रास्वपा उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आचार्य विजयी

    • Author, ईश्वर जोशी
    • Role, चितवन
  • Published
  • पढ्ने समय: ४ मिनेट

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनले नयाँ पदाधिकारी चयन गरेको छ।

शुक्रवार भएको मतदानबाट उपसभापति (महिला)मा सोबिता गौतम विजयी भएकी छन् भने महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएको पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।

रास्वपाको सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन्।

उपसभापति पदमा निर्वाचित गौतमले प्रतिस्पर्धी तोसिमा कार्कीलाई पराजित गरेकी हुन्। त्यस्तै महामन्त्रीमा आचार्यले मनीष झा, सागर ढकाल र गणेश कार्कीलाई पराजित गरेका छन्।

सहमहामन्त्री पद (खुला) तर्फ हरि ढकाल र असिम शाह विजयी भएका छन्। उक्त पदका लागि रमेश प्रसाईँ, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजीव खत्री, विजय जैरू, हरि ढकाल, हिमेश पन्त गरी ११ उम्मेदवार रहेका थिए।

सहमहामन्त्री (महिला) तर्फ निशा डाँगी विजयी भएकी छन्। उनीसँग रिमा विश्वकर्मा, जुली यादव, जमुना शर्मा 'विदुषी' र कामिनीकुमारी चौधरी रहेका थिए।

आजै साँझ नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण पनि भएको छ।

केन्द्रीय समितिमा महिलाहरूको 'उल्लेख्य' उपस्थिति

बिहीवार भएको पहिलो चरणको चुनावबाट ९९ जना केन्द्रीय सदस्यहरू निर्वाचित भइसकेका छन्। तीमध्ये झन्डै ५० प्रतिशत महिला रहेका छन्।

बिहीवार रातिको मतपरिणामबाट ९९ मध्ये ४९ जना महिला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

केन्द्रीय सदस्यका बाँकी ५० जना सदस्य सभापति रवि लामिछानेले मनोनीत गर्ने छन्। त्यसो गर्दा केन्द्रीय समितिमा महिलाको सङ्ख्या अझै बढ्ने देखिएको छ।

रास्वपामा पदाधिकारीको सङ्ख्या १९ रहने छ।

पार्टीभित्रै असन्तुष्टि?

यसअघि महामन्त्रीमा उम्मेदवारी दिएका कवीन्द्र बुर्लाकोटी, गणेश पराजुली, रञ्जु दर्शना, प्रमोद न्यौपाने, शिशिर खनाल, राजुनाथ पाण्डे र जगदीश खरेलले उम्मेदवारी फिर्ता लिएका थिए।

त्यसो गरेर उनीहरूले महामन्त्रीमा उठेका विपिन आचार्यलाई सघाएको सङ्केत गर्दै महामन्त्रीकै उम्मेदवार गणेश कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्।

"यही अधिवेशनमा सभापतिले उदघाटन गर्दै भन्नुभएको थियो, अर्काको लागि भोट माग्ने रास्वपाको पक्का सदस्य हैन। सभापतिको भनाइ सेलाउन नपाई उम्मेदवारी फिर्ता लिएर अर्कोलाई समर्थन गरिएको छ, त्यसले सभापतिको भनाइलाई खिल्ली उडाउँछ," उनले लेखेका छन्।

"यसले हामीले खराब भनेको गठबन्धनको, प्यानलको झल्को दिन्छ। यो गलत भयो। यसो नगरौँ।"

उनले पार्टीको विधि, नीति र चरित्र लामो हुने भन्दै त्यसलाई बलियो बनाउने काम नेतृत्वको भएको बताएका छन्।

त्यस्तै महामन्त्रीकै अर्का उम्मेदवार मनीष झाले पनि महाधिवेशन स्थलमा समूहगत राजनीतिक अभ्यास भएको र त्यो नेताको अभिव्यक्तिको विपरीत भएको बताएका थिए।

"के ठेगान रवि दाइले त यहाँ आएर 'समूहगत राजनीतिक अभ्यास नगर्नू है' भन्नुभएको थियो। तर उहाँकै छायामा कसैले गर्दै हुनुहुन्छ भने सभापतिजीलाई जानकारी छैन तर उहाँको नाम बदनाम गरिरहेको छ कि कसैले भनेर पनि सोच्न सक्छौँ," पत्रकारहरूसँग बोल्दै उनले भने।

बिहीवार राति आफूलाई 'मिलेर जानुपर्छ' भन्ने कुरा आएको तर आफूले पार्टी सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेलाई "सधैँ आफूले मात्रै त्याग नगर्ने" बताएको उल्लेख गरे।

"सहमति भनेको सधैँ त्याग मात्रै होइन। सहमति भनेको कहिलेकाहीँ प्राप्ति पनि हो। तर मैले गर्ने राजनीतिक सहमति किन त्यागमात्रै भइदिन्छ भनेर मैले प्रश्न गरेँ," उनले भने।

मतदानमा न्यून सहभागिता

सुरुमा तीन दिनका लागि भनेर गत आइतवार सुरु भएको महाधिवेशनको छैटौँ दिनमा पदाधिकारीहरूका लागि निर्वाचन भएको थियो।

बिहीवार केन्द्रीय सदस्यहरूको निर्वाचन हुनुअगाडि नै ठूलो सङ्ख्याका महाधिवेशन प्रतिनिधिहरू आआफ्ना ठाउँ फर्किसकेका थिए।

फलतः शुक्रवारको मतदानमा आधाभन्दा कम प्रतिनिधिहरू मात्र सहभागी रहेको बताइएको छ।

समग्र महाधिवेशन कस्तो रह्यो?

कुनै वैचारिक वा सैद्धान्तिक धार नभईकन "समयको माग"ले जन्मिएको पार्टीबाट धेरै अपेक्षा गर्न नमिले पनि बाहिरबाट हेर्दा रास्वपाको महाधिवेशन पुराना दलहरूका यस्ता कार्यक्रमभन्दा फरक नदेखिएको राजनीतिशास्त्री सुचेता प्याकुरेल बताउँछिन्।

"पारदर्शिता कायम गर्छौँ भन्नुभएको थियो, त्यसो नभएजस्तो देखियो। पर्दापछाडि रणनीतिहरू बनाएको जस्तो भान परेको छ," उनी भन्छिन्।

साथै प्याकुरेलले महाधिवेशनले पारित गरेको भनिएको सामाजिक लोकतन्त्रको नीति र प्रदेशसभा खारेज गर्नुपर्ने मागसहितका प्रतिवेदनबारे पनि धेरै कुरा अस्पष्ट रहेको बताइन्।

काठमाण्डूबाट पवनराज पौडेलको थप रिपोर्टिङ

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।