'अहिलेको झरी अस्वभाविक होइन, मनसुन सकिएको छैन'

Published

भदौ महिनाको अन्तिममा सुरु भएको झरी सामान्य भएको र यसमा भोलिबाट क्रमिक सुधार आउने मौसमविद्हरूले बताएका छन्।

यो वर्ष वर्षामा मनसुन धेरै सक्रिय नभएको एवम् लगातार केही दिन पानी परेर सुख्खा हुने अनि पानी पर्ने क्रम देखिएको उनीहरूले बताएका हुन्।

त्यस क्रमकै निरन्तरता विगत केही दिनको झरी भएको र मनसुन देशको पश्चिम क्षेत्रको तुलनामा मध्य र पूर्वी भागमा बढी सक्रिय रहेको छ।

नेपालभरनै पानी परेको भएपनि महाभारत शृङ्खलामा बढी परेकोले ती क्षेत्रका मानिसहरूलाई पहिरोको जोखिमबारे सचेत गराइएको छ।

स्वाभाविक झरी

"अहिले परिरहेको पानी अस्वभाविक होइन," मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले बीबीसीसँग भने।

"तर लगातार केही पानी पर्ने, अनि केही समय सुख्खा हुने अनि फेरि पर्ने क्रम जारी छ। अहिलेको पानी पनि त्यही हो।"

बुधवार परेको पानी यो वर्षको अन्तिम बर्खेझरी नभएको उनले बताए।

"मनसुन सकिएको छैन। दुईतीन दिन यता मनसुनको उत्तरार्द्धतिरको झरी देखिएको छ," मौसमविद् पौडेलले भने।

"यो क्रम भोलिबाट क्रमिक सुधार भएर जानेछ।"

"अझै पनि मनसुनी हावा बङ्गालको खाडीबाट आउने क्रम जारी छ। भोलिबाट पानी रोकिए पनि फेरि प्रणालीमा परिवर्तन आए फेरि पानी पर्न सक्ने सम्भावना रहन्छ।"

सतर्कता अपनाउन आह्वान

आज बिहान पौने ९ बजेसम्मको मौसम विवरणबाट देशका अधिकांश भागमा पानी परिरहेको देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सबैभन्दा बढी वर्षा ओखलढुङ्गामा ६२ मिलिमिटर पानी परेको र काठमाण्डू उपत्यकामा २६ मिलिमिटर पानी परेको छ।

त्यस्तै विराटनगरमा ४१ मिलिमिटर परेको र तुलनात्मक रुपमा पश्चिम क्षेत्रमा कम वर्षा भएको पौडेलले जानकारी दिए।

पहाडी भूभाग खासगरी चुरे र महाभारत शृङ्खलामा बहने खोला र नदीमा पानीको सतह बढेकोले ती क्षेत्रका बासिन्दाले सम्भावित जोखिमबारे सतर्क हुनुपर्ने पौडेलले बताए।