अस्ट्रेलियामा भइरहेको भीषण वर्षाले यो हप्ताभित्र सबै डढेलो निभाउने आशा

Published

अस्ट्रेलियामा डढेलोबाट सबैभन्दा धेरै प्रभावित न्यू साउथ वेल्स राज्यमा केही दिनयता परेको ठूलो पानीले त्यहाँ अझै बलिरहेका डढेलो निभाइदिने आशा बढेको छ।

शुक्रवारदेखि आगलागीबाट प्रभावित उक्त क्षेत्रमा वर्षौँयताको भीषण वर्षा भएको छ।

वर्षाले धेरै ठाउँमा बाढी निम्त्यायो तथा जनजीवन प्रभावित भयो।

केही स्थानबाट सयौँ मानिसलाई उद्धार गर्नुपरेको थियो।

सबै डढेलो निभ्ने आशा

ठूलो पानीले ३० वटा विभिन्न डढेलो निभाइदिएको छ।

सिड्नीको उत्तर र दक्षिणमा नोभेम्बर महिनादेखि बलिरहेको 'विशाल डढेलो' निभेका छन्। ती प्रत्येक डढेलोले पाँच-पाँच लाख हेक्टर क्षेत्रफल प्रभावित पारेका थिए।

न्यू साउथ वेल्सको अग्निनियन्त्रक निकायका अनुसार त्यहाँ अझै चारवटा डढेलो भने अनियन्त्रित ढङ्गले बलिरहेको छ। सो राज्यभरि कुल २४ डढेलो अझै बलिरहेका छन्।

उक्त निकायका प्रवक्ताले मौसम पूर्वानुमानअनुसार अब बाँकी डढेलो छिट्टै निभ्ने ठानिएको बताए।

"यो साताको अन्त्यसम्ममा अनियन्त्रित डढेलो एउटा पनि बाँकी नरहने आशा गरेका छौँ," उनले भने।

अस्ट्रेलियाका ठूल्ठूला झाडीक्षेत्रमा यसपालि लागेको डढेलो अत्यन्तै डरलाग्दा थिए। ती डढेलोबाट न्यू साउथ वेल्समा सबभन्दा धेरै प्रभाव पर्‍यो।

अभूतपूर्व आकार र सघनतासहितका ज्वालाहरू जलवायु परिवर्तनको असरको परिणाम भएको वैज्ञानिकहरूले बताएका थिए। तापक्रम बढ्दै जाँदा देशभरि झन् सुक्खा देखा परेको थियो।

अस्ट्रेलियाभरिमा डढेलोका कारण ३३ जनाको ज्यान गयो भने हजारौँ घर नष्ट भए।

कुल एक करोड १० लाख हेक्टर जमिन डढेलोको चपेटामा परेको थियो। यो क्षेत्रफल इङ्ग्ल्यान्डको कुल क्षेत्रफल बराबर हो।

मौसम चेतावनी

सबभन्दा भीषण वर्षा मङ्गलवार नै भइसक्ने भए पनि बाँकी दिनमा पनि सचेत रहन भनिएको छ।

शुक्रवारयता सिड्नी सहरमा ३९१.६ मिलिमिटर पानी परेको छ। मौसम विभागका त्यो सामान्यतया चार महिनामा पर्ने मात्रा हो।

न्यू साउथ वेल्स राज्यका आपत्कालीन सेवाका कर्मचारीहरूले ठाउँठाउँमा रूख ढलेको, घरभित्र भेल पसेको तथा सार्वजनिक यातायात अवरुद्ध भएकोबारे सोमवारदेखि १०,००० वटा सन्देश आएको बताए।

सयौँ मानिसहरूको उद्धार गरिएको थियो भने राज्यको उत्तरी क्षेत्रमा एक मानिसलाई बाढीग्रस्त नदीको छेउमा भएको एउटा रूखमा बसिरहेको अवस्थामा उद्धार गरियो।

बाढीले बगाएपछि रूखको सहारामा उनी १० घण्टादेखि त्यहाँ बसिरहेका थिए।

सोमवार रातिदेखि पानी पर्ने क्रममा केही कमी आएपछि उद्धारकर्मीहरूले तटीय क्षेत्रका पहिरो पन्छाउन थालेका छन् भने एक लाख घरमा बिजुली पुनर्स्थापित गर्दैछन्।