कोरोना भाइरस: कोभिड-१९ ले महिलाभन्दा धेरै पुरुषको ज्यान लिने कारण किन अझै थाहा भएन

तस्बिर स्रोत, EPA
- Author, लियोनार्दो पुयोल
- Role, बीबीसी न्यूज ब्रजिल
- Published
- पढ्ने समय: ४ मिनेट
ज्यानुअरी २०, २०२० मा जब चीनको वुहानमा देखा परेको नयाँ रहस्यमय रोगबारे निकै कम जानकारी थियो, तब एकजना अनुवंशविद् डा. श्यारन मोआलेमले ट्विटरमा एउटा सशक्त भविष्यवाणी गरे।
"वुहान अक्यूट रेस्पिरटरी सिन्ड्रमबाट किन महिलाभन्दा धेरै पुरुषहरूको ज्यान जानेछ?" भनेर न्यूयोर्कमा दुई दशकदेखि दुर्लभ आनुवंशिक रोगहरूमाथि अनुसन्धान गर्दै आएका यी ४३ वर्षीय क्यानडेली चिकित्सकले ट्वीटरमा भनेका थिए।
उनको अनुमान सही निस्कियो।
ग्लोबल हेल्थ ५०/५० को तथ्याङ्कअनुसार लगभग सबैजसो देशमा कोभिडका कारण महिलाभन्दा धेरै पुरुषको मृत्यु भइरहेको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
नोभेम्बर ३० सम्म आइपुग्दा यमन, बाङ्ग्लादेश, थाईल्यान्ड, मलावी र नाइजिरियामा कोभिडले ज्यान गुमाउनेमध्ये तीनचौथाइ पुरुष छन्। पाकिस्तान र अफगानिस्तानमा पनि उस्तै स्थिति छ।
टर्की, सर्विया, किर्गिजस्तान र हङ्कङमा ज्यान गुमाउनेमध्ये ६२ प्रतिशत पुरुष छन्।
अत्यधिक मृत्यु बेहोरेका मुलुकमध्ये भारत र मेक्सिकोमा यो अनुपात ६४ प्रतिशत छ भने ब्रजिलमा ५८ अनि अमेरिकामा ५४ प्रतिशत छ।
तर सङ्क्रमित हुनेहरूको अनुपात महिला र पुरुषमा उस्तै देखिन्छ।
उसोभए किन पुरुष धेरै प्रभावित भइरहेका छन् र महिलाले सशक्त प्रतिरोध गर्न सकिरहेका छन्?
बलियो प्रतिरोध

तस्बिर स्रोत, Getty Images
बाँच्ने क्षमतामा लैङ्गिक भिन्नता सुरुदेखि नै देखिन्छ।
विश्वव्यापी रूपमा हेर्दा प्रत्येक १०० महिलाको जन्म हुँदा १०५ पुरुषको जन्म भइरहेको पाइन्छ। तर पहिलो जन्मदिनसम्म जीवित रहने अनुपात बालिकाको पक्षमा धेरै हुन्छ।
किशोरावस्थामा पुग्दासम्म महिलाहरू आफ्नो उमेर समूहको ५० प्रतिशतभन्दा धेरै अनुपातमा पुगिसक्छन्।
सबैजसो देशमा महिलाहरू धेरै उमेरसम्म बाँच्छन् - औसतमा पुरुषभन्दा ६ देखि ८ वर्ष बढी बाँच्छन्।
त्यतिमात्र होइन। रोगसँग लड्ने मामिलामा पनि महिलाहरूको प्रतिरोध क्षमता धेरै हुने अनि कतिपय क्यान्सर लाग्ने जोखिम महिलामा कम हुने वैज्ञानिकहरू बताउँछन्।
त्यस्तै मुटुरोग, अपाङ्गता वा कतिपय भाइरल सङ्क्रमणसँग पनि महिला बढी प्रतिरोधी पाइन्छन्।
यसका कारण के होलान्?

तस्बिर स्रोत, Getty Images
डा. मोआलेमले महिलालाई बलियो लैङ्गिक अवस्थाको मान्ने गरेका छन्।
उनको निकै चर्चित पुस्तक "द बेटर हाफ: अन द जिनेटिक सुपिरिअरिटी अफ विमिन" मा उनले जैविक रूपमै महिला कसरी पुरुषभन्दा बलिया हुन्छन् भनेर व्याख्या गरेका छन्। यसमा केही योगदान महिला र पुरुषबीच व्यवहार र जीवनशैलीले पनि पार्ने बताइएको छ।
उदाहरणका लागि महिलाहरू चिकित्सककहाँ धेरै जाने गर्छन् अनि उनीहरू कम धूमपान गर्छन् र हातको सरसफाइमा धेरै ध्यान दिन्छन्।

