तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फिनसेन फाइल्स: स्थानीय ब्याङ्क र कम्पनीको नाम मुछिएपछि नेपाली निकायले अब के गर्नुपर्छ
विश्वका अग्रणी ब्याङ्कहरूले कसरी अपराधीहरूलाई सम्पत्ति शुद्धीकरणमा सघाउ पुर्याएका छन् भन्ने खुलासा गरिएको फिनसेन फाइल्स भनिने चुहाइएका दस्तावेजमा केही नेपाली ब्याङ्क तथा कम्पनीहरूको पनि नाम मुछिएपछि वित्त क्षेत्रका विज्ञहरूले यसबाट पाठ सिकेर नेपाली ब्याङ्क तथा निकाय थप चनाखो बन्नुपर्ने सुझाव दिएका छन्।
अमेरिकाको वित्तीय अपराध नियन्त्रणसम्बन्धी निकाय फिनसेनका फाइलमा २,५०० भन्दा धेरै दस्तावेज छन् जसमा सन् २००० देखि २०१७ को बीचमा ब्याङ्कहरूले उसलाई बुझाएका कागजपत्र छन्। तिनमा शङ्कास्पद कारोबार भएको बताइन्छ।
ब्याङ्कहरूले शङ्कास्पद गतिविधिको रिपोर्ट गर्ने क्रममा यस्ता कागजात विवरण सम्बन्धित निकायमा दिने गर्छन्, तर त्यो अपराध वा गलत कार्यका प्रमाण भने होइनन्।
ती कागजात अमेरिकाको बजफीड न्यूजलाई चुहाइएको थियो। ती कागजात विश्वभरिका खोज पत्रकारहरूको संस्थासँग बाँडिएको थियो जसले त्यसलाई ८८ देशका १०८ समाचारसंस्थालाई बाँड्यो।
तीमध्ये बीबीसीको प्यानोरमा कार्यक्रम पनि पर्छ।
नेपाललाई 'पाठ सिक्ने अवसर'
ती चुहाइएका विवरणमा नेपालका नौवटा ब्याङ्क तथा केही कम्पनीको नाम पनि मुछिएको देखिन्छ।
"जति कुरा बाहिर आएका छन् त्यसबाट त खास कुन आधारमा उनीहरू मुछिएका हुन् भन्ने त्यति प्रष्ट हुँदैन। हामीकहाँ धेरैजसो आयातमा कमबेसी गराएर हुने बदमासी हुने गर्छ। तर जे होस् आगामी दिनमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय कदमहरू थप कडा हुने देखिन्छ त्यसैले हामी सबै सतर्क हुनुपर्छ," नेपाल राष्ट्र ब्याङ्कका भूतपूर्व डेप्यूटी गभर्नर कृष्णबहादुर मानन्धरले बताए।
विगतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी संरचना बनाउन नेपालमाथि अन्तर्राष्ट्रिय दबाव परेको थियो।
फाइनान्शल एक्शन टास्क फोर्स (एफएटीएफ) र त्यसैको निकाय एशिया प्यासिफिक ग्रूप (एपीजी) ले नेपाललाई अन्तर्राष्ट्रिय वित्त बजारमा कालोसूचीमा राख्ने समेत चेतावनी दिएका थिए।
त्यसैको फलस्वरूप नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन तथा संरचना बनायो।
साथै केन्द्रीय ब्याङ्कभित्रै पनि ब्याङ्किङ प्रणालीमा हुने शङ्कास्पद कारोबारको जानकारी राख्न् वित्तीय जानकारी एकाइ स्थापना भयो।
"तोकिएका मापदण्डविपरीतका शङ्कास्पद कारोबारबारे ब्याङ्कहरूले वित्तीय जानकारी एकाइमा विवरण दिन्छन्। तर पनि कतिपय अवस्थामा जानकारी नभएर वा झुक्याएर पनि विभिन्न गतिविधि भएका हुनसक्छन् त्यसैले हाम्रा ब्याङ्कहरू तथा निकायहरू एकदम चनाखो हुनुपर्ने यो फिनसेन प्रकरणबाट पाठ सिक्नुपर्छ," राष्ट्र ब्याङ्कका भूतपूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बताए।
कतिपय अवस्थामा भूराजनीतिका कारण पनि नेपाललाई बदनाम गराउन अप्रमाणित कुरा पनि बाहिर आउन सक्ने सम्भावना रहेको थापाले औँल्याए।
"अहिले हाम्रो केन्द्रीय ब्याङ्क तथा अरू निकाय सम्पति शुद्धीकरण रोक्न सक्रिय नै देखिन्छन्। तर कार्यान्वयनको सवालमा देखा पर्ने कमीकमजोरी हटाउन जरुरी छ," उनले भने।
फिनसेन फाइल र त्यसको नेपाल साइनोबारे सरकारले कुनै आधिकारिक टिप्पणी गरेको छैन।
अर्थसचिव शिशिर ढुङ्गानाले यसबारे थप बुझ्ने काम भइरहेको र त्यसपछिमात्रै आधिकारिक रूपमा केही भन्न सकिने बीबीसीलाई बताए।