तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युरिया मलः प्रधानमन्त्री केपी शर्मा ओलीले पैँचो मागेको साढे तीन महिनापछि बाङ्ग्लादेशसँग मल किन्न नेपाल सरकारको सम्झौता
- Author, उमाकान्त खनाल
- Role, बीबीसी न्यूज नेपाली, झापा
- Published
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नजिकको तेस्रो छिमेकी मुलुक बाङ्ग्लादेशकी प्रधानमन्त्री शेख हसिनाबीच नेपालका लागि युरिया मल आपूर्ति गराइदिने विषयमा टेलिफोन वार्ता भएको करिब साढे तीन महिनापछि बिहीबार दुई देशबीच नेपालका लागि बाङ्ग्लादेश सरकारले आपूर्ति गराउन एउटा आधिकारिक सम्झौता भएको छ।
दुई देशका प्रधानमन्त्रीबीच भएको टेलिफोन संवादमा नेपालका प्रधानमन्त्री ओलीले बाङ्ग्लादेशबाट ५०,००० मेट्रिक टन युरिया मल पैँचो मागेका थिए।
तर युरिया मल पैँचो ल्याउन सम्भव नभएपछि 'जीटुजी' अर्थात् बाङ्ग्लादेश सरकारबाट नेपाल सरकारले किन्नेबारे बिहीवार सम्झौता भएको बाङ्ग्लादेशस्थित नेपाली राजदूत वंशीधर मिश्रले बीबीसीलाई बताए।
अबको १० दिन भित्रमा बाङ्ग्लादेशबाट नेपालका लागि युरिया मलको पहिलो खेप पठाउनेगरी काम भइरहेको उनको भनाइ छ।
सम्झौता गर्न किन ढिलो?
बाङ्ग्लादेशबाट नेपालमा युरिया मल पैँचोमा ल्याउने दुई देशका प्रधानमन्त्रीबीच कुराकानी भएको थियो।
तर बाङ्ग्लादेश सरकारले पैँचो दिन नसक्ने जनाउ दिएपछि पुनः सरकारले नै खरिद गरेर ल्याउने प्रक्रिया अगाडि बढाइएको कृषि मन्त्रालयका अधिकारीहरू बताउँछन्।
उक्त सम्झौता गर्नका लागि धेरै अवरोधहरू आएका राजदूत मिश्रले बताए।
उनले भने, "अहिलेसम्म बाङ्ग्लादेशले त्यसरी मल अन्य देशलाई अनुदानमा दिने वा बेच्ने गरेको थिएन। बाङ्ग्लादेशका लागि पनि नयाँ अनुभव हो। त्यस कारणले पनि ढिलो भयो।"
उनले मल नेपालसम्म ढुवानी गर्नका लागि प्याकेजिङको पनि समस्या आएको बताए।
उनले भने, "नेपाल र बाङ्ग्लादेशका कर्मचारीहरूबाट पनि काम ढिलो भयो। धेरै दिनसम्म सम्झौता गर्ने विषय मन्त्रिपरिषद्मा पनि अड्केर बस्यो। आज बल्ल सम्झौता गर्न सफल भयौँ।"
सम्झौता नेपालका तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र बाङ्ग्लादेशका तर्फबाट बाङ्ग्लादेश केमिकल इन्डस्ट्रिज कर्पोरेशनबीच भएको राजदूत मिश्रले बताए।
बाङ्ग्लादेशबाट ल्याइने मल 'सस्तो'
विदेशबाट मल नेपाल भित्र्याउँदा अहिले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले प्रतिमेट्रिक टन ३५९. ९५ डलरमा टेन्डर गरेको राजदूत मिश्रले जानकारी दिए।
बाङ्ग्लादेशबाट ल्याइने युरिया मल ढुवानीसहित ३४१. ४४ डलर पर्ने उनले बताए।
राजदूत मिश्रले भने, "अहिलेको मूल्याङ्कनमा पनि एक मेट्रिक टनमा १८. ५१ डलर सस्तो परेको छ। सबै हिसाब गर्दा ५०,००० मेट्रिक टनमा नेपाललाई १० करोड रुपैयाँजति सस्तो परेको छ।"
बाङ्लादेशबाट ल्याइने मल सस्तो पर्ने सरकारी अधिकारीहरूले बताइरहँदा ढुवानी व्यवसायीहरूले नेपालभित्रैको ढुवानीको आर्थिक भारले किसान मारमा पर्ने सम्भावना रहेको बताउँछन्।
उनीहरूले बाङ्ग्लादेशबाट ल्याउँदा नै नेपालका विभिन्न ठाउँका लागि ढुवानीको व्यवस्था हुनुपर्ने बताए।
एक व्यवसायी राजन शर्माका अनुसार नेपाल भित्रको ढुवानीका बारेमा केही अध्ययन नै भएको छैन। नेपालभित्र धेरै सामग्रीहरू समयमा ढुवानी नभएको विगतका उदाहरण रहेको उनले बताए।
शर्माले भने, "हामीले त सरकारलाई नेपालको एक ठाउँमा ल्याउने होइन, धेरै स्थानमा ढुवानी गर्नुपर्छ भनेका हौँ।"
"त्यसको बारेमा कहीँ अध्ययन भएको पाइँदैन। पछि नेपालभित्रकै ढुवानीले किसानले धेरै मूल्य तिर्नुपर्ने अवस्था आयो भने बाङ्ग्लादेशबाट सस्तोमा ल्याएको के अर्थ भयो र।"