करोडौँ वर्षअघि भीमकाय डाइनसोरका पुर्खा ‘वामन भएको प्रमाण’

म्याडग्यास्करमा सन् १९९८ मा भेटिएको जीवाश्मको अनुसन्धान गरेर वैज्ञानिकहरूले एउटा शोधपत्र प्रकाशित गरेका छन्
तस्बिरको क्याप्शन, म्याडग्यास्करमा सन् १९९८ मा भेटिएको जीवाश्मको अनुसन्धान गरेर वैज्ञानिकहरूले एउटा शोधपत्र प्रकाशित गरेका छन्
Published

करोडौँ वर्षअघि पृथ्वीबाट लोप भएका डाइनसोरहरू भीमकाय थिए भन्ने धेरै बुझाइ छ।

तर एउटा नयाँ अनुसन्धानका क्रममा तिनका पुर्खा वामन भएको प्रमाण फेला परेको छ।

म्याडग्यास्करमा भेटिएको डाइनसोरको नातेदारको एउटा जीवाश्ममा त्यस्तो प्रमाण भेटिएको हो। उक्त जीव झन्डै २३.७ करोड वर्षअघि त्यो क्षेत्रमा विचरण गर्थ्यो र केवल १० सेन्टिमिटर अग्लो थियो।

उक्त नमुनाले टेरसोर भनिने पखेटा भएका उड्ने जीवको उत्पत्तिबारे विद्यमान अस्पष्टता पनि मेटिदिन सक्छ। उक्त जीवलाई डाइनसोरको समकालीन मानिन्छ।

यो अनुसन्धान ‘प्रसीडिङ्स अफ द न्याश्नल अक्याडमी अफ साईअन्सेज’ नामक जर्नलमा प्रकाशित भएको छ।

‘अचम्म लाग्ने सानो’

उक्त शोधपत्रका सहलेखक क्रिश्चन क्यामेरर भन्छन्, “डाइनसोरहरू भीमकाय हुन्छन् भन्ने सामान्य बुझाइ छ।”

“तर यो नयाँ जीव डाइनसोर र टेरसोरबाट छुट्टिएको जस्तो देखिन्छ। अनि यो अचम्म लाग्ने गरी सानो छ।”

मीसजोइक कालमा भुइँमा डाइनोसरको र आकाशमा टेरसोरको साम्राज्य थियो। तर उनीहरूको सम्बन्ध अझै अस्पष्ट छ
तस्बिरको क्याप्शन, मीसजोइक कालमा भुइँमा डाइनोसरको र आकाशमा टेरसोरको साम्राज्य थियो। तर उनीहरूको सम्बन्ध अझै अस्पष्ट छ

क्यामेरर नोर्थ क्यारलाईना म्यूजीअम अफ न्याचरल साईअन्सेजसँग आबद्ध छन्।

वैज्ञानिकहरूको एउटा समूहले उक्त जीवको अवशेष सन् १९९८ मा म्याडग्यास्करमा फेला पारेको थियो।

के छन् अरू विशेषता?

कोङ्गोनाफोन केली नाम दिइएको उक्त जीवको दाँत खिइएको छ।

त्यसबाट उसले कीराको आहारा गर्ने सङ्केत भेटिन्छ।

शरीरमा तापक्रम मिलाउन डाइनसोर र टेरसोरमा जस्तै रौँ विकसित भएको अनुमान गरिएको छ।

सानो शरीरमा ताप कायम राख्न कठिन हुने र उक्त जीव पाइने कालमा हावापानी पनि चरम भएको विज्ञहरूको भनाइ छ।

त्यति बेला दिनमा गर्मी र रातमा चिसो हुन्थ्यो भन्ने शोधकर्ताहरूको भनाइ छ।