कोभिड नेपाल: थप २४ सयमा कोरोना भाइरस अनि ३४ जनाको मृत्यु, भारतमा केही महिनामै तेस्रो लहर 'देखा पर्न सक्ने'

Published

नेपालमा थप २,४०१ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको र ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा ११,६९६ जनाको पीसीआर र एन्टिजन परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेको शनिवार मन्त्रालयद्वारा प्रकाशित विवरणमा उल्लेख छ।

सो अवधिमा ३,६६० जना सङ्क्रमणमुक्त भएको मन्त्रालय जनाएको छ।

अहिले पुष्टि भएका मृतकको सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका सङ्क्रमितको तथ्याङ्क पनि समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ६ लाख ४५ हजार २०९ र मृतकको सङ्ख्या ८,६७५ पुगेको छ।

अहिले पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ८७४ जना आईसीयूमा र २५८ जना भेन्टिलेटरमा छन्।

यतिखेर ४२ जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सयभन्दा धेरै रहेको छ।

पीसीआर परीक्षण गराएका ७ हजार १० जनामध्ये सङ्क्रमण पुष्टि हुने दर १९ प्रतिशत रहेको छ।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

के छ भारतको स्थिति?

भारत सरकारले शनिवार बिहान प्रकाशित गरेको तथ्याङ्कमा विगत २४ घण्टामा झन्डै १९ लाखवटा नमुनाको परीक्षण हुँदा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६०,७५३ देखिएको छ।

भारतमा दैनिक लगातार एक लाखभन्दा कम सङ्क्रमित पाइएको यो बाह्रौँ दिन हो।

विश्वव्यापी महामारीको केन्द्रमा रहेको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ।

सक्रिय सङ्क्रमितको सङ्ख्या क्रमशः घट्न थालेको सरकारी तथ्याङ्कले देखाउँछ। तर विज्ञहरू फेरि अर्को लहर आउन सक्ने चेतावनी दिएका छन्।

कोभिडसँग सम्बन्धित कारणले थप १,६४७ जनाको मृत्यु भएसँगै भारतमा यो महामारीमा ज्यान गुमाउनेको सङ्ख्या तीन लाख ८५ हजार नाघिसकेको छ।

चौबीस घण्टाको अवधिमा परीक्षण गरिएका मानिसमा कोरोनाभाइरस भेटिने दर घटेर ३.१९ % भएको सरकारी तथ्याङ्कमा उल्लेख छ।

भारत सरकारका अनुसार अहिलेसम्म २.९८ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।

भारतमा अक्टोबरमा 'तेस्रो लहर आउन सक्ने'

समाचारसंस्था रोयटर्सले स्वास्थ्य विशेषज्ञहरूसँग गरेको एक सर्वेक्षणमा ८५ प्रतिशत सहभागीले कोभिडको तेस्रो लहर भारतमा अक्टोबरमा देखिन सक्ने ठानेको पाइएको छ।

चालीस विज्ञ सहभागी उक्त सर्वेक्षणमा झन्डै दुईतिहाइले उक्त लहरमा बालबालिका र १८ वर्ष मुनिका मानिस सबैभन्दा जोखिममा हुने कुरा स्वीकारेका छन्।

तर विज्ञहरूले उक्त लहर नियन्त्रण गर्न सकिने खालको हुने बताउँदै कोभिड अझ एक वर्षका लागि खतराका रूपमा रहने बताएका छन्।

जुन १३ देखि १७ बीचमा गरिएको उक्त सर्वेक्षणमा विश्वभरिका स्वास्थ्य स्याहार विशेषज्ञ, चिकित्सक, वैज्ञानिक, भाइरसविद्, इपिडिमियोलजिस्ट र प्राध्यापकहरू छन्।

उल्लेख्य रूपमा खोप कार्यक्रम अघि बढेका कारण नयाँ लहरको प्रभाव केही कम हुने उनीहरूले बताएका छन्।

यो पनि हेर्नुहोस्