तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नामले तपाईँको व्यक्तित्वलाई कसरी प्रभावित पार्छ
- Author, क्रिस्टियन ज्यारेट
- Role, बीबीसी फ्यूचर
- Published
आफ्ना आमाबुबाले विभिन्न किसिमले कस्तो प्रभाव छाड्नुभयो भनेर तपाईँ घोत्लिनुभएको हुनसक्छ। उहाँहरूको न्यानोपन र कडाइ अनि उदारता र जोडबल सम्झिनुभएको हुनसक्छ।तर सम्भवतः उहाँहरूले दिएको एउटा महत्त्वपूर्ण उपहारका बारेमा तपाईँले धेरै विचार नगर्नु भएको पनि हुनसक्छ। त्यो तपाईँको नाम हो। अधिकांश अभिभावकहरू आफ्ना सन्तानको नाम के राख्ने भनेर चिन्तित हुन्छन्। यो रचनात्मकताको परीक्षण भएजस्तो हो। अथवा आफ्नो व्यक्तित्व र पहिचान अर्को पुस्तामा अभिव्यक्त गर्ने शैली हो।तर म जस्ता धेरै आमाबुबाले पूर्ण रूपमा विचार नगरेको कुरा के हो भने सन्तानको नामको छनोटले ती बच्चालाई अरूले हेर्ने दृष्टिकोण निर्माण गर्न र अन्ततः ती बालबालिका कस्तो व्यक्ति बन्छन् भन्ने निर्धारण गर्न भूमिका खेल्छ।"एउटा व्यक्तिलाई पहिचान गर्न र दैनिक रूपमा ऊसँग सम्पर्क गर्न प्रयोग गरिने भएकाले विशेष गरी अरूसँगको सम्बन्धलाई लिएर स्वयंको आधारभूत मान्यतासँग नाम जोडिएको हुन्छ," नामको मनोविज्ञानबारे अध्ययन गर्ने एरिजोना विश्वविद्यालयका मनोविज्ञ डेभिड चुले भने। हाम्रो व्यक्तित्वलाई धेरै विषयले निर्धारण गर्छन्। त्यसमा अनुवंशको पनि केही प्रभाव हुन्छ।आफूलाई दह्रोसँग प्रभावित पार्ने अनुभवहरूले हामी कोसँग घुलमिल हुन्छौँ र अन्ततः कार्यस्थल वा परिवारमा कस्तो भूमिका निर्वाह गर्छौँ भन्नेमा ठूलो भूमिका खेल्छन्।यस्तोमा जन्मदेखि सामान्यतया बाँचुन्जेल सम्मका लागि प्राप्त हुने नामले पार्ने प्रभाव सहजै भुल्न पनि सकिन्छ।
अध्ययनहरूले के देखाएका छन्?
व्यक्तिवादी मनोविज्ञानका एक जना संस्थापक गोर्डन अल्पटले सन् १९६१ मा हाम्रो जीवनभर रहने स्वयं पहिचानको सबैभन्दा महत्त्वपूर्ण स्तम्भका रूपमा नामलाई व्याख्या गरेका थिए।
आधारभूत तहमा नामले हाम्रो जाती वा अरू पृष्ठभूमिबारे बताउन सक्छ। खासगरी सामाजिक पूर्वाग्रहका कारण त्यस्तो पहिचानको परिणाम पनि देखिनसक्छ। सन् २००१ को सेप्टेम्बर ११ मा न्यूयोर्कमा गरिएको आतङ्कवादी हमलापछि अरेबिक सुनिने नाम भएका व्यक्तिहरूलाई श्वेत सुनिने नाम भएका व्यक्तिको तुलनामा कम रोजगारीको अन्तरवार्तामा बोलाइएका अमेरिकी अनुसन्धानले देखाएको थियो।
एउटै संस्कृतिभित्र पनि आम रूपमा प्रयोग गरिने वा दुर्लभ खालका नामहरू हुन्छन् जसको निश्चित सकारात्मक वा नकारात्मक अर्थ हुनसक्छ। कतिपय नाम नरुचाइन सकिन्छ वा चल्तीमा नहुन सक्छन्। यस्ता विशेषताले अरूले हामीलाई कसरी व्यवहार गर्छन् र हामी आफ्नोबारेमा कस्तो महसुस गर्छौँ भन्ने पनि देखाउँछ।
अमेरिकी मनोवैज्ञानिक जीन टेवङ्गीको नेतृत्वमा सन् २००० को दशकमा भएको अध्ययनले परिवारको पृष्ठभूमि र जीवनप्रतिको सामान्य असन्तुष्टि नियन्त्रणमा भए पनि आफ्नो नाम नरुचाउने व्यक्तिहरूको मानसिक तनाव व्यवस्थापन क्षमता कमजोर भएको जस्तो देखाएको थियो।
या त आत्मविश्वासको अभाव र कमजोर आत्मबलका कारण उनीहरूले आफ्नो नाम नरुचाएको वा नाम नरुचाएका कारण उनीहरूमा आत्मविश्वासको अभाव भएको भन्दै टेवङ्गी र उनका सह लेखकहरूले लेखेका थिए, "नाम स्वयंको प्रतीक बन्छ।"
अस्वीकारको जोखिम
सन् २०११ मा गरिएको एउटा डेटिङ वेबसाइटमा गरिएको जर्मन अध्ययनका क्रममा नामका आधारमा डेट गर्न चाहने सम्भावित व्यक्तिको चयनबारे सोधिएको थियो।
