कोभिड नेपाल: थप १०८ जनाको मृत्यु, ५१ सय जनामा कोरोना भाइरस पुष्टि

Published

नेपालमा विगत २४ घण्टामा ५,१५३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मङ्गलवार मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार थप १०८ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको उल्लेख छ।

कुल १७,६७६ वटा नमुनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन्।

थप ६,५७० सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

नेपालमा पीसीआर परीक्षणबाट कुल सङ्क्रमित सङ्ख्या पाँच लाख ९५ हजार नाघेको छ। अहिलेसम्म पाँच लाखभन्दा बढी सङ्क्रमितहरू निको भइसकेका छन्।

कुल सङ्क्रमितमध्ये ८४.७ प्रतिशत निको भएका छन् भने १.६ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ। बाँकी सक्रिय सङ्क्रमित छन्।

अहिलेसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ८,०९८ पुगेको छ।

मन्त्रालयका अनुसार अहिले मृत्यु पुष्टि भएका मानिसको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएको शवको सङ्ख्या पनि समाविष्ट छ।

अहिले काठमाण्डूमा ११,४२३ जना, ललितपुरमा ३,४५४ र भक्तपुरमा ४,५०१ जनामा सक्रिय सङ्क्रमण छ।

देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये ७६,५५० जना घरमै, ६,१८६ जना संस्थागत आइसोलेशनमा र बाँकी अस्पतालमा भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार अहिले देशका विभिन्न स्थानमा १,३२१ जना आईसीयूमा र ३७२ जना भेन्टिलेटरमा छन्।

किन एन्टिजन परीक्षणको तथ्याङ्क समावेश गरिएको छैन?

नेपालमा केही सातादेखि कोरोनाभाइरस सङ्क्रमणसम्बन्धी विवरण सार्वजनिक गर्दा सरकारले पीसीआर र एन्टिजन दुवै विधिबाट गरिएको परीक्षणको तथ्याङ्क दिने गरेको छ।

तर दैनिक रूपमा सामाजिक सञ्जालमार्फत् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गर्ने गरेको एन्टिजन परीक्षणको विवरण अन्य कतिपय आधिकारिक प्रतिवेदनमा तत्काल समाविष्ट भइरहेको पाइँदैन। त्यस्तै मन्त्रालयको 'कोभिड-१९ रेस्पोन्स वेब पोर्टल'मा पनि एन्टिजन परीक्षणको विवरण त्यसै दिन राखिएको हुँदैन।

उदाहरणका लागि, सोमवार नेपालमा पीसीआर र एन्टिजन दुवै परीक्षणबाट ४,४७२ जनामा सङ्क्रमण देखिएको थियो।

त्यसमध्ये पीसीआर विधिबाट परीक्षण गर्दा ३,३७० जनामा सङ्क्रमण देखिएको हो भने १,१०२ जनामा एन्टिजन विधिबाट।

तर सोमवार 'कोभिड-१९ रेस्पोन्स वेब पोर्टल' (https://covid19.mohp.gov.np/) नयाँ थपिएका सङ्क्रमितको विवरणमा पीसीआर विधिबाट परीक्षण गर्दा सङ्क्रमित पाइएका ३,३७० जनाको विवरण मात्र उल्लेख छ।

के भन्छन् अधिकारी?

सरकारी विवरणमै सङ्क्रमितको विवरण फरकफरक हुनुलाई कतिपयले शङ्काको दृष्टिले समेत हेरेका छन्।

यद्यपि सरकारी अधिकारीहरूले अहिले आधिकारिक विवरणमा समावेश नभएको एन्टिजनको तथ्याङ्क क्रमश: समावेश हुँदै जाने जानकारी दिएका छन्।

विवरणमा तथ्याङ्क फरक परेकोबारे राखिएको जिज्ञासामा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले भने, "हामी सङ्कलन गर्दैछौँ। नाम, उमेर, ठेगान, लिङ्ग सबै चाहियो नि त। यो पूरा प्राप्त नहुँदासम्म अथवा 'डिटेल लाइनलिस्टिङ' भन्छौँ हामी, त्यो प्राप्त नहुन्जेल उल्लेख नभएको हो।"

एन्टिजन परीक्षण गर्दा ती विवरण राखिएका हुँदैनन् त? भन्ने प्रश्नमा उनी भन्छन्, "रिपोर्ट राखिएको हुन्छ। तर एन्टिजन परीक्षणबाट तत्कालै नतिजा आउने भएकाले यति जनाको परीक्षणमा यस्तो देखियो भन्ने विवरण आइहाल्छ तर पूर्ण विवरण आउन समय लाग्छ। विभिन्न स्थानबाट तथ्याङ्क र विवरण आउनमा समय लागेको भएकाले अहिले दिनदिनैको राखिएको छैन।"

उनका अनुसार अहिले एन्टिजन परीक्षण भएकामध्ये केहीको मात्र प्रतिवेदन आधिकारिक विवरणमा समावेश भएको छ।

पौडेलले भने, "एन्टिजन परीक्षण ११/१२ लाख पुगिसकेको छ, तर बल्ल ७५,००० को रिपोर्ट आएको छ। त्यसमा पनि पूरा लाइनलिस्टिङ आइसकेको छैन।"

एन्टिजन परीक्षण कति विश्वसनीय?

कतिपयले एन्टिजन परीक्षण विश्वसनीय नभएर पो सरकारको आधिकारिक विवरणमा समावेश नगरिएको हो कि भन्ने जिज्ञासा राखेको पनि पाइएको छ।

तर डा. पौडेलका भनाइमा एन्टिजन परीक्षण किटहरू अमेरिकी वा युरोपेली नियामक निकायबाट प्रमाणित भएका प्रयोग भइरहेकाले त्यस्तो शङ्का गर्नुपर्ने ठाउँ छैन।

उनले मन्त्रालयले दैनिक भाइबर र फेसबुकमा सार्वजनिक गर्ने विवरणमा समेत उक्त तथ्याङ्क आधिकारिक विवरणमा किन समावेश गरिएको छैन भन्ने उल्लेख गरिएको बताए।

पौडेलले एन्टिजन परीक्षणको स्रोत अर्थात् पालिकाहरूसम्मबाट परीक्षण गरिएको व्यक्तिको पूर्ण विवरण आएपछि मात्र त्यो आधिकारिक विवरणमा समावेश हुने जानकारी दिए।

त्यस्तो तथ्याङ्क आइरहेको र क्रमश: आधिकारिक विवरणमा पनि समावेश हुने उनको भनाइ छ।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।