तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रदेश सांसद नरोत्तम वैद्यको विवादास्पद अभिव्यक्ति फिर्ता
शुक्रवार प्रदेश सभा बैठकमा विवादास्पद अभिव्यक्ति दिएका नेपाली कांग्रेसका प्रदेश सभा सांसद नरोत्तम वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएको बताएका छन्।
उनले शनिवारको संसद् बैठकमा सभामुखसँग समय लिएर आफ्नो शुक्रवारको अभिव्यक्तिप्रति आफ्नो आत्मालोचना पढेर सुनाएका थिए।
"आफ्नो कुरा पोख्ने सिलसिलामा आवश्यकताभन्दा बढी नै स्वतन्त्रताको उपभोग गरेको आफूलाई अनुभव भएको" उनले संसद्मा बोल्ने क्रममा बताएका थिए।
उनले आफ्नो लिखित आत्मालोचना संसद्मा पढेर सुनाएका थिए।
विरोधहरूपछि वैद्यले शनिवार उक्त अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन सभामुखलाई आग्रह गरेको एक विज्ञप्तिमार्फत् जनाएका छन्।
सो विज्ञप्तिमार्फत् उनले शुक्रवारको आफूले बोलेका 'केही शब्दहरू आपत्तिजनक र संसदीय मर्यादा विपरीत भएको महसुस गरेको' जनाएका छन्।
वैद्यले प्रदेश संसद्मा बोल्ने क्रममा शुक्रवार ओलीको आलोचना गर्दै देश बचाउन 'कोही नाथुराम गोडसे आवश्यक परेको' बताएका थिए।
उनले संसद्मा थप भनेका थिए- "कोही नाथुराम गोडसे बन्न तयार छैन भने म बन्ने कि!"
गोडसे भारतीय नेता महात्मा गान्धीलाई गोली हानी हत्या गर्ने व्यक्ति हुन्।
उनको अभिव्यक्तिले चर्को विवाद निम्त्याएको थियो।
वैद्यको पार्टी तथा मुख्य विपक्षी नेपाली कांग्रेसले विज्ञप्ति जारी गर्दै आफ्ना सांसद वैद्यलाई अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको थियो।
नेकपा (एमाले)ले आफ्नो पार्टीका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीप्रति शुक्रवार एक विवादित अभिव्यक्ति दिएका बागमती प्रदेशसभा सदस्य रहेका नरोत्तम वैद्यको भनाइ 'आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय' रहेको भनेको थियो।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीद्वारा शनिवार जारी विज्ञप्तिमा त्यस्तो अभिव्यक्ति 'मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय' भएको आफूहरूको ठानेको जनाइएको थियो।
कांग्रेसले के भन्यो?
शनिवार नै नेपाली कांग्रेसले एक विज्ञप्ति निकाल्दै आफ्ना सांसद वैद्यलाई उक्त 'अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न' भनेको थियो।
उक्त विज्ञप्तिमा पार्टी प्रवक्ताले 'अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै नभएको'मा नेपाली कांग्रेस प्रस्ट रहेको जनाएका थिए।
बीबीसीसँग बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले भनेका थिए, "वहाँले गल्ती गर्नु भएकै हो, गल्ती बोल्नु भएकै हो।"
उनको अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा पनि चर्को आलोचना प्रकट भएको छ।