तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकी चुनाव: सामाजिक सञ्जालहरूले 'चुनावी अराजकता' सम्बोधन गर्न के गर्दैछन्
मतदान भएकै रात चुनावी परिणाम आउने कुरामा अमेरिकामा धेरैजनालाई विश्वास छैन।
हुलाकबाट गरिने मतदानका कारण मतपरिणाम आउन अस्वभाविक रूपमा सम्भवत: कैयौँ दिन वा साता लाग्नसक्छ।
र, त्यो अनिश्चितताको समयमा नागरिक प्रदर्शन हुनसक्ने डर पनि छ।
दुवै पक्षले विजयको दाबी गर्न सक्छन् र मतपरिणामबारे झूटा सूचनाहरू फैलनसक्छन्।
सामाजिक सञ्जालमा व्यक्त हुने आक्रोश, झूटा समाचार र घृणायुक्त अभिव्यक्तिहरूले तनाव थप बढाउन सक्छन्।
त्यसोभए ठूला प्रविधि कम्पनीहरू त्यसबारे के गर्ने योजना बनाइरहेका छन्?
केही समयका लागि ती एप बन्दगर्नु अन्तिम विकल्प हुनसक्छ।
सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरू त्यस्तो अवस्था आउन नदिने पक्षमा छन्।
ट्विटरले भनेको छ- निर्वाचनको दिनपछि मतपरिणाम सार्वजनिक नहुन्जेल उम्मेदवारहरूलाई जितको दाबी गर्न दिइनेछैन।
उसका अनुसार निर्वाचन प्रक्रियालाई प्रभावित गर्ने खालका कुराहरू उम्मेदवारले ट्वीट गर्न वा रिट्वीट गर्न पनि सक्ने छैनन्।
यदि त्यस्तो भयो भने यसले के गर्छ त?
ट्विटरले भनेको छ- त्यस्तो अवस्थामा उ मानिसहरूलाई निर्वाचन अवस्थाबारे सटीक र अद्यावधिक विवरण साझा गर्न निर्देशन दिनेछ।
यसले के सङ्केत गर्छ भने ट्विटरले त्यस्ताखाले ट्वीटहरूलाई हटाउने वा दबाउने छैन। तर ती ट्वीटहरूलाई चिन्ह लगाइ दिनेछ।
गत महिना फेसबुकका निक स्लेगले फाइनान्सियल टाइम्सका हानाह मर्फीसँग गम्भीर अवस्थामा आफूहरूसँग केही "ब्रेक-ग्लास अप्सन्स्" रहेको बनाएका थिए।
ती विकल्पहरू के हुन्? फेसबुकले भन्नेछैन।
तर वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार त्यस्ता योजनामा हिंसा निम्त्याउन सक्ने र झूटा समाचारका भाइरसल पोस्टहरूलाई नदेखिने बनाउनेलगायतका उपायहरू छन्।
उनीहरूले चुनावबारे भ्रम फैलाउने केही ह्यासट्यागहरूलाई डिएक्टिभेट पनि गरिदिन सक्नेछन्।
त्यस्ताखाले उपायहरू फेसबुकले श्रीलङ्का र म्यान्मारमा अपनाइसकेको छ।
चुनावपछि निश्चित विवरण पाउन फेसबुकले रोयटर्ससँग समूह पनि बनाइसकेको छ।
फेसबुक र ट्विटरभन्दा रेडिट एक कदम अघि देखिन्छ।
चुनावी नतिजाबारेको गलत सूचना दिने कुरालाई आफूले अनुमति नदिने र त्यस्ता सूचनाहरू हटाइने उसले जनाएको छ।
उसले चुनवापछि के हुन्छ भन्ने जानकारी दिने एउटा पेज पनि बनाएको छ।
उक्त साइटले चुनावपछि "आस्क मी एनिथिङ" कार्यक्रममा श्रृङ्खलाहरू पनि चलाउनेछ।
मतदान विज्ञहरू मानिसहरूका प्रश्नको उत्तर दिन तयारी अवस्थामा रहनेछन्।
गुगलले चुनावी नतिजाको सही सूचना दिन एसोसिएट प्रेस (एपी) सँग सहकार्य गरिरहेको छ।
त्यसैले चुनावपछि तपाईँले "कसले चुनाव जित्छ?" भनेर सर्च गर्नुभयो भने गुगलले तपाईँलाई एपीको चुनावी नतिजासम्बन्धी पेजमा पुर्याइदिनेछ।
उसले चुनावपछि आफूले जित्ने दाबी गरिएका उम्मेदवारहरूका विज्ञापन पनि स्थगित गरिदिने बताएको छ।
चुनावपछिको भ्रम हटाउन त्यसो गर्न लागिएको गुगलले जनाएको छ।
युट्युबले मतदान र लोकतान्त्रिक प्रक्रियामा हस्तक्षेप गर्नेखाले भ्रामक दाबीहरूलाई अनुमति नदिने जनाएको छ।
उसले हुलाकबाट गरिएको मतदानको नतिजालाई तोडमोड गर्न सकिन्छ भन्ने दाबी गरिएका सामग्रीहरू हटाउने पनि बताएको छ।
त्यो पनि ट्विटर र फेसबुकभन्दा अघि बढेको देखिन्छ।
स्न्यापच्याट अन्य भन्दा केही फरक देखिएको छ।
अन्य सामाजिक सञ्जालमा जस्तो यसमा कुनै सामग्री भाइरल हुने न्यूज फीड छैन।
यद्यपि उसले उसका 'स्टार' हरूलाई गलत सूचना नफैलाउन सचेत गराउने जनाएको छ। ती स्टारहरूका सामग्रीहरू यसको 'डिस्कभर' सेक्सनमा देखिन्छ।
उक्त कम्पनीका अनुसार उसको एउटा आन्तरिक कार्यदलले यस्ता गतिविधि रोक्न काम पनि गर्ने गरेको छ।
टिकटकले चुनावको समयमा फ्याक्ट चेक गर्ने स्वतन्त्र व्यक्तिहरूसँग काम गरिरहेको बताएको छ।
उसले चुनावसम्बन्धी गलत सूचनाहरू हटाउने जनाएको छ।
उसले चुनावी गलत सूचनाबारे जानकारी दिन मिल्ने सुविधा पनि एपमा थपेको छ। त्यसका आधारमा प्रयोगकर्ताले गलत सूचनाबारे उसलाई सूचित पनि गर्न सक्छन्।
समग्रमा हेर्दा यी सामाजिक सञ्चालहरूले चुनाव र चुनावपछिको अवस्थालाई गम्भीर रूपमा हेरेका छन्।
यी कम्पनीले अपनाएका मापदण्डहरू कति पर्याप्त छन् भन्ने केही दिनमा थाहा हुनेछ।