तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्रम्पविरुद्ध महाभियोग: ट्रम्पकै दलका कतिपय सांसद 'महाभियोगको पक्षमा'
अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले गत साता संसद् भवनमा भएको हूलदङ्गामा राष्ट्रपति डोनल्ड ट्रम्पको भूमिकालाई लिएर उनीविरुद्ध महाभियोग लगाउने कि नलाउने भन्ने निर्णय गर्दैछ।
डेमोक्र्याटहरूले राष्ट्रपतिमाथि क्यापिटल भवनमा आक्रमण गर्न आफ्ना समर्थकहरूलाई प्रोत्साहित गरेको आरोप लगाएका छन्। घटनामा पाँचजनाको मृत्यु भएको थियो।
ट्रम्पको रिपब्लिकन पार्टीका केही सांसदहरूले हूलदङ्गा गर्न उक्साएको औपचारिक अभियोगमा डेमोक्र्याटहरूलाई साथ दिने बताएका छन्।
राष्ट्रपति ट्रम्पले हिंसामा आफ्नो कुनै पनि किसिमको भूमिका अस्वीकार गरेका छन्।
ट्रम्पले वासिङटन डीसीमा आयोजित र्यालीलाई सम्बोधन गर्दै नोभेम्बर महिनामा भएको चुनावको परिणामविरुद्ध लड्न आफ्ना समर्थकहरूलाई आग्रह गरेपछि गत बुधवार उक्त हिंसा भएको थियो।
तल्लो सदनमा बहस जारी रहेका बेला ट्रम्पले प्रदर्शनको योजना भइरहेको भन्ने पछिल्ला खबहरूप्रति प्रतिक्रिया जनाउँदै सबैलाई शान्तिको निम्ति अपिल गरेका छन्।
"म आह्वान गर्छु, कुनै प्रकारको हिंसा, कानुनको उल्लङ्घन र तोडफोड हुनुहुँदैन," ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा उनले भनेका छन्।
आफू र अमेरिकी जनता त्यसको पक्षमा नरहेको उनको भनाइ छ।
ट्रम्पले भनेका छन्, "तनाव सहज तुल्याउन र आक्रोश शान्त गर्न म सबै अमेरिकीलाई आग्रह गर्छु, धन्यवाद।"
महाभियोग लाग्छ?
तल्लो सदनमा डेमोक्र्याटहरूको बहुमत रहेकाले महाभियोग प्रस्ताव पारित हुने सम्भावना छ।
रिपब्लिकन सांसद लिज चेनीले पनि त्यसमा साथ दिने बताएकी छन्। उनले ट्रम्पले भिड जम्मा गरेको र हमलाको निम्ति उचालेको आरोप लगाइन्।
पूर्व उपराष्ट्रपति डिक चेनीकी छोरी उनले भनिन्, "यसअघि कुनै पनि राष्ट्रपतिले आफ्नो पद र संविधानप्रतिको सपथको यति ठूलो स्तरमा विश्वासघात गरेका थिएनन्।"
तल्लो सदनमा बोल्दै डेमोक्र्याट सभामुख न्यान्सी पेलोसीले ट्रम्पमाथि हिंसालाई प्रोत्साहित गरेको कुरा स्पष्ट रहेको बताउँदै भनिन्, "उनी देशको निम्ति स्पष्ट र वर्तमान खतरा हुन्। त्यसैले उनी जानै पर्छ।"
त्यहाँ प्रस्ताव पारित भएमा त्यसबारे मथिल्लो सदन सिनेटमा सुनुवाइ हुनेछ।
पेलेसीको भनाइ छ, "सिनेटले पक्कै पनि राष्ट्रपतिलाई दोषी ठहर्याउनु पर्छ। त्यसले यहाँको गणतन्त्रलाई तोड्न खोज्ने व्यक्तिबाट सुरक्षित रहने सुनिश्चित गर्नेछ। जसलाई हामीले निकै प्रेम गर्छौ र त्यसले हामी सबैलाई एक साथ जोडेको छ।"
तल्लो सदनले महाभियोगको पक्षमा मत दिएमा राष्ट्रपतिमाथिको अभियोग पुष्टि गर्न त्यो प्रस्ताव सिनेटबाट पनि पारित हुनुपर्छ।
तर त्यसको निम्ति दुई तिहाइ बहुमत आवश्यक हुन्छ। त्यो सङ्ख्या पुर्याउन ट्रम्पको दलका सिनेटरहरूको पनि साथ आवश्यक हुनेछ।
कम्तीमा १७ जना रिपब्लिकन सिनेटरहरू ट्रम्पको विपक्ष र महाभियोगको पक्षमा उभिनु पर्नेछ।
न्यूयोर्क टाइम्सले २० जना रिपब्लिकन सिनेटहरू ट्रम्पलाई दोषी ठहर्याउने पक्षमा रहेको उल्लेख गरेको छ।
फेरि राष्ट्रपतिको उम्मेद्वार हुन रोक्ने बाटो
सिनेटमा हुने सुनुवाईको समयसीमा अनिश्चित छ। तर ट्रम्पको कार्यकाल सकिने र जो बाइडनले सपथ ग्रहण गर्ने दिन ज्यनुअरी २० तारिखभन्दा पहिले त्यसको किराना लाग्ने सम्भावना छैन।
सिनेटले ट्रम्पलाई फेरि राष्ट्रपतिको उम्मेद्वार हुनबाट रोक्न महाभियोग पारित भएपछि अर्को मतदान गराउनु पर्ने हुन्छ।
उनले सन् २०२४ मा उम्मेद्वार हुने सङ्केत दिइसकेका छन्। तल्लो सदनले प्रस्ताव पारित गरेमा भने ट्रम्प दुई पटक अभियोगको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति बन्ने छन्।
यसअघि तल्लो सदनले संविधानको एउटा प्रावधानअनुसार ट्रम्पलाई पदमुक्त गर्न उपराष्ट्रपति माइक पेन्सलाई सहयोगको आग्रह गर्ने प्रस्ताव पारित गरेको थियो।
पेन्सले त्यो प्रस्ताव अस्वीकार गरिदिएपछि डेमोक्र्याटहरू महाभियोगको प्रक्रियामा अघि बढेका हुन्।