तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकी निर्वाचन नतिजा: नेभाडामा धाँधली भएको भन्दै डोनल्ड ट्रम्पको मुद्दा
राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन पार्टीले नेभाडाको मतदानमा धाँधली भएको भन्दै मुद्दा दायर गरेको छ।
शुक्रवार दायर मुद्दा ट्रम्पको तर्फबाट अन्य राज्यमा हालिएको जस्तै मुद्दा भएको अमेरिकी टीभी एबीसी न्यूजले जनाएको छ।
नेभाडाको मुद्दाका केही मागहरू अन्य राज्यले खारेज गरिसकेको मतगणना रोक्ने लगायतका माग जस्तै भएको सो टीभीले बताएको छ।
प्रमाण नदिइएको सो मु्द्दामा क्लार्क काउन्टीमा हुलाकमार्फत् आएका मतपत्र जाँचमा अनियमिता र ३,००० भन्दा बढी फर्जी मतदान भएको दाबी गरिएको छ।
ट्रम्पको दाबी
ट्रम्पले आफ्नो मतान्तर कम भएका वा बाइडनले अग्रता लिएका राज्यहरूमा धाँधली र चुनावी अनियमितता भएको आरोप लगाएका छन्।
बाइडन झीनो मतले अगाडि रहेको नेभाडामा यसअघिसम्म ट्रम्पको पक्षमा मत आउने आशामा उनका समर्थकहरूले मतगणना रोक्ने माग गरेका थिएनन्।
ट्रम्पले अन्य चार मुख्य राज्यहरूमा मतगणनालाई कानुनी चुनौती दिएका छन्।
उनले विस्कन्सिन, मिशिगन, पेन्सिल्भेनिया र जोर्जिआमा मुद्दा हालेका थिए।
पेन्सिल्भेनियामा मतगणना रोकिएन
ट्रम्पले पेन्सिल्भेनियामा मतगणना रोक्न गरेको कानुनी अनुरोधलाई अस्वीकार गरिएको छ।
सङ्घीय न्यायाधीश पल डायमन्डले रिपब्लिकनहरूले मतगणनामा कम प्रवेश पाएको भन्ने विषयमा दुवै दलका ६०-६० जनालाई मात्रै प्रवेश दिन भनेका छन्।
"यो कुरो न्यायिक हस्तक्षेपबिना किन सहमति हुन सकेन भनेर मैले बुझ्न सकिन्," उनले भने।
राज्यका अधिकारीहरूले रिपब्लिकनलाई मतगणना निरीक्षण गर्न दिइएको बताउँदै एक जना प्रतिनिधिले सामाजिक दूरीको नियम पालना नगरेको बताएका थिए।