तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल: थप ५९ जनाको मृत्यु, भारतमा मृतकको सङ्ख्या हजारौँले वृद्धि
नेपालमा थप ३,७४९ जनामा कोभिड-१९ पुष्टि भएको सरकारले बताएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २४ घण्टापछि बिहीवार अपराह्ण प्रकाशित गरेको तथ्याङ्कमा थप ५९ जनाको कोभिडका कारण मृत्यु भएको पुष्टि गरिएको छ। तर मृतको सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिएका कोरोनाभाइरस सङ्क्रमितको तथ्याङ्क पनि समाविष्ट छ।
कुल १५,२३८ वटा नमुना परीक्षण गर्दा त्यति सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो।
मन्त्रालयका अनुसार ५,३३७ वटा नमुनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८७५ जनामा सङ्क्रमण पुष्टि भएको हो। यसबाट सङ्क्रमण पुष्टि हुने दर २४.६ प्रतिशत भएको देखिन्छ।
थप ५,२९३ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। बुधवार मन्त्रालयले ४,३४४ जनामा सङ्क्रमण र ८१ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।
के छ अरू तथ्याङ्क?
अहिले देशभरि ७७,८५८ जनामा सक्रिय सङ्क्रमण छ।
नेपालमा पीसीआर विधिबाट परीक्षण गर्दा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या छ लाख नाघेको छ। एन्टिजन परीक्षणबाट पनि १७,७१४ जनामा कोभिड देखिएको छ।
अहिलेसम्म ५,१५,००० जनाभन्दा केही बढी अर्थात् ८५.७ प्रतिशत सङ्क्रमित निको भइसकेका छन्।
कोभिडका कारण अहिलेसम्म कुल ८,२३८ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुने सङ्क्रमितको प्रतिशत १.६ छ भने बाँकी सक्रिय सङ्क्रमित छन्।
अहिले थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाण्डू जिल्लाका ५४० जना छन्।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर
सबै जिल्लामा सक्रिय सङ्क्रमित रहेको र तीमध्ये काठमाण्डूमा १०,५२७ जना, भक्तपुरमा ३०९१ जना र ललितपुरमा ४,१७३ जना गरी कुल १७,७९१ जना भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले ७२,१७८ सङ्क्रमित घरमै र संस्थागत आइसोलेशनमा ५,६८० जना छन्।
त्यसैगरी गम्भीर बिरामीमध्ये १,२६१ जना आईसीयूमा र ३८२ जना भेन्टिलेटरमा भएको तथ्याङ्कले देखाउँछ।
भारतमा ६ हजार जनाभन्दा बढीको मृत्यु
बीबीसी हिन्दीका अनुसार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीवार बिहान प्रकाशित गरेको विवरणअनुसार विगत २४ घण्टामा त्यहाँ ९४,०५२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भयो।
सरकारी तथ्याङ्कअनुसार भारतमा थप ६,१४८ जनाको कोभिडका कारण निधन भएको छ।
भारतमा एकैदिन मृत्यु पुष्टि भएको यो सबैभन्दा बढी सङ्ख्या हो।
बिहार राज्य सरकारले त्यहाँ कोभिडका कारण मृत्यु भएका व्यक्तिको तथ्याङ्क परिमार्जन गरेकाले मृतकको सङ्ख्या ह्वात्तै बढेको बताइन्छ।
बिहारमा अहिले कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ९,४२९ पुगेको आधिकारिक तथ्याङ्क छ।
तर बुधवारसम्म ५,४७८ जनाको मात्र मृत्यु भएको तथ्याङ्क थियो। अहिले अतिरिक्त ३,९५१ जना पनि मृतकको कुल सङ्ख्यामा थपिएका छन्।
त्यसले देशभरिको मृतकको सङ्ख्या बढ्न गएको हो। भारतमा अहिले कोरोनाभाइरसका कारण ३,५९,६७६ जनाको निधन भइसकेको छ।
भारतमा बुधवार साँझ ७ बजेसम्ममा २४ करोड जनाभन्दा बढीले कोरोनाभाइरसविरुद्ध खोप लगाइसकेका छन्।
कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -
- ११३३
- ९८५१२५५८३९
- ९८५१२५५८३७
एम्बुलेन्स सेवाको लागि -
- १०२
यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।