तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
स्वर्गद्वारी मन्दिर: 'भारतीय तीर्थयात्रीहरूको भरथेग'
- Author, माधव नेपाल
- Role, बीबीसी न्यूज नेपाली, स्वर्गद्वारी, प्यूठान
- Published
पाँच पाण्डवले 'स्वर्ग' जान प्रयोग गरेको बाटो मानिने प्यूठानमा रहेको स्वर्गद्वारी मन्दिर भारतीय तीर्थयात्रीहरूका लागि महत्त्वपूर्ण धार्मिक गन्तव्य बन्दै गएको छ।
व्यवस्थापन समितिका अनुसार मन्दिर दर्शनका लागि दैनिक सयौँको सङ्ख्यामा भारतीय तीर्थयात्रीहरू त्यहाँ पुग्ने गर्छन्।
पछिल्ला दिनहरूमा उनीहरूले चढाउने भेटी नै मन्दिर व्यवस्थापनको निम्ति आवश्यक पर्ने आयको मुख्यस्रोत रहेको व्यवस्थापन समितिका अधिकारीहरू बताउँछन्।
हिन्दी भाषामा सूचना
स्वर्गद्वारी मन्दिर र आसपासका क्षेत्रमा टाँसिएका र ठड्याइएका सूचनापाटीमा जति नेपाली भाषाको प्रयोग भएको छ, त्यत्ति नै हिन्दी भाषाको पनि प्रयोग भएको देखिन्छ।
स्वर्गद्वारी पुग्ने भारतीय तीर्थयात्रुहरूको सहजताको निम्ति त्यसो गरिएको बताइएको छ।
भारत उत्तर प्रदेशको सराबस्तीबाट आएका सञ्जय चौधरीले स्वर्गद्वारी पुग्दा आफूलाई छुट्टै प्रकारको आनन्दको अनुभूति हुने सुनाए।
"यहाँ आएर दर्शन गर्दा मेरो मनको इच्छा पूरा हुन्छ की हुँदैन त्यो त मलाई थाहा छैन तर स्वर्गद्वारीप्रति हाम्रो ठूलो आस्था छ," उनी भन्छन्।
प्राकृतिक दृश्य
उत्तर प्रदेशकै राहुल कनौजिया स्वर्गद्वारी एक पवित्र तथा दर्शनीय स्थल भएको बताउँदै भन्छन्, "यहाँ आउँदा मन शान्त त हुन्छ नै यहाँबाट देखिने प्राकृतिक दृश्य पनि निकै मनमोहक लाग्छ।"
हाल मन्दिरको रेखदेख गर्दै आएका तारा न्यौपानेका अनुसार भारतीय तीर्थयात्रीहरू बाह्रै महिना यहाँ आउने भए पनि वैशाख, साउन र माघ महिनामा निकै घुइँचो लाग्ने गर्छ।
न्यौपानेले संस्कृत पाठशाला र गौशाला पनि सञ्चालन गर्दै आएको मन्दिरको सञ्चालन तथा व्यवस्थापनमा भारतीय तीर्थयात्रीकै सहज भएको पनि जानकारी दिए।
"मन्दिरको आन्तरिक आयले मात्र त यहाँको व्यवस्थापन ६ महिना पनि गर्न सकिन्न," न्यौपाने भन्छन्, "भारतीय तीर्थयात्रीहरूले चढाएको अन्न तथा भेटीले नै यो मन्दिर सञ्चालन भएको छ भन्दा पनि हुन्छ।"
१२४ वर्षदेखिको धुनी
विक्रम संवत् १९५२ मा महाप्रभु भनिने नारायण गौतमले स्वर्गद्वारीमा आश्रम स्थापना गर्न महायज्ञ गरे पछि भारतीय तीर्थयात्रीहरूको आकर्षण बढेको बताइन्छ।
यहाँको महत्त्वपूर्ण विशेषता महायज्ञमा बालिएको धुनी हो।
त्यो धुनी अहिलेसम्म पनि निरन्तर बलिनै रहेको छ।
अर्थात् एक शदाब्दीभन्दा अघि देखिको आगो स्वर्गद्वारीको निरन्तर साक्षी बन्दै आएको छ।