त्यसमा चल्तीमा रहेका एलेक्जेन्डर जस्ता नामको तुलनामा उस बेला अलोकप्रिय रहेका केभीन जस्ता नाम भएका अस्वीकृत हुने सम्भावना बढी रहेको पाइएको थियो।
जर्मनीमै गरिएका नयाँ अध्ययनमा नकारात्मक भनिएका नाम भएका नचिनेका व्यक्तिले अपरिचित तर सकारात्मक नाम भएका व्यक्तिभन्दा मानिसहरूबाट कम मद्दत पाउने सम्भावना रहेको देखाएको छ।
पटक पटक नामकै कारणले अस्वीकृत भएपछि न्यानोपन दर्साउन वा विश्वास गर्न कठिन हुनसक्छ।
डेटिङसँग सम्बन्धित अध्ययनले पनि चल्तीका नाम नभएका र अस्वीकार गरिएका अधिकांश व्यक्तिहरू कम शिक्षित रहेको र कमजोर आत्मबल रहेको देखाएको थियो।
अलोकप्रिय वा नकारात्मक सुनिने नामको घातक प्रभावलाई एउटा हालैको अध्ययनले सङ्केत गरेको छ।
बेइजिङ इन्स्टिच्यूट अफ साइकोलोजीका हुवाजीन चाइ र उनका सहकर्मीहरूले अपराधमा दोषी ठहर हुने जोखिम भएका दशौँ हजार व्यक्तिका नामको परीक्षण गरेका थिए।
जनसङ्ख्यासँग जोडिएका कारण र त्यसले पार्ने प्रभावलाई अलग राखेर हेरिएको उक्त अध्ययनमा कम चल्तीमा रहेका वा बढी नकारात्मक अर्थ दिने (उदाहरणका लागि औसतमा कम न्यानो वा नैतिक बुझाउने) नाम भएका व्यक्तिहरू अपराधमा बढी संलग्न भएको पाइएको थियो।
कम स्वीकारोक्ति भएका कारण आपराधिक गतिविधितर्फ त्यस्तो आकर्षण भएको हुनसक्छ।
चाइका अनुसार हाम्रो नामले परिणाम निम्त्याउँछन् किनभने आफ्नोबारेमा हामी कस्तो महसुस गर्छौँ वा अरूले कस्तो व्यवहार गर्छन् त्यो नामले निर्धारण गर्छ। “राम्रो वा नराम्रो नामले राम्रो वा नराम्रो परिणाम दिने सम्भावना छ। त्यही भएर म आफ्ना सन्तानलाई आफ्नो संस्कृति अनुसारको सकारात्मक नाम दिन अभिभावकहरूलाई सल्लाह दिन्छु।”
सकारात्मक प्रभाव पनि छन्
हालैका कतिपय अध्ययनले नामका सकारात्मक प्रभावको पनि चर्चा गरेका छन्।
उदाहरणका लागि सहजै बग्ने मर्ला जस्ता नाम भएका व्यक्तिहरूका बारेमा मानिसहरूले अवरोध सहित सुनिने एरिक वा किर्क जस्ता नाम भएका व्यक्तिको तुलनामा सुरुमै धारणा बनाउने र सहजै सहमत हुने विश्वास व्यक्त गर्न सक्छन्।
त्यसबाहेक चल्तीको नाम नहुँदा तत्कालमा नोक्सान भएपनि दीर्घकालमा बढी व्यक्तिगत विशेषताको बुझाइले लाभ दिनसक्छ।
चाइ र उनको टोलीको अध्ययनले दुर्लभ खालका नाम भएका व्यक्तिहरू अस्वाभाविक पेसा जस्तै चलचित्र निर्देशक वा न्यायाधीश जस्ता जीवन वृतिमा जोडिएको पाएको थियो।
एरिजोना विश्वविद्यालयका चु भन्छन् अस्वाभाविक नाम भएकै कारण बढी रचनात्मक र खुला सोच बनाउन हामीलाई सघाउन सक्छ।
उनको टोलीले एक हजार भन्दा बढी फर्मका प्रमुख कार्यकारीहरूको नाम जाँच गरेको थियो। चाइले जस्तै विश्लेषण सुनाउँदै उनले भने, “अस्वाभाविक नाम भएका सिइओहरूले आफू अरू भन्दा फरक रहेको विश्वासको विकास गरेर अरूलाई परम्परागत भन्दा फरक रणनीति लागु गराउन सक्छन्, “ उनले भने।
तपाईँ सम्भावित अभिभावक हो भने चल्तीको नाम राख्ने कि रचनात्मक रूपमा अरूभन्दा फरक नाम दिने सोचिरहनुभएको होला।
त्यस्ता छनोटका फाइदा वा बेफाइदा दुवै हुने भन्दै चु अभिभावकहरूले दुवैलाई ध्यान दिनुपर्ने बताउँछन्।
चल्तीको नाम र त्यसलाई सहजै बदलेर विशेषतायुक्त बनाउन सकिने गुण सम्भवतः उत्कृष्ट सम्मिश्रण हुनसक्छ।
चुले आफ्ना सन्तानलाई उसको नियमित नाम बाहेक विशेषता जनाउने खालको बोलाउने नाम दिन पनि सुझाव दिन्छन्।
*क्रिस्टियन ज्यारेट विज्ञान लेखक हुन्। उनले ‘बी हु यु वान्ट: अनलकिङ द साइन्स अफ पर्सनालिटी चेन्ज’ पुस्तक लेखेका छन्।