तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इटली केबल कार दुर्घटनाः मृतकको सङ्ख्या १४ पुग्यो
उत्तरी इटलीस्थित माजिओरी तालनजिकै एउटा केबल कार खस्दा १४ जनाको मृत्यु भएको उद्धार कार्यमा संलग्न अधिकारीहरूले जनाएका छन्।
मृतकमध्ये कम्तीमा एक बालक छन्। अर्का एक बालक गम्भीर घाइते भएको बताइएको छ।
स्थानीय आपत्कालीन सेवासम्बन्धी निकायहरूका अनुसार स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेको केबल कार दुर्घटनामा परेको हो।
अल्पाइन रेस्क्यू र आपत्कालीन हेलिकप्टर सेवालाई उद्धारका लागि खटाइएको थियो।
सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा दुर्घटनाग्रस्त केबलकार जङ्गलको भिरालो ठाउँमा खसेको देखिन्छ।
मृतकमध्ये अधिकांशको घटनास्थलमै ज्यान गएको थियो।
पाँच जना इजरेली नागरिकको पनि मृत्यु भएको इजरेलको विदेश मन्त्रालयले जनाएको छ।
जीवित फेला परेका पाँच र नौ वर्षका दुई जनालाई हेलिकप्टरबाट टुरिनस्थित अस्पताल लगिएको थियो। तीमध्ये एक जनाको पछि मृत्यु भयो।
जीवित रहेका पाँचवर्षे बालक पनि इजरेली हुन्। उनको शल्यक्रिया गरिएको तर अवस्था गम्भीर रहेको बताइएको छ।
दुर्घटनाबारे के थाहा छ
स्थानीय समयानुसार आइतवार दिउँसो १२:३० बजे दुर्घटना भएको थियो।
दुर्घटना के कारणले भयो त्यो स्पष्ट छैन। तर स्थानीय तहबाट आएका विवरणहरूका अनुसार पर्वतबाट ३०० मिटर तल केबल चुँडिएको हुनसक्छ।
त्यसपछि क्याबिन २० मिटर तल भिरालो ठाउँमा खसेर पल्टिँदै गई रूखहरू भएको ठाउँमा पुगेर अड्किएको स्थानीय नगरप्रमुखले बताइन्।
उनका अनुसार नजिकै पदयात्रा गरिरहेका मानिसहरूले ठूलो आवाज सुनेका थिए।
कोरोनाभाइरस नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरू हटाइएपछि केबल कार केही समयअघि मात्रा पुनः सञ्चालनमा आऐको थियो।