फुटबल लिग: तल खस्किएपछि किन माथि उक्लन सक्दैनन् क्लबहरू

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

'बी' डिभिजनमा घटुवा हुने अधिकांश क्लबको अस्तित्व नै मेटिने गरेको इतिहासका माझ फुटबल क्लबहरू जसरी पनि 'ए' डिभिजनमा अडिन चाहेको देखिन्छ।

यसपाली सरस्वती क्लब शहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको पुछारमा रहेपछि 'बी' डिभिजनमा घटुवा भएको छ।

१३ औँ चरणको खेल सकिँदा टोलीले एक जित र एक बराबरी खेलेको थियो भने ११ खेलमा उसले पराजय भोग्यो।

फलस्वरूप उसले झन्डै एक दशक लामो समयको 'ए' डिभिजनको हैसियत गुमाउनु पर्‍यो।

यसपाली सशस्त्र प्रहरी बलको एपीएफ र च्यासल युवा क्लब पनि झन्डै घटुवा वा 'रेलिगेशन' मा परेका थिए। तर सरस्वती क्लबको प्रयास सबैभन्दा कमजोर देखियो।

यसमा क्लबका थुप्रै पदाधिकारीहरू दु:खी छन्, असन्तुष्ट छन्।

क्लबका वरिष्ठ सदस्य राजेन्द्र न्यौपाने भन्छन् - "हाम्रा पदाधिकारीहरू मानसिक रूपमा बी' डिभिजनमा झर्ने मनस्थितिमा देखियो। क्लबको लामो इतिहास बचाउन प्रयत्न गरेको देखिएन। सामूहिक छलफल सम्म भएन। नमज्जा अनुभव गरिरहेका छौँ।"

झर्नुको पीडा

नेपाली क्लब फुटबलको इतिहासमा रेलिगेसनमा झरेका क्लबहरूको अनौठो कहानी छ।

जो झरे, तिनमा अधिकांश क्लब फेरी उक्लन सकेनन् नै, उनीहरूको अस्तित्व समेत बिलाउने गरेको देखिन्छ।

त्यो डरलाग्दो तथ्यको जानकार क्लब अधिकारीहरू झस्किने गर्छन् र जसरी भएपनि रेलिगेशनबाट जोगिने योजनामा लाग्ने गर्छन्।

त्यसको लागि मेहनत गर्छन्। पैसा खर्च गर्छन्। म्याच फिक्सिङ वा खेल मिलेमतोसम्म गर्न पछि नपरेको दृष्तान्त भेटिने गर्छ। जोगिने हरदम प्रयास गर्छन्।

अन्नपूर्ण, सुनाखरी, महाबीर, नोर्बुलिङ, लालुपाते टिम, नक्साल खेलमण्डल, काठमान्डू क्लब, बौद्ध, ब्वाइज स्पोर्ट्स, स्वयम्भू, कोइलापानी, सुन्धारा, ज्ञानेश्वर, बालकुमारी, नघल टोल टिम - यी यस्ता क्लबहरू हुन्, जो एक समय ए डिभिजनका चर्चित क्लब थिए।

तर यी क्लबहरू अहिले अस्तित्वमा छैनन्।

'बी' डिभिजनमा झरेसँगै यिनिहरूको अस्तित्व कता हरायो कता।

क्लबहरू माथि उठ्न नसक्नुको कारण भने समय चक्रसँगै फेरिएको देखिन्छ।

फुटबल विश्लेषक सञ्जिव मिश्र भन्छन्, "कुनै समय 'ए' मा हालीमुहाली गरेका थुप्रै चर्चित क्लबहरूको अहिले नामोनिशान नै भेटिँदैन।"

कारण

३० र ४० को दशकमा 'ए' बाट झरेका क्लबहरू फेरि नउक्लिनुको कारण 'छिमेकी टोल' मा ए डिभिजन क्लबहरूको संख्या धेरै हुनुलाई ठानिन्छ।

