कोभिड नेपालः थप ४५ सय जनामा कोरोना भाइरस सङ्क्रमण, ४१ जनाको मृत्यु

Published

नेपालमा ४,५०० जनाभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको तथा ४१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार अहिले थपिएका सङ्क्रमितको तथ्याङ्कमा धवलागिरि अस्पतालमा पहिला पुष्टि भएका सङ्क्रमितको सङ्ख्या पनि समाविष्ट छ।

पीसीआर र एन्टिजन विधिबाट परीक्षण गर्दा तथा पुरानो तथ्याङ्क समायोजन गर्दा ४,५२२ जना सङ्क्रमित बढेको देखिएको हो।

मन्त्रालयका अनुसार अहिले सार्वजनिक गरिएको मृतकको तथ्याङ्कमा विभिन्न मितिमा मृत्यु भएका व्यक्तिको सङ्ख्या पनि समाविष्ट छ।

केही सातायता काठमाण्डू उपत्यका र देशभरि फेला पर्ने सङ्क्रमितको सङ्ख्या ओरालो लागेको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ४,९५४ जना सङ्क्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार अहिले काठमाण्डू जिल्लामा ३१० जना, ललितपुर जिल्लामा ९९ र भक्तपुरमा ६७ जनामा कोभिड पुष्टि भएको हो।

जटिल समस्या भएका बिरामीहरूको अस्पतालमा सघन उपचार कक्ष र भेन्टिलेटरमा उपचार भइरहेको छ।

सङ्क्रमितमध्ये अहिले ७६१ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र २१८ जना भेन्टिलेटरमा छन्।

नेपालमा कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ८,८०० नाघेको छ।

सरकारी तथ्याङ्कअनुसार २५ लाख जनाभन्दा बढीले कोभिडविरुद्ध खोपको पहिलो मात्रा प्राप्त गरेका छन् भने ७ लाख ३१ हजार भन्दा बढीले दोस्रो मात्रा प्राप्त गरेका छन्।

लिङ्गका आधारमा हेर्दा कोभिडबाट सङ्क्रमित हुनेहरूमा ३९.१८ प्रतिशत महिला छन् भने ६०.८२ प्रतिशत पुरुष छन्।

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा अहिले पुष्टि भएका सङ्क्रमितहरू विभिन्न उमेर समूहका देखिन्छन्।

तीमध्ये २१ वर्षदेखि ४० वर्षसम्मका मानिसको सङ्ख्या सर्वाधिक छ।

के छ भारतको स्थिति?

नेपालसँग सीमा जोडिएको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ।

त्यहाँ कोभिडबाट मृत्यु हुने मानिसको सङ्ख्या तीन लाख ८९ हजार नाघेको छ। तर केही सातादेखि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ।

सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा छन् जहाँ ५९ लाख ७९ हजार जनाभन्दा बढी सङ्क्रमित छन्।

नेपालसँग जोडिएका राज्यमध्ये उत्तर प्रदेशमा १७ लाख चार हजार, पश्चिम बङ्गालमा १४ लाख ८३ हजार, बिहारमा सात लाख १९ हजार र उत्तराखण्डमा तीन लाख ३८ हजारभन्दा केही बढी मानिस कोभिडबाट पीडित छन्।

भारत सरकारका अनुसार अहिलेसम्म २.९९ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।

भारतमा मङ्गलवार बिहानसम्मको तथ्याङ्क

  • निकोः २,८९,२६,०३८ (९६.३६%)
  • सक्रिय सङ्क्रमणः ६,६२,५२१ (२.२१%)
  • मृत्युः ३,८९,३०२ (१.३०%)

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

यो पनि हेर्नुहोस्