तस्बिर स्रोत, Alex Tran
गत एप्रिलमा न्यूयोर्क टाइम्समा लेख लेख्दै उनले कोरोनाभाइरसले महिलाभन्दा धेरै पुरुषको ज्यान लिएको विषय अनौठो होइन भनेका थिए।
"वास्तवमा यसले बाँच्ने क्षमताको आधारमा महिलाहरू पुरुषभन्दा बलिया हुन्छन् भन्ने वैज्ञानिक तथ्यलाई राम्रैसँग उजागर मात्र गरिदिएको हो," उनले भने।
यो सबै मानवजातिको जीनका कारण भइरहेको उनको विश्वास छ।
एक्स क्रोमजोमको शक्ति

तस्बिर स्रोत, Getty Images
मानव शरीरमा प्रत्येक कोषभित्र २३ जोडी क्रोमजोम हुन्छन् अर्थात् कुल ४६ वटा।
यीमध्ये २२ जोडी क्रोमजोम महिला र पुरुष दुवैमा समान किसिमका हुन्छन्। तर २३ औँ जोडीमा एउटा भिन्नता हुन्छ - सेक्स क्रोमजोममा। महिलाहरूमा यो जोडीमा दुईवटा एक्स क्रोमजोम हुन्छ भने पुरुषमा एउटा एक्स र एउटा वाई क्रोमजोम हुन्छ।
संरचनागत रूपमा एक्स क्रोमजोम वाईभन्दा ठूलो र जटिल हुन्छ। यसमा करिब १,१५० वटा जीनहरू हुन्छन् जसमा कोषको क्रियाकलापका निम्ति आवश्यक प्रोटीन उत्पादन गर्ने आनुवंशिक तत्त्वको लामो "सीक्वन्स" हुन्छ।
वाई क्रोमजोममा भने केवल ६० देखि ७० वटामात्र जीन हुन्छन्।
दुईवटा एक्स क्रोमजोम हुँदैमा महिलाहरूले योसँग सम्बन्धित प्रोटीन दोबर उत्पादन गर्ने भने होइन।
महिलाको शरीरमा भएका कोषहरूले उनीहरूको जीवनचक्रका क्रममा काममा लगाउन एउटामात्र एक्स क्रोमजोम चयन गर्छन्। अर्कोलाई त्यत्तिकै निष्क्रिय राख्छन्। यो प्रक्रियालाई "एक्स इन्याक्टिभेशन" भनिन्छ। तर सबै कोषले उही एक्स क्रोमजोमलाई निष्क्रिय पारिरहेका हुँदैनन्। यसो गर्दा महिलाहरूलाई लाभ पुग्छ।
यदि पुरुषको एक्स क्रोमजोममा रोग उत्पन्न गर्ने जीन छ भने त्यो प्रकट हुने सम्भावना धेरै हुन्छ।
तर महिलामा त्यस्तै जीन छ भने स्वस्थ एक्स क्रोमजोम चयन गरेका कोषहरूले त्यसलाई नै मात्र प्रकट हुन दिन्छन् र रोग दबिन्छ।
यसको अर्थ महिलालाई रोग नै नलाग्ने भन्ने होइन तर उनीहरूलाई रोग लागिहाले पनि गम्भीर प्रकारले लाग्ने सम्भावना कम हुन्छ।
अन्य कारण

तस्बिर स्रोत, Getty Images
वैज्ञानिकहरूले कोभिड गराउने सार्स-कोभ-२ भाइरसको हकमा उक्त भाइरसलाई मानव शरीरमा प्रवेश गराउन सघाउने एन्जियोटेन्सिन कन्भर्टिङ एन्जाइम-२ वा ACE2 भनिने प्रोटीनको भूमिका नियालिरहेका छन्।
त्यो प्रोटीन एक्स क्रोमोजोममा हुन्छ।
महिलाहरूसँग एक्स क्रोमोजोमका दुईवटा प्रतिलिपि हुने हुनाले एक्ससँग सम्बन्धित रोगले उनीहरूलाई कम प्रभाव पार्ने गर्छ।
यही कारणले महिलाहरूलाई कोभिडले पनि कम प्रभाव पारेको केही वैज्ञानिकहरूको अनुमान छ।

तस्बिर स्रोत, Getty Images
सुरुमा देखापरे यता कोभिड-१९ केवल श्वासप्रश्वाससँग सम्बन्धित रोगमात्रै रहेको छैन।
यसले मुटु, मिर्गौला तथा गन्ध र स्वादको क्षमतामा पनि प्रभाव पारिरहेको छ।
यो सबैको खास कारण बुझाउने व्याख्या हुन सकेको छैन।
कोभिड-१९ को सन्दर्भमा व्यक्तिको लैङ्गिक अवस्था जोखिम तत्त्व हो कि होइन भनेर निर्क्योल गर्नको निम्ति व्यापक स्तरको अनुसन्धान हुनुपर्ने वैज्ञानिकहरूको मान्यता छ।


























