पाकिस्तान आक्रमणः कराचीस्थित स्टक एक्स्चेन्जमा गोली चल्यो, 'केही आक्रमणकारी र अन्य व्यक्तिको मृत्यु'

Published

कराचीस्थित पाकिस्तान स्टक एक्स्चेन्जको भवनमा बन्दुकधारीहरूले आक्रमण गर्दा कम्तीमा दुई जनाको मृत्यु भएको र केही अन्य घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

मूलढोकामा ग्रिनेड विस्फोट गराएर ती आक्रमणकारीहरू भवनमा प्रवेश गरेको बताइएको छ।

समाचारहरूमा प्रहरीलाई उद्धृत गर्दै आक्रमणमा संलग्न चार जनालाई मारिएको बताइएको छ।

बलोच लिबरेशन आर्मीले घटनाको जिम्मेवारी लिएको छ।

बलोच जातीय समूहहरू छुट्टै देशको माग राखेर लामो समयदेखि विद्रोह गरिरहेका छन्।

कसरी भयो आक्रमण?

आक्रमणको सुरुमा स्वचालित राइफल बोकेका लडाकुहरूले ग्रिनेड प्रहार गरेका थिए। त्यसपछि उनीहरूले उक्त भवनबाहिर अवस्थित सुरक्षाकर्मीको चौकीमा गोली हाने।

उनीहरू एउटा कारमा आएको कराची प्रहरीका प्रमुखले समाचारसंस्था रोएटर्सलाई बताए।

आक्रमण भएपछि सुरक्षाकर्मीले प्रतिकार गरेको अधिकारीहरूले बताएका छन्। त्यही बेला चार आक्रमणकारीको मृत्यु भएको हो।

हताहत हुनेमा प्रहरी र अन्य सुरक्षाकर्मी पनि भएको हुन सक्ने प्रहरीले जनाएको छ.

पाकिस्तान स्टक एक्सचेन्जले एउटा वक्तव्यमा घटना टुङ्गिन बाँकी भएको जनाएको छ।