जो बाइडन: अमेरिकी राष्ट्रपतिले कस्ता प्रविधि र उपकरण प्रयोग गर्न पाउँछन्?

तस्बिर स्रोत, Getty Images
- Author, जेम्स क्ल्याटन र कोडी गडविन
- Role, उत्तर अमेरिका प्रविधि संवाददाता
- Published
तपाईँलाई लाग्दो हो विश्वको सबैभन्दा शक्तिशाली मानिसलाई उसले चाहेका सबैखाले प्रविधिका सामग्रीहरू उपलब्ध हुन्छन्।
तर जब फोन र स्मार्ट घडीको कुरा आउँछ, ह्वाइट हाउस पसेपछि जो बाइडन पक्कै पनि खिन्न भए होलान्।
विश्वमा धेरै साइबर हमलाको प्रयास हुने सामग्री भनेको अमेरिकी राष्ट्रपति आसपास हुने विद्युतीय उपकरणहरू हुन्।
हार्भर्ड केनडी स्कुलका अध्यापक ब्रुस सेनियअर भन्छन्: "रुसले सायदै कुनै विश्वका नेतालाई निशाना बनाउन छाड्दो हो।"
सन् २००० को दशकमा यो खासै ठूलो समस्या थिएन।
साइबर हमला हुनसक्ने भनेको कम्प्युटर र इन्टरनेटको खासै प्रयोग नहुने सामान्य मोवाइल फोनहरू थिए।
जब राष्ट्रपतिले सुरक्षित फोन सञ्जालबाट संसारभर चाहेका जोकोहीसँग कुरा गर्न सक्छन् भने उनलाई मोबाइल नै पनि किन चाहियो।
तर जब सन् २००९ मा बराक ओबामाले पद सम्हाले सबै कुरा फेरियो।
उनलाई आफ्नो ब्ल्याकबेरी फोनसँग यति लगाव थियो कि त्यसलाई प्रयोग गर्न पाउनुपर्ने भन्दै उनी हप्तौँ सुरक्षा सल्लाहकारहरूसँग भिडिरहे।
र अन्ततः उनले जिते र एउटा सम्झौता गरियो।
एक जना अधिकारी भन्छन्: "त्यसबाट उनी केही वरिष्ठ कर्मचारी र थोरै व्यक्तिगत साथीसँग मात्र जोडिने कुरामा सहमत भए।"
त्यसयता राष्ट्रपतिले प्रयोग गर्न चाहेका सामग्रीको सूची बढ्न थाल्यो र राष्ट्रपतिका सल्लाहकारहरूलाई चुनौती थपिन थाल्यो।
ओबामाप्याड
जब सन् २०१० मा आईप्याड सार्वजनिक गरियो राष्ट्रपतिले पनि स्वाभाविक रूपमा त्यो चलाउन चाहे।
त्यसपछि राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले ओबामाप्याड बनाए। त्यो निकै सुरक्षित हुने गरी बेग्लै बनाइएको आईप्याड थियो।
एक जना पूर्वसल्लाहकारले बीबीसीलाई बताए अनुसार त्यो उनका कर्मचारीहरूलाई समेत दिइएको थियो।
अरी स्वार्ज ओबामा प्रशासनमा काम गरेका राष्ट्रिय सुरक्षा परिषद्का साइबर सुरक्षा अधिकारी हुन्।
उनी भन्छन्: "ओबामा प्रशासनमा वरिष्ठ कर्मचारीहरूले आईप्याडको प्रयोग गर्नु सामान्य भएको थियो... तर केही परिवर्तन गरिएका आईप्याड।"