त्यतिबेला नेपाली फुटबलको आधार क्षेत्र भनेकै काठमान्डूका भित्री शहरका क्लबहरू हुन्थे।

स्वभावत: त्यहाँ 'ए' डिभिजन क्लबहरूको सङ्ख्या धेरै थियो।

नेपाली फुटबलको सबैभन्दा पुराना क्लबहरू रानीपोखरी कर्नर टिम (आरसीटी), न्युरोड टिम (एनआरटी) र संकटासँग धेरै खेलाडी भएकाले त्यस अन्तर्गत पनि हाँगा क्लबहरू हुने गर्थे।

आरसीटी अन्तर्गत त एकपटक सातवटा क्लब थियो। जस्तै: आरसीटीको ए, बी र सी अनि सुपर आरसीटी र अन्नपूर्ण क्लबसम्म थियो।

संकटाको सेतो र रातोगरी दुई टोली थियो भने एनआरटीसँग योङ एनआरटी पनि थियो।

अनि तिनका क्लब 'बी' डिभिजनमा झरेपछि फेरि 'ए' मा उक्लिन प्रयास गर्दैनथे।

अहिले आरसीटी, संकटा र एनआरटीको एउटै मात्र टोली अस्तित्वमा छन्। तिनका हाँगा क्लबहरू बिलाइसकेका छन्।

आरसीटी त अहिले 'बी' डिभिजनमा पुगेको छ।

बानेश्वरको लालुपाते टिम, झम्सिखेलको सुनाखरी क्लब, ललितपुरको नोर्बुलिङ क्लब, नघल टोल टिम, सुन्धारा जस्ता क्लब ३० र ४० कै दशकमा झरे र फेरी उक्लिन सकेनन्।

उमेश प्रधान जस्ता खेलाडीहरू खेल्ने बालकुमारी क्लबपनि ४६ सालमा बी मा झर्‍यो।

'अर्ध व्यावसायिकता'

४० को दशकमा नयाँ क्लबहरूको आगमन हुन थाल्यो। मनाङ मर्स्याङदी जस्ता क्लबको उदय भयो।

यतिबेलासम्म फुटबल प्रतिष्ठाको लागि खेलिने गर्थ्यो। खेलाडीहरू टोलको लागि खेल्थे भने प्रतियोगिता जित्नु आफ्नो ठाउँको इज्जतसँग जोडिन्थ्यो।

काठमान्डूमा त्यो रमाइलोको मुख्य साधन समेत हुने गर्दथ्यो।

क्लबहरू सामाजिक संस्थाका रूपमा दर्ता थिए। खेलाडीहरूले खेलेबापत पारिश्रमिक पाउने भन्ने कुनै विषय नै थिएन।

२०४६ सालमा प्रजातन्त्रको आन्दोलनले फुटबलमा असर पर्दा २०५१ सालसम्म लिग सञ्चालन हुन सकेन।

५२ सालमा पुन: लिग शुरु हुँदा क्लबहरूले टिम बनाउन खेलाडी किन्नैपर्ने अवस्था आइसकेको थियो।

त्यसैले ५० को दशकपछि फुटबलमा अर्ध व्यावसायिकताको युग शुरु भएको ठानिन्छ।

यो शुरुआतसँगै त्यसमा प्रतिस्पर्धा गर्न नसक्ने क्लबहरु ए मा टिक्न नसकेको बताइन्छ।

आरसीटीको अन्नपूर्ण क्लबले पनि ५२ सालमा नै 'बी' मा झर्दै अस्तित्व गुमाएको हो।

एनआरटी क्लबका महासचिव नरेन्द्र श्रेष्ठ भन्छन् "फुटबल महँगो हुन थालेपछि क्लबहरु बाँच्न सकेनन्। फुटबल सस्तो कहाँ छ र अब?"

