इन्डोनेशिया: बिहे गर्न बन्धक बनाउने चलन रहेको टापुकी महिला भन्छिन्, 'मैले मर्न लागेको अनुभव गरेँ’

तस्बिर स्रोत, Getty Images
- Author, लिजा टम्बुनान
- Role, बीबीसी न्यूज इन्डोनेशिया
- Published
महिलाहरूलाई अपहरण गरिएको भिडिओले राष्ट्रिय बहस निम्त्याएपछि इण्डोनेशियाको दुर्गम द्वीप सुम्बामा कायम रहेको विवादास्पद युवती कब्जा गरेर बेहुली बनाउने चलन अन्त्य गर्ने अधिकारीहरूले प्रतिबद्धता जनाएका छन्।
*सीट्राले सुरुमा त्यो कामसँग जोडिएको भेटघाट रहेको ठानेकी थिइन्।
आफू स्थानीय अधिकारी भएको दाबी गर्ने दुई जना पुरूषहरूले उनले चलाइरहेको स्थानीय सहायता निकायको बजेटबारे जान्ने इच्छा गरेका थिए।
त्यसबेला २८ वर्षकी रहेकी उनी एक्लै जानु पर्ने हुनाले केही हडबडाएकी थिइन् तर सधैँ काममा पृथक रहेको देखाउन चाहने उनले आफ्ना चिन्तालाई बेवास्ता गरिन्।
एक घण्टापछि ती पुरूषहरूले उनलाई अर्को स्थानमा बैठक गर्न सुझाए र उनीहरूको कारमा चढ्न भने। उनले आफू आफ्नो मोटरसाइकलबाटै फर्कने अडान राखिन् त्यही बेला विवाद चर्कियो र पुरूषहरूको अर्को समूहले उनलाई दह्रो गरी समात्यो।
उनले भनिन्, “उनीहरूले कारभित्र धकेलिरहँदा म लात्तीले हानिरहेकी थिएँ र चिच्याइरहेकी थिएँ। म असहाय बनेकी थिएँ। कारभित्र दुई जना पुरूषले मलाई थिचे। के भइरहेको छ मैलै थाहा पाइसकेकी थिएँ।”
विवाहका लागि उनलाई अपहरण गरिँदै थियो।

तस्बिर स्रोत, Getty Images
दुलहीलाई बन्धक बनाउने वा कावीन ताङकाप सुम्बामा चलिरहेको विवादास्पद चलन हो जसमा महिलालाई परिवारका सदस्य वा विवाह गर्न इच्छुक पुरूषका साथीहरूले बलपूर्वक नियन्त्रणमा लिन्छन्।
लामो समयदेखि यसलाई प्रतिबन्ध लगाउन महिला अधिकारवादी समूहरूले माग गरेपनि बालीदेखि पूर्वमा अवस्थित दुर्गम टापुका केही भागमा अझै पनि यो प्रचलनमा छ।
तर दुईवटा दुलही अपहरणका भिडिओ समाजिक सञ्जालमा व्यापक रूपमा शेअर गरिएपछि सरकारले यसलाई अन्त्य गर्ने आग्रह गरिरहेको छ।
‘मलाई मर्न लागेको जस्तो अनुभव भयो’
बलियो काठे खम्बा र अग्लो छानो भएको परम्परागत घर पुग्नु अघि कारभित्रैबाट सीट्राले आफ्ना प्रेमी र आफ्ना बुवाआमालाई सन्देश पठाउन भने सकिन्। उनले आफूलाई अपहरण गर्ने आफ्नो बुवातर्फका टाढाका नातेदार भएको पनि थाहा पाइन्।
“त्यहाँ धेरै जना मानिसहरू कुरिरहेका थिए। म पुगेपछि त्यहाँ घण्टी बजाउन थालियो र कर्मकाण्ड सुरु गरियो।”
सुम्बाका मानिसहरूले इसाइ र इस्लाम बाहेक प्रकृतिलाई पुज्ने मारापु भनिने प्नाचीन धर्म उल्लेख्य रूपमा मान्ने गर्छन्।