तस्बिर स्रोत, WHITE HOUSE POOL (ISP POOL IMAGES)
के-के परिवर्तन गरियो त? स्वार्ज भन्छन्: "ओबामाप्याडमा वाइफाइ थिएन।"
ह्वाइट हाउसमै वाइफाइको सुविधा जोड्ने विषयमा केही बहस पनि भएको थियो।
ती बहसमा भनिन्थ्यो: "ह्वाइट हाउसमा हामीले वाइफाइ चलाउन किन नपाउने?"
अनि उनीहरूलाई भनिन्थ्यो: "तपाईँहरूले सुरक्षाका हिसाबले जोखिमयुक्त प्रवेशद्वार खोल्नु हुनेछ।"
निकै भाँती पुर्याएर प्रयोग गर्ने गरी ओबामा निवासमा वाइफाइ चल्ने गराइयो। तर त्यो पनि निकै समस्याकारी थियो।

तस्बिर स्रोत, SAUL LOEB
आफ्नो कार्यकालमा ट्विटरमा निकै लोकप्रिय बनेका डोनल्ड ट्रम्पले समेत व्यक्तिगत प्रविधि उपकरण चलाउने कुरामा निकै जोड दिन्थे।
बताइएअनुसार सुरक्षाका कारण उनीले फोनहरू छोटो समय प्रयोग गर्दै तिनलाई फेरिहाल्थे।
बाइडनको पेलेटन
स्वार्जका अनुसार यतिखेर सब थोक कम्प्युटर बनेका छन्।
व्यायाम गर्ने पेलेटन बाइक वा तपाईँका फोन, रेफ्रिजेरेटर देखि खेलौना वा तपाईँको कार सब चिजमा साइबर हमलाको जोखिम छ।
बाइडनका हकमा उनले एपल घडी लगाएका तस्विरहरू देखा परे।
जुन पेलेटन व्यायाम बाइकसँग जोडिएको थियो जसमा इन्टरनेट जडित कम्प्युटर स्क्रिन, क्यामेरा र माइक्रोफोनसम्म छन्।

तस्बिर स्रोत, SOPA Images
हार्भर्डका सेनियअर भन्छन्: "गर्न सकिने भनेको हार्डवेयरमा केही परिवर्तन, क्यामेरा बन्द गर्नेजस्ता राष्ट्रिय सुरक्षा निकायका नियन्त्रणका हुने केही कुरा हुन्।"
तर स्ट्यान्डफोर्ड युनिभर्सिटीका हर्बर्ट लिन भन्छन्: "तर साइबर हमला नै गर्न नसकिने उपकरण पाइनु भनेको निकै दुर्लभ हो। त्यस्ता उपकरण भनेका खासै कामका हुँदैनन् किनकि तिनबाट सञ्चार सम्भव छैन।"
अपडेट भइरहने हुँदा सफ्टवेयरका हकमा सुरक्षा कायम राख्ने काम निकै चुनौतीपूर्ण हुने बताइन्छ।
हमलाको पाठ
गत वर्ष सन्दिग्ध रुसी ह्याकरहरूले अमेरिकी सरकारका सञ्जालमा हमला गरेको समाचारहरू आएका थिए।
सफ्टवेयर कम्पनी सोलारविन्डमा भएको साइबर हमलाले अर्थ, व्यापार र गृह मन्त्रालयमा ठूलो क्षति पुर्याएको थियो।
सबैभन्दा खराब कुरा त त्यसमा संलग्न हमलाकारीहरूबारे महिनौँसम्म थाहा हुन सकेको थिएन।
ती हमलाले दुई कुरा उजागर गरेका थिए:
- अमेरिकी साइबर-सुरक्षा बिथोल्न विदेशी शक्तिहरू लागिपरेका छन्
- प्रविधिमा रहेका खाडलको पहिचान आवश्यक छ
डरलाग्दो अवस्था राष्ट्रपतिको उपकरण ह्याक हुनु र त्यसबारे थाहा नहुँदा के होला भन्ने हो।
किनकि उनी ह्वाइटहाउसको नजिकसम्म यसअघि साइबर हमलाहरू भइसकेका छन्।
त्यसैले राष्ट्रपति बाइडन संसारको सबैभन्दा शक्तिशाली देशको शक्तिशाली व्यक्ति भए पनि उनी अरू धेरैले चलाउने प्रविधि उपकरणका लागि भने सङ्घर्ष गर्नु पर्नेछ।




















