तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जर्मनीमा जासुसी गरेको अभियोगमा भारतीय दम्पती दोषी ठहर
जर्मनीको एउटा अदालतले एक भारतीय दम्पतीले जासुसी गरेको ठहर गर्दै सजाय सुनाएको छ।
उनीहरूले भारतीय गुप्तचर निकायका लागि आफूले जर्मनीमा कश्मीरी र सिख समूहहरूको जासुसी गरेको स्वीकार गरेका थिए।
अदालतको अभिलेखमा मनमोहन एस र उनकी पत्नी कन्वाल जित केले जासुसी गरेबापत कम्तीमा सात हजार यूरो लिएको उल्लेख छ।
अदालतले मनमोहन एसलाई पछि लागु हुनेगरी १८ महिनाको जेल र उनकी पत्नीलाई ठूलो जरिबाना तिर्न आदेश दिएको छ।
कश्मीर भारत र पाकिस्तानबीच रहेको विवादित क्षेत्र हो। कश्मीरकै विषयमा दुई देशबीच युद्धहरू भएका छन् र बेलाबेलामा उनीहरूबीच तनाव चर्किने गरेको छ।
भारतले सन् १९८० को दशकमा सिख विद्रोह दमन गरेको थियो। त्यसपछि पनि सिख समुदायले विद्रोह पुन: गर्न सक्ने ठानेर भारतले निगरानी गर्ने गरेको बताइन्छ।
के भन्यो अदालतले?
फ्राङ्कफर्टस्थित अदालतका अनुसार ५१ वर्षीय मनमोहन एसलाई भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनलिसिस विङले सन् २०१५ मा काममा नियुक्त गरेको र कश्मीरी समूहबारे जासुस गर्न लगाएको थियो।
"अभियुक्तहरूले कोलोन र फ्राङ्कफर्टस्थित सिख गुरुद्वारा तथा सिख समुदायले आयोजना गरेका विरोधका कार्यक्रमहरूबारे विवरण दिएका थिए," अदालतले भनेको छ।
जुलाई २०१७ देखि मनमोहन एसले निरन्तर एक भारतीय गुप्तचर अधिकारीसँग बैठक गरेका र उनलाई प्रतिमहिना २०० यूरो दिने गरिएको थियो।
अदालतका अनुसार ५० वर्षीया कन्वल जित के पनि आफ्ना पतिसँगै ती बैठकमा सहभागी हुन्थिन्।
जेल सजायबाहेक ती भारतीय पुरुषलाई कुनै कल्याणकारी संस्थालाई १५०० यूरो दान दिन आदेश दिइएको छ।
अदालतको आदेशमा पतिलाई जासुसी गर्न सघाएकाले कन्वल जी केले १८० दिनको तलब बराबरको रकम जरिबाना तिर्नुपर्ने उल्लेख छ।
उनीहरूले यो हप्ताभित्र निर्णयविरुद्ध पुनरावेदन गर्न पाउनेछन्।