तस्बिर स्रोत, Getty Images
“सुम्बामा मानिसहरूले तपाईँको निधारमा पानीले छोयो भने घर छाड्नुहुँदैन भनेर विश्वास गर्छन्” सीट्रा भन्छिन्, “मलाई के भइरहेको छ त्यसको पूरा जानकारी थियो त्यही भएर उनीहरूले त्यस्तो गर्न खोज्दा पानीले निधारमा नछोओस भनेर म अन्तिमसम्म अस्वीकार गरिरहन्थेँ।’
बन्धक बनाउनेले उनलाई प्रेमका कारणले त्यस्तो गरेको भन्दै विवाह स्वीकार गर्न फकाउन पनि खोजेका थिए।
“म घाँटी नसुकेसम्म रोइरहेँ। मैले आफूलाई भुईँमा पछारेँ। आफूसँगै राखेको मोटरसाइकलको चाबीले मैलै चोट नलागुन्जेलसम्म दरफर्याइरहेँ। मैले आफ्नो टाउको बलियो काठे खम्बामा ठोक्किरहेँ। म यो चाहिरहेकी छैन भन्ने उनीहरूले बुझुन् भन्ने म चाहन्थेँ। मलाई अपेक्षा थियो उनीहरू दु:खी हुनेछन्।”
छ दिनसम्म कैदी जसरी राख्दा बैठक कोठमा सुत्न दिइएको भन्दै उनले भनिन्, “म रातभर रून्थेँ र सुत्दिनथेँ। मलाई म मर्न लागिरहेकी छु जस्तो अनुभव हुन्थ्यो।’
सीट्राले उक्त परिवारले दिएको खाना वा पानी पनि अस्वीकार गरेकी थिइन्। किनभने त्यसलाई परम्परागत मान्यता अनुसार विवाह गर्न तयार भएको अर्थमा ठहर्याउन सकिन्थ्यो।
परिवारका सदस्यहरूले गाउँका अगुवा र सम्भावित दुलाहासँग घर फिर्तीबारे कुराकानी गरिरहँदा उनकी बहिनीले लुकाएर सीट्रालाई खाना र पानी पुर्याइदिने गरिन्।

तस्बिर स्रोत, Getty Images
लेनदेनको सम्भावना
महिला अधिकारवादी समूह पीरूआटीले पछिल्लो चार वर्षमा उक्त टापुमा ७ वटा दुलही बन्धक बनाउने घटना भएको अभिलेख गरेपनि वास्तविक सङख्या अझै बढी हुनसक्ने ठानिन्छ।
सीट्रा सहित जम्मा तीन महिला रिहा भए भने जून महिनाको भिडिओसँग जोडिएका पछिल्ला दुई महिलामध्ये एक जनाले विवाह स्वीकार गरिन्।
उनीहरूले विवाह स्वीकार गरे किनभने उनीहरूसँग विकल्प थिएन,” पीरूआटीकी स्थानीय प्रमुख रहेकी अधिकारकर्मी अप्रिशा तारानाउ भन्छिन्।
उनका अनुसार विवाह अस्वीकार गर्नेहरूले समाजबाट अपहेलना सहनुपर्ने अवस्था छ।
“उनीहरूलाई अपमान गरिन्छ र मानिसहरूले अब तिमीहरूको बिहे हुँदैन र बच्चा हुँदैन भन्छन्। डरका कारण महिलाहरू विवाह स्वीकार गर्छन्।”
सीट्रालाई पनि यस्तै भनिएको थियो।
“धन्य भगवान, मैले आफ्नै प्रेमीसँग विवाह गरेँ र अहिले हाम्रो एक वर्षको बच्चा छ,” बन्धक बनाइएको तीन वर्षपछि उनले भनिन्।

अन्त्य गर्ने वाचा
स्थानीय इतिहासकार तथा अगुवा फ्रान्स वोरा हेबीले बेहुली बन्धक बनाउने अभ्यास सुम्बाको धनी सांस्कृतिक परम्पराको हिस्सा नभएको र आफूसँग महिलाहरूलाई विवाह गर्न दबाव दिन मानिसहरूले यसलाई प्रयोग गरिरहेको बताए।
उनले सरकारले ठोस कदम नचाल्दा यो अभ्यास नियन्त्रणमा नआएको पनि बताए।
तर पछिल्ला घटनाहरूको राष्ट्रिय रूपमा नै विरोध भएपछि क्षेत्रीय नेताहरूले यसै महिनाको सुरुमा संयुक्त रूपमा उक्त अभ्यास अस्वीकार गर्ने प्रतिबद्धता जनाएका छन्।
राजधानी जकार्ताबाट उक्त टापुमा पुगेर महिला सशक्तिकरण मन्त्री बिन्ताङ पुष्पयोगाले संयुक्त घोषणा गर्दै उक्त अभ्यास रोक्ने सरकारी प्रयासको अंश भएको बताइन्।
उनले उक्त अभ्यासलाई महिला विरूद्धको हिंसाका रूपमा लिएको धारणा राखेकी थिइन्।

अधिकारवादी समूहहरूले त्यसलाई आफ्नो लामो अभियानको एउटा पहिलो उपलब्धिका रूपमा लिएका छन्।
सरकारले यस विषयमा ध्यान दिन थालेकोमा सीट्रा खुशी छन् र उनी आफूले भोगे जस्तो कसैले भोग्नु नपरोस भन्ने ठान्छिन्।
“कसैका लागि यो हाम्रो पूर्खाहरूबाट आएको चलन हुनसक्छ। तर अहिलेको समयमा यो सान्दर्भिक छैन र यो रोकिनुपर्छ किनभने यसले महिलाहरूलाई क्षति पुर्याइरहेको छ।”
*परिचय जोगाउन नाम परिवर्तन गरी सीट्रा भनिएको हो।




















