इन्डोनेशिया विमान : उडेलगत्तै दुर्घटना भएको आशंका

इन्डोनेशिया

तस्बिर स्रोत, Getty Images

Published

इन्डोनेशियाको राजधानी जकार्ताबाट ६२ जना यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेको केही मिनेटमै समुद्रमा दुर्घटनाग्रस्त भएको ठानिएको छ।

श्रीविजया एयर बोइङ ७३७ विमान देशको वेस्ट कालिमान्तान प्रान्तको पोन्टिआनक जाने क्रममा उडेको ४ मिनेटमै रेडारबाट हराएको थियो।

प्रत्यक्षदर्शीहरूले कम्तीमा एउटा विस्फोटन देखेको र सुनेको बताएका छन्।

उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडार२४डटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको थियो।

विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू टेलिभिजन र सामाजिक सञ्जालमा देखा परेका छन्।

प्रत्यक्षदर्शीका बयान

प्रत्यक्षदर्शीहरूले कम्तिमा एउटा विष्फोटन देखेको बताएका छन्।

माछा मारिरहेका एकजना व्यक्ति सोलिहिनले बीबीसी इन्डोनेशियाली सेवासँग कुरा गर्दै दुर्घटना देखेपछि आफ्ना क्याप्टेनले जमिनतर्फ फर्कने निर्णय गरेको बताए।

उनले भने: "विमान विजुली चम्किएजसरी समुद्रमा खस्यो र पानीमा पड्कियो। त्यो हामीबाट नजिकै भएको थियो। प्लाइवुडजस्तो एउटा अवशेषले झण्डै हाम्रो पानीजहाजलाई ठोकेको थियो।"

विमान बेपत्ता भएको क्षेत्र नजिकैको एक टापुका केही बासिन्दाहरूले बीबीसीलाई आफूहरूले विमानको जस्तो लाग्ने वस्तु भेटेको बताएका छन्।

उक्त विमान राजधानी जकार्ताबाट उडेको थियो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, उक्त विमान राजधानी जकार्ताबाट उडेको थियो।

असहज प्रश्न

सो विमानसँग अन्तिमपटक स्थानिय समय अनुसार २ बजेर ४० मिनेट जाँदा सम्पर्क भएको बताइएको छ।

देशको यातायात मन्त्रालयले खोजी कार्य भइरहेको जनाएको छ।

विवरणहरूका अनुसार बोइङ ७३७-५०० मोडलको उक्त विमान २७ वर्ष पुरानो हो।

तर बीबीसीका व्यापार संवाददाता थेओ लेगेट भन्छन्: "त्यति पुराना विमान अझै सेवामा रहनु कुनै असामान्य कुरा भने होइन।"

तुलनात्मक रूपमा कमजोर उड्डयन सुरक्षा रेकर्ड रहेको इन्डोनेशियाका विमान सेवाहरूले एक दशकभन्दा बढी समय युरोपमा उड्नका लागि प्रतिबन्ध सामना गरेका थिए।

सन् २०१८ मा त्यो हटाइएको थियो।

सन् २००९ मा खिचिएको बेपत्ता विमानसेवाको एक जहाजको फोटो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सन् २००९ मा खिचिएको बेपत्ता विमानसेवाको एक जहाजको फोटो

पछिल्ला वर्षमा बोइङका ७३७ म्याक्स मोडलका दुईवटा विमान ठूला दुर्घटनामा परेका थिए।

तीमध्ये पहिलो दुर्घटना सन् २०१८ को अक्टोवरमा इन्डोनेशियाको लायन एयरको उडानमा भएको थियो जसमा १८९ जनाले ज्यान गुमाएका थिए।

Indonesia map