कोभिड नेपालः थप ८२ सय जनामा कोरोना भाइरस सङ्क्रमण , १९६ जनाको मृत्यु

Published

नेपालमा थप ८,२०३ जनामा कोरोनाभाइरस सङ्क्रमण र १९६ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

पीसीआर विधि र एन्टिजन विधिबाट झन्डै २१,००० परीक्षण गर्दा अहिले त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

मन्त्रालयले मङ्गलवार अपराह्ण प्रकाशित गरेको तथ्याङ्कमा विगत २४ घण्टामा पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

गत सातादेखि मृतकको सङ्ख्यामा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरेका व्यक्तिको तथ्याङ्क पनि समाविष्ट भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा ६,८९१ जना सङ्क्रमणमुक्त भएका छन्।

सोमवार प्रकाशित विवरणमा मन्त्रालयले ९,२४७ सय जनामा कोभिड तथा २१४ जनाको मृत्यु पुष्टि भएको जनाएको थियो।

के छ अरू तथ्याङ्क?

नेपालमा अहिलेसम्म कोभिड-१९ पुष्टि हुनेको सङ्ख्या ४,७२,००० तथा निको हुनेको सङ्ख्या ३,५२,००० नाघेको छ। कोभिडका कारण मृत्यु हुनेको कुल सङ्ख्या ५,४११ पुगेको मन्त्रालयले जनाएको छ।

अहिले देशभरि १,१४,५२९ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये काठमाण्डू उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या उल्लेख्य छ।

अहिले काठमाण्डूमा २,०४९ जना, ललितपुरमा ३६५ जना र भक्तपुरमा २२१ जना सङ्क्रमित थपिएका हुन्।

त्यसैगरी झापमा २५३, मोरङमा ५०७, सुनसरीमा २९८, काभ्रेपलान्चोकमा ३१५, चितवनमा ३०८, कास्कीमा २२९ र रूपन्देहीमा ३८० जनामा पनि कोभिड-१९ पुष्टि भएको मन्त्रालयले जनाएको छ।

केही सातायताको तथ्याङ्कले परीक्षण गर्न गएका मानिसमा सङ्क्रमण पुष्टि हुने दर उच्च रहेको देखाउँछ।

गत साता बुधवार नेपालमा पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख र यो साता आइतवार अहिलेसम्म कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या ५,००० नाघेको सरकारले बताएको थियो।

मन्त्रालयका अनुसार अहिले १,०७,०८२ जना सङ्क्रमित आफ्नै वासस्थानमा छन् भने ७,४४७ जना संस्थागत आइसोलेशनमा छन्।

कोभिडका कारण गम्भीर समस्या भएका बिरामीमध्ये १,५९० जना आईसीयूमा र ३९० जना भेन्टिलेटरमा भएको विवरण मन्त्रालयले अपराह्ण प्रकाशित गरेको छ।

कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?

कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -

  • ११३३
  • ९८५१२५५८३९
  • ९८५१२५५८३७

एम्बुलेन्स सेवाको लागि -

  • १०२

यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।

के छ भारतको स्थिति?

भारत सरकारले मङ्गलवार बिहान प्रकाशित गरेको विवरणअनुसार २४ घण्टाको अवधिमा देशभरि २,६३,५५३ जनामा कोभिड-१९ पुष्टि भयो भने ४,३२९ जनाको मृत्यु भयो।

सात दिनमा भारतमा सङ्क्रमणको वृद्धिदर ३.१६ प्रतिशतले घटेको देखिएको छ। तर मृत्यदर भने १.६ प्रतिशतले बढेको छ।

चौबीस घण्टाको अवधिमा कोभिड-१९ का कारण मृत्यु हुनेमध्ये ७६ प्रतिशत मानिस १० वटा राज्यका हुन्।

सरकारी तथ्याङ्कअनुसार अहिले भारतमा साढे ३३ लाख जनाभन्दा बढीमा सक्रिय सङ्क्रमण छ।

भारत सरकारका अनुसार मङ्गलवार बिहानसम्म ४.२ करोड मानिसले कोभिड खोपका दुवै मात्रा पाएका छन् भने १४.२४ करोड जनाले पहिलो मात्रा लगाएका छन्।

महाराष्ट्र राज्यमा मात्र १,००० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको भारत सरकारले जनाएको छ।

त्यसैगरी उसका अनुसार २४ घण्टाको अवधिमा पहिलो पटक चार लाखभन्दा बढी सङ्क्रमित निको भएका छन्।