कजाखस्तान विमान दुर्घटना: बेक एअरको विमान अल्माटी विमानस्थलनजिकै 'घरमा गएर जोतियो'

कजाखस्तान

तस्बिर स्रोत, Reuters

Published
पढ्ने समय: २ मिनेट

कजाखस्तानमा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार बेक एअरको उक्त विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेर नजिकै रहेको एउटा भवनमा जोतिएको थियो।

दुर्घटनापछि विमानमा आगो लागेन। विमानस्थलका अनुसार अधिकांश यात्रुहरू जीवितै बाहिर निस्किएका थिए।

करिब ६० जनाको उपचार भइरहेको बताइएको छ।

उडान नम्बर Z92100 भएको उक्त विमान देशको सबैभन्दा ठूलो सहर अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको थियो।

मृत्यु हुनेको सङ्ख्याबारे फरक फरक सूचना दिइएको छ। सुरुमा त्यहाँका आन्तरिक मन्त्रीले कम्तिमा १५ जनाको मृत्यु भएको जनाएका थिए। तर पछि सार्वजनिक गरिएको मृतकहरूको नामावली सूचीमा विमानका क्याप्टेन सहित १२ जनाको नाम उल्लेख छ।

कसरी भयो दुर्घटना?

अल्माटी विमानस्थलका अनुसार विमानमा ९३ जना यात्रु र चालकदलका पाँच सदस्य थिए।

कजाखस्तान

तस्बिर स्रोत, Reuters

दुर्घटनाको कारण थाहा हुन सकेको छैन।

तर उक्त विमान उडेको केही छिनमै कङ्क्रिटको एउटा संरचनामा ठोकिएर एउटा दुईतले भवनमा जोतिएको थियो।

विमानको भग्नावशेषबाट निस्किँदा अँध्यारो भएको र हिउँ परेको केही यात्रुहरूले बताएका छन्।

दुर्घटनाको कारण पत्ता लगाउन एउटा छानबिन समिति गठन हुने बताइएको छ।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

घटनास्थलनजिकै रहेका रोएटर्स समाचारसंस्थाका एक संवाददाताका अनुसार उक्त क्षेत्रमा बाक्लो कुहिरो लागेको थियो।

आपत्कालीन सेवाका कर्मचारीहरू उद्धारका लागि दुर्घटनास्थल पुगेका थिए।

विमानस्थलले जीवितै उद्धार गरी अस्पताल लगिएका ६० जनाको नाम प्रकाशित गरेको छ।

कजाखस्तान

कजाखस्तानको गृह मन्त्रालयले प्रकाशित गरेको यात्रुहरूको सूचीमा विमानमा पाँच बालबालिका र तीन शिशु भएको उल्लेख छ।

टेङ्ग्री न्यूज वेबसाइटले माराल एर्मान नामक एक यात्रुलाई उद्धृत गर्दै उड्दै गर्दा विमान हल्लिएको जनाएको छ। आफूलाई पहिला विमान फेरि ओर्लिएको जस्तो लागेको उनले बताइन्।

कजाखस्तान

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, राष्ट्रिपतिले दुर्घटनाका लागि जिम्मेवार सबैलाई कारबाही हुने बताएका छन्

उनका अनुसार विमानका कर्मचारीले नै बाहिर जाने ढोका खोलिदिएका थिए। आफूले पछि बल्ल विमान "दुई टुक्रा" भएको थाहा पाएको उनले बताइन्।

गृह मन्त्रालयका अनुसार मृत्यु हुनेमध्ये छ बालबालिका छन्।

उक्त दुर्घटनापछि बेक एअरले आफ्ना सबै उडान स्थगित गरेको छ।

अल्माटी विमानस्थलमा अन्य उडान प्रभावित नभएको बताइएको छ।

कजाखस्तानका राष्ट्रपति कसिम जोमार्त तोकायेभले मृतकका परिवारलाई समवेदना दिएका छन्। उनले दुर्घटनाका लागि जिम्मेवार सबैलाई कानुनबमोजिम कारबाही गरिने बताए।

कजाखस्तान

दुर्घटनाको इतिहास

भीआईपी उडान गर्ने उद्देश्यसहित सन् १९९९ मा स्थापित भएको उक्त कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। अहिले उक्त कम्पनी आफूलाई सस्तो विमानसेवाका रूपमा चिनाउँछ।

ऊसँग सातवटा फोकर-१०० विमान छन्।

सन् २०१३ मा पनि अल्माटीमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु भएको थियो।

त्यसको एक महिनाअघि देशको दक्षिणी भेगमा एउटा सैन्य विमान दुर्घटनाग्रस्त हुँदा २७ जनाको मृत्यु भएको थियो।

फाइल तस्बिर - कजाखस्तानको राजनधानीबाट उड्न लागेको बेक एअरको एउटा विमान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर - कजाखस्तानको राजनधानीबाट उड्न लागेको बेक एअरको एउटा विमान
Presentational grey line

यो पनि पढ्नुहोस्