विकास दुबे: कानपुरमा आठ सुरक्षाकर्मी मारिएपछि भारतमा सर्वाधिक खोजिएका 'गुन्डा नाइके' पक्राउ

Published

भारतमा गत साता आठ सुरक्षाकर्मी मारिएको घटनामा संलग्न भएको आरोपमा सर्वाधिक खोजीमा परेका एक गुन्डा नाइके विकास दुबे पक्राउ परेका छन्।

दुबेले नेतृत्व गरेको एउटा आपराधिक समूहलाई गत शुक्रवार पक्राउ गर्न जाँदा आक्रमणमा परेर उत्तर प्रदेश राज्यको कानपुरमा आठ जनाको मृत्यु भएको थियो।

उक्त घटनापछिको झन्डै एक सातादेखि फरार रहेका दुबेलाई मध्यप्रदेश राज्यको एउटा मन्दिरमा पक्राउ गरिएको हो।

केही भारतीय सञ्चारमाध्यमले उनी भागेर नेपाल छिरेको वा छिर्न सक्ने आशङ्का व्यक्त गरेका थिए।

उनको तस्बिर भएका पोस्टरहरू नेपाली सीमासँग जोडिएका जिल्लाहरूमा टाँसिएको र प्रहरी उच्च सतर्कतामा बसेको नवभारत टाइम्सले जनाएको थियो।

अनुसन्धान

समाचारहरूमा जनाइएअनुसार बिहीवार सबेरै दुबेलाई उज्जैन सहरमा देखेपछि एक स्थानीय पसलेले प्रहरीलाई सूचना दिएका थिए।

बुधवार प्रहरीले उनका एक प्रमुख सहयोगी अमर दुबेको गोली हानाहानमा परेर मृत्यु भएको बताएको थियो।

बिहीवार दुबेका अन्य दुई सहयोगी पनि भिन्न कारबाहीहरूमा मारिएका छन्।

प्रहरीले गत शुक्रवार गरिएको उक्त कारबाहीबारे दुबेको समूहले कसरी सुइँको पायो भनेर अनुसन्धान भइरहेको बताएका छन्।

उक्त घटनापछि त्यस ठाउँनजिकैका दर्जनौँ प्रहरीको सरुवा गरिएको थियो।

विकास दुबेमाथि हत्या, अपहरण र फिरौती उठाउने घटनामा संलग्न भएका ६० वटाभन्दा बढी अभियोगहरू छन्।

दबाव

गत साताको घटनापछि अधिकारीहरूमाथि उनलाई पक्राउ गर्न उच्च दबाव परेको थियो। उनीविरूद्ध यसअघि पनि थुप्रै उजुरी दर्ता गरिएका थिए।

प्रहरी विवरणहरूका अनुसार उनी झन्डै तीन दशकदेखि आपराधिक गतिविधिमा संलग्न छन्।

उनी यसअघि पनि केही पटक पक्राउ परेका थिए। तर उनले कुनै पनि अभियोगमा सजाय पाएका छैनन्।

कानपुरस्थित पत्रकार प्रवीण मेहताले बीबीसी हिन्दीलाई भने, "सबै राजनीतिक दलमा विकास दुबेको प्रभाव छ। यही कारण उनी पक्राउ परे पनि केही दिनमा छुटिहाल्ने गरेका थिए।"