म्यान्मार आन्दोलन: सैन्य कूपछिको एउटा 'रक्तपातपूर्ण दिनमा ५० प्रदर्शनकारीको मृत्यु'

म्यानमार

तस्बिर स्रोत, Getty Images

Published

म्यान्मारमा गत महिना सैन्य कू भएयताकै सबैभन्दा घातक दिनको रूपमा आइतवार भएका प्रदर्शनमा सुरक्षा फौजले झन्डै ५० जना प्रदर्शनकारीहरूलाई मारिदिएको त्यहाँका अभियानकर्मीहरूले बताएका छन्।

द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले मुख्य सहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा धेरै प्रदर्शनकारीहरू मारिएको जनाएको छ।

बाँकी मृत्यु देशका विभिन्न भागमा भएका हुन्।

याङ्गुनमा प्रदर्शनकारीहरूले लाठी र छुरीको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाएको थियो।

सैन्य कानुन लागु

त्यहाँको एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायमाथि हमला भएपछि याङ्गुनको धेरै भागमा सैन्य कानुन लागु गरिएको जनाइएको थियो।

चीनले म्यान्मारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीहरूले विश्वास गरिरहेका छन्।

औद्योगिक क्षेत्रमा सुरक्षा फौजले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका थिए।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, औद्योगिक क्षेत्रमा सुरक्षा फौजले प्रदर्शनकारीमाथि गोली प्रहार गरेका थिए।

बेइजिङले फलामे डन्डी, बन्चरो र पेट्रोल बोकेका मानिसहरूले १० वटा चिनियाँ कारखानामा आगो लगाइदिएको जनाइएको छ।

क्षति पुग्नेमा धेरैजसो लुगा उत्पादन गर्ने कम्पनी र तिनका भण्डारणहरू रहेको जनाइएको छ।

एउटा चिनियाँ होटलमा समेत हमला भएको बताइएको छ।

चिनियाँ दूतावासले के भन्यो?

आफ्नो फेसबुक पृष्ठमा चिनियाँ दूतावासले 'केही उद्योगहरूमा लुटपाट गर्दै क्षति पुर्‍याइएको र चिनियाँ कामदारहरू घाइते हुनुका साथै त्यहाँ अड्किएको' जनाएको छ।

दूतावासले म्यान्मारलाई 'हिंसा रोक्न थप प्रभावकारी उपायहरू अपनाउँदै दोषीलाई कानुन अनुसार कारबाही गर्न र म्यान्मारमा रहेका चिनियाँ नागरिक एवम् सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न' आग्रह गरेको थियो।

फेब्रुअरी १ मा सेनाले शक्ति हातमा लिएयता म्यान्मारमा प्रदर्शनहरू भइरहेका छन्।

यङ्गुनको अर्को एक भागमा साँझपख यसरी समेत प्रदर्शन भएको थियो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, यaङ्गुनको अर्को एक भागमा साँझपख यसरी समेत प्रदर्शन भएको थियो।

नेत्री तथा न्याश्नल लीग फर डेमोक्रेसी (एनएलडी) पार्टीकी प्रमुख आङ सान सू ची नजरबन्दमा छन्।

त्यसलाई अस्वीकार गर्ने कतिपय सांसद्हरूले भूमिगत रहेर आन्दोलन अगाडि बढाइरहेका छन्।

'क्रान्ति'

तिनै भूमिगत सांसद्हरूको नेतृत्व गरिरहेका नेता मान विन खाइन थानले पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै 'क्रान्ति'लाई निरन्तरता दिइने बताएका छन्।

उनले भने, "यो देशको लागि अँध्यारो क्षण हो। विद्रोहले जित्नैपर्छ।"

कूपछि म्यान्मारमा सेनाले एक वर्ष लामो सङ्कटकाल घोषणा गरेको छ।

मान विन खाइन थान यतिखेर भूमिगत छन्

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, मान विन खाइन थान यतिखेर भूमिगत छन्

एनएलडी पार्टीले ठूलो विजय हासिल गरेको आम निर्वाचनपछि सेनाले सत्ता कब्जा गरेको हो।

सेनाले विपक्षीहरूलाई समर्थन गरेको थियो र तिनीहरूले निर्वाचनमा ठूलो धाँधली भएको आरोप लगाउँदै पुनःनिर्वाचनको माग गरेका थिए।

देशको निर्वाचन आयोगले चुनावमा धाँधली भएको भन्ने दाबी पुष्टि गर्ने कुनै प्रमाण नभएको बताएको थियो।

नयाँ निर्वाचित संसद्को बैठक आरम्भ हुनै लाग्दा त्यहाँ सैनिक कू भएको हो।