अन्यसँग प्रतिस्पर्धा

फुटबलको वर्चश्व जस्तै देखिएको नेपाली खेलकुदमा नयाँ खेलहरूको प्रभाव पनि बलियो हुन थालिसकेको थियो। क्रिकेट जस्ता थुप्रै खेलहरू चर्चामा आइसकेका थिए।

मनाङ मर्स्याङदी क्लबले खेलाडीहरूलाई आधिकारिक रूपमा नै मासिक पारिश्रमिक दिई अनुबन्धन गर्न शुरुआत गरिसकेको थियो।

फुटबललाई प्रतिस्पर्धात्मक बनाउन अखिल नेपाल फुटबल संघले विदेशी खेलाडी किन्न पाउने नियम ल्याएपछि फुटबल अझ धेरै व्यावसायिकतातिर अग्रसर भएको देखिन्छ।

थ्री स्टार क्लबले २०५४ सालमा विदेशी खेलाडीहरू खेलाएर 'ए' डिभिजन लिग नै जित्यो।

५७ सालमा ताहाचलको युनाइटेड युथ क्लब झर्‍यो। न्युरोडकै ब्वाइज स्पोर्टस् क्लबले ६० सालमा 'ए' डिभिजनमा प्रतिस्पर्धा नगरिकनै 'बी' डिभिजन स्वीकार्‍यो।

६१ सालमा काठमान्डू क्लब झर्‍यो। नक्साल खेल मण्डल, स्वयम्भू, बौद्ध, महाबीर जस्ता नाम चलेका क्लबहरू क्रमश: बिलाउँदै गए।

नवलपरासीको कोइलापानी ६८ सालमा 'ए' मा उक्लिने काठमान्डू उपत्यका बाहिरको पहिलो क्लब त बन्यो। तर बजेटकै अभावले एक साल पनि क्लब ए मा टिक्न सकेन।

अपवाद छन् केही बहादुर क्लबहरू

केही क्लबहरु छन्, जो निरन्तर ए डिभिजनमा उक्लिन प्रयासरत छन्।

बाँसबारी क्लब तीन पटक 'बी' मा झरेपनि पुन: ३ पटक 'ए' मा उक्लिन सफल क्लब हो।

अहिले 'बी' डिभिजनका खेल शुरु भएको छ, त्यसमा पनि बाँसबारी 'ए' मा उक्लिने लक्ष्यका साथ खेलिरहेको छ।

'बी' मा संघर्ष गर्ने नियमित क्लबहरू पनि छन्। ठूलो समर्थक सहित 'ए' डिभिजनमा पाइला टेकेको मध्यपुर युथ 'ए' मा टिकिरहन सकेन, तर उसले 'ए 'मा उक्लिने प्रयास भने छोडेको छैन।

यसपाली 'ए' मा उक्लिन उत्कट चाहना राख्ने क्लबमा आरसीटीको नाम अग्रस्थानमा आउँछ। सयवर्ष लामो इतिहास बोकेको क्लब 'बी' मा खुम्चिनुपर्दा उनीहरूलाई उकुसमुकुस भइरहेको छ।

गतवर्ष 'बी' डिभिजन विजेता भएपनि 'ए' डिभिजनमा रेलिगेशन प्रणाली नै नराख्दा टोली उक्लिन पाएन। अहिले त्यही लक्ष्यका साथ टोली खेलिरहेको छ।

त्रिपुरेश्वरको पुरानो क्लब ब्वाइज युनियन, टुसाल युवा, टोखाको श्रीभगवती युवा, ललितपुरको पुल्चोक स्पोर्टस, खुमलटार युथ, कुलेश्वरको श्री कुमारी, नयाँवस्ती, झम्सिखेल अनि सातदोबाटो क्लब पनि 'ए' मा पुग्न अहिले खेलिरहेका छन्।

यी क्लबहरूले अन्य क्लब जस्तै अस्तित्व गुमाएका छैनन्। संघर्ष गरिरहेका छन्।