तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पठाओ: प्रमुख कार्यकारी फहिम सलेहको हत्या अभियोगमा उनकै सहयोगी पक्राउ
अमेरिकाको न्यूयोर्कमा मृत भेटिएका पठाओका एक संस्थापक फहिम सलेहको हत्या अभियोगमा एक व्यक्तिलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ।
म्यान्हटनस्थित आफ्नो अपार्टमेन्टमा ३३ वर्षीय सलेहको शव टाउको र अन्य अङ्ग काटिएको बीभत्स अवस्थामा भेटिएको थियो।
उनका २१ वर्षीय सहायक टाइरिस हस्पिललाई गिरफ्तार गरिएको र हत्याको अभियोग लगाइएको छ।
प्रहरीका अनुसार सन्दिग्ध ती युववले सलेहको दशौँ हजार डलर तिर्न बाँकी रहेको आरोप छ।
व्यवसायी सलेहले बाङ्ग्लादेश र नाइजिरियामा लोकप्रिय राइड शेअरिङ कम्पनी स्थापना गरेका थिए।
सीसीटीभी फुटेजको दृष्य
ती व्यक्तिले सलेहलाई विद्युत् प्रवाह गर्ने अस्त्र टेसर प्रहार गरेको र धारिलो हतियारले साङ्घातिक आक्रमण गरेको आरोप लगाइएको छ।
"ती सन्दिग्धले सलेहको आर्थिक करोबार र निजी मामिला हेर्ने गर्थे," न्यूयोर्क प्रहरी विभागका प्रमुख गुप्तचर रोड्नी ह्यारिसनले शुक्रवार संवाददाताहरूलाई भने, "उनले पीडितसँग ठूलो रकम लिएको विश्वास गरिएको छ।"
सलेह केही दिन नदेखिएपछि उनकी बहिनीले प्रहरीलाई गुहारेकी थिइन्। मङ्गलवार उनको शव भेटिएको ह्यारिसनले जानकारी दिए।
अमेरिकी सञ्चारमाध्यमका अनुसार सलेह बस्ने भवनको सीसीटीभी फुटेजमा सोमवार मास्क लगाएका एक मानिससँगै उनलाई लिफ्टबाट आएको देखिन्छ।
प्रहरीका अनुसार उनको शरीरनजिकै विद्युतीय करौँती भेटिएको जनाएको छ।
को हुन सलेह?
सलेह बाङ्ग्लादेशी आप्रवासीका छोरा हुन्। उच्च शिक्षा अध्ययन गरिरहेकै बेला उनले पहिलो कम्पनी स्थापना गरेका थिए।
उनी सन् २०१५ मा बाङ्ग्लादेश र नेपालमा लोकप्रिय रहेको पठाओको सहसंस्थापक बन्न पुगेका थिए।
हालसालै उनले नाइजिरियामा मोटरसाइलक ट्याक्सी एप गोकाडा स्थापनामा सहयोग गरेका थिए।
तर यो वर्षको सुरुमा त्यहाँको ठूलो सहर लागोसका अधिकारीहरूले मोटरसाइकल ट्याक्सीमा प्रतिबन्ध लगाएपछि उक्त कम्पनीले धक्का बेहोरेको थियो।
दुवै कम्पनीले ती उद्यमी युवाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
ट्वीट गर्दै गोकाडाले सलेह आफ्ना लागि राम्रो अगुवा, प्रेरणाका स्रोत र सकारात्मक व्यक्तित्व भएको बताएको छ।
सलेहसँगै मिलेर पठाओको स्थापना गरेका हुसैन एम इलिअसले बाङ्ग्लादेशको डेली स्टार समाचारपत्रलाई फहिम 'बाङ्ग्लादेश र अन्यत्रको जीवन बदल्ने सम्भावना प्रविधिमा रहेको विश्वास राख्ने व्यक्ति' भएको बताएका छन्।
उनले भनेका छन्, "उनी पठाओ र हाम्रो सबै प्रणालीको निम्ति अविश्वनीय प्रेरणा थिए र रहिरहनेछन्।"