बीबीसी बहसमा नेकपाभित्रको विवादको चिरफार

अडिओ क्याप्शन सुरु हुँदैछ, बीबीसी बहसमा नेकपाभित्रको विवादको चिरफार
Published

सत्ताधारी नेकपाभित्रको विवाद ज्यूँ का त्यूँ रहेका बेला प्रधानमन्त्री पक्षधर केन्द्रीय सदस्य सूर्य थापा भन्छन् - प्रधानमन्त्रीले कुनै एक पद छाड्ने विषय एजेण्डामा छैन। यो कुनै पद त्यागेर समाधान गर्ने भन्ने विषय नै होइन।

अर्का अध्यक्ष प्रचण्ड पक्षधर केन्द्रीय सदस्य शालिकराम जम्कट्टेलले भने - नेतृत्व पार्टी सञ्चालनमा असफल भएको भन्ने हिसाबले यो कुरा उठेको हो। तर पार्टी जटिल र अप्ठेरो ठाउँमा पुगेको सत्य हो। (प्रधानमन्त्री)ले नै निकास दिने कुरा हो।

नेकपाले अहिले अपनाएको विधिविधान अनुसार दुई अध्यक्षको सहमति विना भएका निर्णय 'आकाश खसेपनि धर्ती उल्टिएपनि मान्य नहुने' थापाको भनाइ छ।

त्यसको जबाफमा जम्कट्टेल भन्छन् 'नीतिमा त्यो प्रस्ट भएपनि समस्या व्यवहारमा देखियो।' "सरकारका महत्त्वपूर्ण काममा पार्टीसँग सल्लाह भएन। पार्टीका काम लथालिङ्ग भए। म नै सबै हो। मबाहेक केही पनि हुँदैन भन्ने ढङ्गले हामीले बुझ्न थाल्यौँ भने पार्टीको के अर्थ हुन्छ, अरू नेताको के अर्थ हुन्छ," उनले भने।

तर दुवै नेताले पार्टी टुक्र्याउने मनशाय कसैको नभएको बताएका छन्।

विवाद निरन्तर

असार १० गतेदेखि जारी रहेको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक विवाद र चर्काचर्कीका माझ अझै निरन्तर छ।

तर यो अवधिमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्को पक्षको अगुवाइ गरेका अर्का अध्यक्ष प्रचण्डबीचको समूहबीचको रस्साकस्सी झन् झन् चर्किएको छ।

यसै साता नेकपाका वरिष्ठ नेता बामदेव गौतमले विवाद समाधानका लागि प्रधानमन्त्रीलाई दुवै पदमा कायम राख्दै प्रचण्डलाई सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष बनाउने भन्ने प्रस्ताव राखेपछि पार्टीभित्र तरङ्ग उत्पन्न भएको छ।

सोही सन्दर्भमा एमाले र माओवादी पृष्ठभूमिका नेकपाका दुई केन्द्रीय सदस्य सूर्य थापा र शालिकराम जम्कट्टेलबीचको बहसमा दुवैले आफ्ना धारणा राखेका छन्।

उक्त बहस विस्तृत सुन्न माथिको अडिओ लिङ्कमा क्लिक गर्नुहोस्।