहनत नगरेको आरोप उनीमाथि लगाएका छन्।

उक्त विधेयकको पक्षमा वकालत गरिरहेकाहरूले त्यसले सन् १९६५ को मतदान अधिकारसम्बन्धी ऐन यताकै सबैभन्दा दीर्घकालीन प्रभाव पार्ने धारणा राखेका थिए।

विवाद किन

हाउस अफ रिप्रिजेन्टेटिभ भनिने अमेरिकी तल्लो सदनमा गएको मार्चमा डेमोक्र्याटहरूले ल्याएको 'फर द पिपुल एक्ट' लगभग दलीय आबद्धताका आधारमा सांसदहरू उभिएपनि पारित भएको थियो।

त्यसक्रममा विधेयकको विपक्षमा उभिएका रिपब्लिकनहरूलाई एक जना डेमोक्र्याटले साथ दिएका थिए।

मत विभाजनतर्फ १०० सदस्य सिनेटमा अधिकांश कानुनका प्रस्ताव अघि बढ्न ६० मत आवश्यक पर्छ र माथिल्लो सदनमा दुई दलबीचको विभाजन ५०-५० रहेको छ।

चुनाव सुधारका लागि ह्वाइट हाउसबाट जिम्मेवारी पाएकी उपराष्ट्रपति कमला ह्यारिसले विधेयक विफल हुँदा बैठकको अध्यक्षता गरिरहेकी थिइन्। उनले लडाइ अझै नसिएको बताइन्।

चुनावको दिन अगावै गरिने मतदानलाई विस्तार गर्ने बाहेक उक्त कानुनले चुनावी अभियानमा दिइएका चन्दा सहितका योगदानलाई थप पारदर्शी बनाउन र निर्वाचन क्षेत्रहरू निर्धारण गर्दा दलीय प्रभाव कम हुने कुरा सुनिश्चित गर्ने डेमोक्र्याटहरूले बताएका थिए।

राष्ट्रपतिको दलले ९०० पृष्ठ लामो उक्त प्रस्तावित व्यवस्थाले अश्वेत मतदाताहरूको अधिकार पनि सुनिश्चित गर्ने उल्लेख गरेको थियो।

तर रिपब्लिकनहरूले व्यक्तिको अधिकारलाई कुण्ठित गर्दै सङ्घीय सत्ता कब्जा गर्ने प्रस्तावका रूपमा डेमोक्र्याटहरूलाई राजनीतिक रूपमा लाभ पुग्ने गरी उक्त कानुन ल्याइएको टिप्पणी गरेका छन्।

यो विधेयकले भोगेको जटिलताले डेमोक्र्याटहरूलाई सिनेटमा प्रयोग हुने 'फिलिबस्टर' भनिने रणनीतिलाई सदाका लागि अन्त्य गर्दै ५१ मतको साधारण बहुमतले विधेयकहरू पारित हुने व्यवस्था गरिनुपर्ने आफ्नो माग पुन: सम्झाएको छ।

उदारवादीहरूको अपेक्षा यस्तो थियो

तर कम्तीमा दुई जना डेमोक्र्याटिक दलका सिनेटरहरू वेस्ट भर्जिनियाका जो मानचिन र एरिजोनाकी क्रिस्टन सिनेमा सिनेटको उक्त नियम खारेजीको स्पष्ट विपक्षमा उभिएका छन्।

बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्कर भन्छन् उक्त मतदानको अधिकारसम्बन्धी विधेयक सिनेटमा यसरी समाप्त हुनेछ भन्नेमा खासै शंका थिएन।

तर ठूलो सङ्ख्या उदारवादीहरूले जो बाइडन र उनको प्रशासनले प्रस्तावित कानुनलाई प्रवर्द्धन गर्न अझ बढी प्रयास गरेको हेर्न चाहान्थे।

राष्ट्रपतिले आफ्नो सम्बोधनहरूमा प्रस्तावित विधेयकका फाइदा बुझाउने यदि थप मजबुत प्रयास गरेका थिए भनेपनि रिपब्लिकनहरूको दृष्टिकोण बद्लिने सम्भावना नरहेको जर्कर बताउँछन्।

उनका अनुसार विधेयकमा समर्थन जुटाउने प्रयास असफल भएको खण्डामा सिनेटको नियमहरू परिवर्तन भएको हेर्ने चाहना उदारवादीहरूको थियो।